२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
मुख्य समाचार

विचारले छेकेन समाजसेवा

झापा- राजनीतिक पार्टीबीच पानी बाराबारको स्थिति। फरक राजनीतिक आस्थाका मान्छे न मर्दाका मलामी बन्थे, न जिउँदाको जन्ती। ताली नै पाउनुपर्ने काममा पनि विपक्षीलाई गाली गर्ने संस्कार। २०४६ को राजनीतिक परिवर्तनलगत्तै दलहरूबीच मौलाएको अस्वस्थ स्पर्धाको 'साइड इफेक्ट' गणतन्त्र स्थापनापछि पनि कायमै छ।झापा, मेचीनगर–७, गिरीगाउँमा भने बिहीबार बिल्कुलै भिन्न दृश्य देखियो। नेपाली कांग्रेसका केन्द्रदेखि जिल्ला, वडा तहसम्मका नेता–कार्यकर्ता भेला हुँदै गए। स्थानीयले लख काटे– कांग्रेसको कुनै कार्यक्रम रहेछ। यद्यपि त्यहाँ चारतारे झन्डा, बिपीको फोटो केही थिएन।

कांग्रेसजन यसरी भेला हुनुको एउटै उद्देश्य थियो– नौ दिनअघि आगलागीमा सर्वस्व गुमाएका एमाले कार्यकर्ता रबहादुर ‐राजन) गिरीको घर बनाउनु। कांग्रेस कार्यकर्ता कसैका हातमा खुकुरी, खन्ती, कोदालो थियो त कसैका हातमा बाँसका घना, डोरी र जस्तापाता।

केहीबेरमै टोलीले काम थालिहाल्यो। केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा बाँस खुर्किन थाले। महासमिति सदस्य विमल आचार्य जस्तापाता ओसार्न थाले। जिल्ला सचिव प्रेम सम्बाहाम्फे भाटा चिर्दै नापजोख, नगरसभापति इन्द्रबहादुर बुढाथोकी छानोको डाँडाभाटा बाँध्न थाले। अरू सयौं कार्यकर्ता कोही खाल्डो खन्न थाले, कोही टाटीबेरा बुन्न अघि सरे। कोही माटो बोक्दै पुर्नेलगायत आफ्नो भागमा परेको काम गर्न थाले।

आगोले खरानी बनाएको ठाउँमा केही घन्टामै बस्न लायक घर खडा भयो। केन्द्रीय नेता शर्मादेखि दर्जनौं नेता–कार्यकर्ता साँझसम्मै घर बनाउन खटिए। शर्माकै भाषामा कांग्रेसका नेता–कार्यकर्ता 'छापामार शैलीमा एमाले कार्यकर्ताको घर बनाउन जम्मा भएका' थिए।

गत चैत ३० गते गिरीको घरमा आगो लागेको थियो। नयाँ वर्षको मुखैमा गिरी परिवारले लगाइराखेका लुगाबाहेक सबथोक गुमायो। सामान्य आर्थिक अवस्थाका वीरबहादुरका तीन छोरासहित ५ जनाको परिवार खुला आकाशमुनि पुग्यो।

गिरी परिवारको बिचल्ली नजिकैबाट नियालिरहेका कांग्रेस मेचीनगर–७ नम्बर वडा सभापति गिरिराज धमलाले उनको घर बनाइदिने योजना बुने। यसका लागि पार्टीमा कुरा चलाए। केन्द्रीय सदस्य शर्माले १ हजार रुपैयाँ तत्काल दिए। उनी पैसा मात्र होइन, श्रमदानसमेत गर्ने भन्दै खुकुरी, खन्ती र कोदालो लिएर निस्के। त्यसपछि कसैले ५ सय त कसैले २ सय रुपैयाँ आर्थिक सहयोगसँगै गच्छेअनुसार श्रमदान गर्न जुटे।

१६ हजार रुपैयाँको जस्तापाता, ८० घना बाँस, डोरी–तार सबै पार्टीले जुटाएर करिब ६० हजार रुपैयाँ लागतमा घर बनाई गिरी परिवारलाई हस्तान्तरण गरिएको वडा सभापति धमलाले जानकारी दिए। घर पाएपछि गिरी परिवार खुसीले गदगद छ।

'ढलेको मान्छेलाई हात दिएर उठाउन उसको जाति सोध्दैनौं, कसैको जलेको घर बनाउन पनि उसको पार्टी खोज्दैनौं,' नेता शर्माले भने, 'हाम्रो पार्टी फरक होला तर खासमा नेपाली हौं, सामाजिक प्राणी हौँ। त्यही मान्यताले प्रेरित भएर हामी उहाँको घर बनाउन जुटेका हौँ।'

कहिले खुला आकाशमुनि त कहिले छिमेकको शरणमा एक साता गुजारेको गिरी परिवारलाई कांग्रेस कार्यकर्ताले वरिपरि जस्ता र चित्राको टाटी अनि टिनको छानो हालेर घर बनाइदिएका हुन्।

'सातदिन साह्रै कष्टले काटियो,' घर बनेपछि प्रसन्न मुद्रामा गिरीले भने, 'कांग्रेसका साथीहरूको यो ऋण कहिल्यै तिर्न सक्दिनँ।' उनले एमाले कार्यकर्ताको घरमा आएर सबै प्रबन्ध मिलाइदिने कांग्रेसको कदमले समाजमा सकारात्मक छाप छाड्नेसमेत बताए।

बिर्तामोडस्थित एक अस्पतालमा काम गर्ने गिरी भाइका नाममा रहेको ५ धुर जग्गामा घर बनाएर बसेका थिए। बिहान–बेलुका हातमुख जोर्नसमेत हम्मे पर्ने यो परिवारलाई आगोले सबैथोक खरानी पारेपछि घर बनाउन निक्कै समस्या थियो।

गिरीका अनुसार कांग्रेस नेता शर्मा नेतृत्वको टोलीले उनलाई बासको मात्र प्रबन्ध गरेन, गाँस र कपासको व्यवस्थासमेत गरिदिएको छ। पाँच जनाको परिवारलाई थाल, बटुका, गिलास ५/५ थान, खाना पकाउने भाँडो, कराही, डाडु, पन्यु ,चामल, तेल, दाल, नुन, खाट, सिरक–डसना, तन्ना, सिरानी पनि जुटाइदिएको छ।

कांग्रेसको सहयोगी कदमको एमाले पार्टी–पंक्तिले पनि स्वागत गरेको छ। 'दुःखमा रहेका बेला सबै जुटेर गरेको सहयोग प्रशंसनीय छ,' एमाले मेचीनगरका अध्यक्ष खेमराज पोखरेलले भने, 'यसले समाजलाई सकारात्मक ऊर्जा दिनेछ।'

प्रकाशित: ९ वैशाख २०७३ २०:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App