२३ वैशाख २०८१ आइतबार
image/svg+xml
मुख्य समाचार

कोरिया जान सयौं मिटर लामो लाइन, युवालाई सास्ती (फोटो फिचर)

काठमाडौं– 'भोलि त बिहान सबेरै उठेर परीक्षा फारम भर्न जानु छ,' गोरखा बुंकोट–६ घर भई डल्लु बस्ने टीकाराम श्रेष्ठ राती राम्ररी निदाउनै सकेनन्। बुधबार बिहान तीनै बजे उठे। हतारहतार नित्यकर्म सके।

IMG_7310e.jpg

नुवाइधुवाइ गरे। पैसा, पासपोर्ट र आवश्यक कागजात झोलामा हाले। 'लौ भगवान् चाँडै पालो आओस्,' कोठामा राखिएका भगवानका मुर्तिहरुलाई मनमनै पुकारे। नमस्कार गरे अनि कीर्तिपुरको ल्याब स्कुलतर्फ लागे।

'ओहो ! कति लामो लाइन,' बिहान ६ बजे नै ल्याब स्कुल पुगेका उनी त्यहाँ पहिलै अाइसकेकाहरुकाे लाइन देखेर तीन छक्क परे। स्कुलको गेटदेखि कीर्तिपुर र गेटसम्म करिब २ किलोमिटर लामो लाइन घुमेर हेरेपछि उनी हैरान भए।

'कति बजे आउनु भो ?' लाइनमा बस्ने एक युवकलाई सोधे।

'हामी चार बजे आएका थियौं, अगाडि हुने साथीहरु त हिजै यहीं आएर सुतेका रहेछन्,' ती युवकले टीकारामलाई जवाफ दिएछन्।

'थुइक्क !,' त्रिविको चउरमा उनी थुचुक्क बसे। 'अनलाइनमार्फत फारम भर्ने व्यवस्था गरिदिएको भए यस्तो जात्रा त हुने थिएन,' सरकारसँग रिसाए। 'यस्तो तालले त बेलुकासम्म पनि पालो आउँदैन, अफिस भ्याउनु छ,' पब्लिक युथ क्याम्पस क्षेत्रपाटीमा बीबीएस प्रथम वर्ष अध्यनरत उनी अन्ततः बिहीबार फारम भर्न जाने निर्णयसहित कोठा फर्किए।
IMG_7303e.jpg
रोजगार अनुमति प्रणाली(इपिएस)अन्तर्गत कोरिया भाषा परीक्षाका लागि आवेदन दिन बुधबार लाइनमा बस्ने नेपाली युवाहरुको तथ्य कथा हो यो। बुधबारदेखि शनिबारसम्म चार दिन कोरिया भाषा परीक्षाको आवेदन दिने युवाले गत वर्षहरु जस्तै सास्ती व्यहोर्नु पर्ने देखिएको छ। लामो छलफल, बहस र तयारीपछि पनि ईपिएस कोरिया शाखा नेपालले भाषा परीक्षाका लागि अनलाइनमार्फत आवेदन लिन नसकेपछि नेपाली युवाले सास्ती पाएका हुन्।
IMG_7324e.jpg
पूर्वको धरान, काठमाडौं(कीर्तिपुर, च्यासल, महाराजगन्ज), पोखरा, बुटवल, डडेलधुराका आवेदन संकलन गरिने ठाउँहरुमा युवाको दुई-तीन किलोमिटरसम्मको लाइन छ। ल्याब स्कूलबाट बुझ्ने फारम भर्नेहरुको लाइन टियुहुँदै कीर्तिपुर नयाँ बजारसम्म पुगेको छ। 
IMG_7324e.jpg
यस वर्षका लागि करिब २ हजार १ सय कृषि क्षेत्रमा र १ हजार उद्योग क्षेत्रमा गरी कुल ३ हजार १ सय कामदार छनोट गर्ने इपिएसको तयारी छ। यो प्रतिस्पर्धामा हजारौं नेपाली युवा इपिएस परीक्षाका लागि आवेदन दिने लाइनमा लामबद्ध भएका छन्। गत वर्षहरुमा करिब ५० हजार युवाहरुले कोरिया भाषा परीक्षाका लागि आवेदन भर्दै आएका थिए। अर्थात् ती सबै युवाले यस्तै लाइनमा सास्ती व्यहाेर्दै अाएका थिए।
IMG_7334e.jpg

किन शुरु भएन अनलाइन आवेदन?

