२४ वैशाख २०८१ सोमबार
image/svg+xml
मुख्य समाचार

१६ हजार स्मार्ट लाइसेन्स बाँडियो, जाँच्ने मेसिन छैन

काठमाडौं– सडकमा गुडिरहेका सवारी साधनका चालकले मनुमति पत्र(लाइसेन्स) लिएको छ/छैन ? छ भने कुन वर्गको छ ? आफ्नै हो वा होइन ? यी सबै विषयको जाँच सडकमा खटिने ट्राफिक प्रहरीले गर्छन्।

smart_license.jpg

 

तर, यातायात व्यवस्था विभागले हाल वितरण गरिरहेको 'स्मार्ट लाइसेन्स' ट्राफिकले आँखैले हेरेर मात्र जाँच्न सक्दैन। यसका लागि प्रहरीले विशेष प्रकारको 'डिजिटल रिडर मेसिन'को सहायता लिनु अनिवार्य नै हुन्छ । स्मार्ट लाइसेन्स कार्डको चिप्समा जन्म मिति, नागरिकता/राहदानी नम्बर, रक्त समूह, स्थायी ठेगाना, पिताको नाम, लाइसेन्स जारी र खारेज हुने मितिलगायत विवरण उल्लेख भएको हुन्छ । त्यसलाई कार्ड रिडर मेसिनले मात्र पढ्न सक्छ। तर, बाग्मीत अञ्चलबाट मात्र करिब १६ हजार लाइसेन्स वितरण गरिसकेको यातायात व्यवस्था विभागले हालसम्म त्यस्तो लाइसेन्स जाँच्नका लागि मेसिन उपलब्ध गराएको छैन।

स्मार्ट लाइसेन्स जाँच्ने मेसिन उपलब्ध नगराउँदा नयाँ लाइसेन्सको जाँच गर्ने कार्य अघि बढाउन नसकिएको ट्राफिक प्रहरीका प्रहरी नायव महानिरीक्षक(डिआईजी) प्रकाश अर्यालले बताए। 'स्मार्ट लाइसेन्स जाँच गर्नका लागि जाँच्ने मेसिनसँगै प्रहरी कर्मचारीलाई तालिमको पनि व्यवस्था गर्नु पर्ने हुन्छ,' उनले भने, 'यातायात व्यवस्था विभागले मेसिन उपलब्ध गराउने बताइरहेको छ। तर, उपलब्ध भएको भने छैन।' सकेसम्म प्रत्येक ठाउँमा खटिने प्रत्येक ट्राफिक प्रहरीलाई एक एक थान नभए पनि एउटा प्रहरी इकाइमा एक थान मेसिनको व्यवस्था तत्कालै हुनु पर्ने उनले बताए।

गत मंसिर १४ गतेबाट यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वियजकुमार गच्छदारद्वारा विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई स्मार्ट लाइसेन्स वितरण गरेर विद्युतीय अनुमति पत्र वितरण शुरु गरेको थियो। त्यसयता हालससम्म विभागले यातायात व्यवस्था कार्यालय बागमतीबाट करिब १६ हजार स्मार्ट लाइसेन्स वितरण भइसकेको विभागका शाखा अघिकृत वीरेन्द्र स्वाँरले जानकारी दिए।

'नयाँ लाइसेन्स जारी, वर्ग थप, नवीकरण र प्रतिलिति बनाउने सबै गरी बागमती अञ्चलबाट १६ हजार स्मार्ट लाइसेन्स वितरण भयो,' उनले भने, 'अब विस्तारै अन्य अञ्चलका कार्यालयहरुबाट पनि स्मार्ट लाइसेन्स वितरण शुरु गरिनेछ।' शुरुमा नयाँ लाइसेन्स लिनेलाई र वर्ग थपका लागि स्मार्ट लाइसेन्स दिने गरिएको भए पनि फागुन ९ गतेबाट विभागले नवीकरण गर्नेलाई पनि पनि स्मार्ट लाइसेन्स वितरण शुरु गरेको थियो। उनका अनुसार यसअघि स्मार्ट लाइसेन्स छाप्ने जिम्मा पाएको मद्रास सेक्युरिटी प्रिन्टिङ प्रेसले नेपालमै प्रिन्टर ८ थान प्रिन्टर ल्याएर १ संयन्त्र स्थापना गरिदिएपछि १ लाख ६० हजार लाइसेन्स कार्ड छापिसकिएको उनले बताए ।

हाल देशभर करिब २३ लाख लाइसेन्स जारी भएका छन्। यस मध्ये ६० प्रतिशत बागमती अञ्चलबाट र अन्य अरु अञ्चलबाट जारी भएका छन् । जारी भइसकेका र नयाँ लाइसेन्सलाई स्मार्ट लाइसेन्समा बदल्न थप बजेट र नयाँ ठेक्का लगाउनु पर्नेछ । यसका लागि विभागले यसै आर्थिक वर्षको अन्त्यसम्ममा र नभए अर्कोआर्थिक वर्षको पहिलो चौमासभित्रैमा नयाँ बोलपत्र आह्वान गर्ने तयारी गरिहेको उनले बताए। हाल मद्रास प्रिन्टिङ प्रेसले छापेको कार्ड वितरण गर्ने र अपुग कार्ड छपाइका लागि नयाँ टेण्डर आह्वान गर्ने उनले बताए।

वितरण भइसकेका तथा नयाँसबैलाई स्मार्ट लाइसेन्स वितरण करिब ८ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने विभागको अनुमान छ । यसका लागि एक वर्षको बजेटमा भर नपरी प्रत्येक वर्षको बजेटबाट छुट्याउँदै आगामी ५ वर्षभित्रमा नयाँ लाइसेन्स वितरण गरिसक्ने यातायात व्यवस्था मन्त्रालयले ५ वर्षे भिजन पेपरमार्फत मन्त्रालयले तयारी गरेको छ। हाल मद्रास प्रेसमार्फत भएको कार्ड छपाई आयोजनाका लागि लागि एसियाली विकास बैंक(एडिबी)को सूचना तथा सञ्चार प्रविधि(आइसिटी)अन्तर्गतको कार्यक्रमबाट २३ लाख अमेरिकी डलर(करिब २४ करोड रुपैयाँ) अनुदान रकम प्राप्त थियो।

प्रकाशित: १८ वैशाख २०७३ ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App