हाल सञ्चालन भइरहेको सातौं परीक्षाको आवेदन संकलन अनलाइनमार्फत गर्ने तयारी इपिएस शाखाको थियो। त्यसका लागि आवश्यक सफ्टवेयर स्थापनाका लागि टेण्डर प्रक्रिया पूरा नभएपछि यस वर्ष अनलाइनमार्फत आवेदन लिन नसकिएको इपिएस शाखा निर्देशक डिल्लीराम बास्तोलाले नागरिकन्युजलाई बताए।

IMG_7342e.jpg
'अनलाइ सफ्वेयर स्थापनाका लागि टेण्डर भएर कम्पनी छनौट भइसकेको छ,' उनले भने, 'अब छनोटमा परेको कम्पनीसँग सम्झौता गरी कार्यादेश दिन मात्रै बाँकी छ।' अर्को(आठौं)भाषा परीक्षाको आवेदन भने अनलाइनबाट लिइने उनले बताए। उनका अनुसार अनलाइन सफ्टवेयर स्थापनाका लागि करिब १८ लाख लागत लाग्ने भएको छ। एउटा भाषा परीक्षाको आवेदन संकलन गर्न शाखाको करिब १ करोड रुपैयाँ खर्च हुन्छ। आवेदकको सास्ती अझ मार्मिक छ।

IMG_7357e.jpg

थोरै लगानी, राम्रो तलब

काेरियाले कृषि तथा पशुपालन र उद्योग गरी दुई क्षेत्रमा नेपाली कामदार लिनेगर्छ। जुनसुकै क्षेत्रमा काम गर्ने कामदारका लागि पनि सरकारले तोकेको न्यूनतम तलबमा नघटाइ तलब दिनु पर्ने व्यवस्था छ। हालसम्म कोरियामा काम गर्ने कामदारले न्यूनतम १ लाख १० हजार रुपैयाँ तलब पाउने सहमति छ। यसै वर्ष अर्थात् सन् २०१६ देखि यसमा ८ प्रतिशतले बढेर करिबर रू. १ लाख १७ हजार(११ सय अमेरिकी डलरभन्दा बढी) न्यूनतम तलब हुँदैछ। कामदारले पाउने तलबको सुनिश्चितता कोरिया जाने कामदारको पहिलो आकर्षणको विषय हो।
IMG_7391e.jpg
त्यस्तै, मासिक ३–४ लाख रुपैयाँसम्म पनि कमाउन सकिने, कोरिया जाँदा लाग्ने लागत न्यूनलगायत कारणले पनि नेपाली कामदार आकर्षित छन्। सरकारले एकपटक कोरियामा काम गरेर फर्किएका युवालाई करिब १० लाखसम्मको ऋणमा ५ प्रतिशतसम्म ब्याज अनुदान दिने तयारी पनि गरिरहेको छ। नेपालप्रतिको विकर्षणले पनि कोरियाप्रतिको आकर्षण बढाएको छ।
IMG_7399e.jpg

३६ हजार पुगिसके कोरिया

नेपाल सरकार र कोरिया सरकारबीच २००७ मा श्रम सम्झौता भएपछि रोजगार अनुमति प्रणाली(इपिएस)मार्फन सन् २००८ देखि नेपाली युवा कामदार दक्षिण कोरिया जान पठाउन थालिएको हो। त्यस अवधिदेखि हालसम्म करिब ३६ हजार नेपाली युवा कोरियाको रोजगारीमा पुगिससकेको इपिएस कोरिया शाखाको तथ्यांक छ। यस मध्ये ८० प्रतिशत नेपाली युवा औद्यागिक क्षेत्रमा र २० प्रतिशत युवा कृषि, पशुपालन तथा मस्यपालन क्षेत्रमा कामदारको रुपमा कार्यरत रहेको शाखाको तथ्यांक छ। सम्झौताअघि करिब १ हजार नेपाली युवा कामदार विभिन्न माध्यमबाट कोरिया पुगे शाखाको अनुमान छ।
IMG_7411e.jpg
कामदार पठाउन थालेको ७ वर्षमै अन्य मुलुकहरुको तुलनामा कोरियाली रोजगारदाताका लागि नेपाली कामदार कम्बोडियालीपछिको दोस्रो उत्कृष्ट छनोटमा पर्न सफल भएका छन्।

कसरी पुगिन्छ कोरिया ?

रोजगारीका लागि कोरिया जान श्रम मन्त्रालय वैदेशिक रोजगारी विभागअन्तर्गतको इपिएस कोरिया शाखाले लिने भाषा परीक्षा उर्तीण गर्नुपर्छ। परीक्षा दिका लागि १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको व्यक्ति हुनुपर्छ। परीक्षाका लागि इपिएस शाखाले तोकेको पाठ्यक्रमका आधारमा भाषा परीक्षाको तयारी गर्नुपर्छ। भाषा परीक्षामा कोरियाको मानव संसाधन विभाग(एचआरडी–कोरिया)ले तोके जति कोटामा नेपाली कामदारलाई परीक्षात्मक प्रतिस्पर्धाबाट धेरै अंकल्याउने मध्येबाट छनोट गरेर उत्तीर्ण गराउँछ।

उत्तीर्ण भएकाहरुलाई कोरिया जान पाउने कामदारको सूची(रोष्टर)मा राख्छ। कोरियाली रोजगारदाताले सूचीमा परेका मध्येबाट आफ्नो कामका लागि योग्य उम्मेदवारको छनोट गर्छ। र, सम्झौता गरी कोरिया लैजान्छ । तर, कोरिया जान पाउने कामदारको सूचीमा नाम भए पनि २ वर्षसम्म कोरिया जाने अवसर नपाएमा उक्त नाम स्वतः सूचीबाट हट्ने व्यवस्था छ।

IMG_7417e.jpg

तस्विरहरुः प्रबिन कोइराला

प्रकाशित: १५ वैशाख २०७३ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App