नेपाली राजनीतिका प्रभावशाली नेता कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, मनमोहन अधिकारी, नारायण ढकाल, विद्यादेवी भण्डारीलगायतले चुनाव लडेको काठमाडौं क्षेत्र–१ लाई हरेक चुनावमा विशेष चासो साथ हेरिन्छ ।
यहाँको चुनावी इतिहास हेर्दा २०४८ देखि २०७९ सम्मका निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसले मात्र जित्दै आएका छन् । तर, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, २०६४ यताका सम्पूर्ण निर्वाचनमा विजयी हुँदै आएका कांग्रेस नेता प्रकाशमान सिंहसँग दुवैपल्ट झिनो मतान्तरले पराजित भएका थिए । मिश्र आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेस्रो पटक मैदानमा छन् उत्रिएका छन् भने सिंह बाहिरिएका छन् ।
यसपटक काठमाडौं–१ बाट मिश्रसहित एमालेबाट मोहनराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रञ्जु न्यौपाने (दर्शना), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मेनुका भण्डारीलगायत १६ दल र १३ स्वतन्त्र गरी कुल २९ जनाले उम्मेदवारी दिएका छन् । तीमध्येका एक हुन्– कांग्रेसका प्रवल थापा । ४२ वर्षीय थापाले नेपाल विद्यार्थी संघबाट राजनीति प्रारम्भ गरी तरुण दल केन्द्रीय सदस्य, पार्टीको तरुण विभाग सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसमेत भई राजनीतिक जीवनलाई निरन्तरता दिँदै आएका छन् ।
अस्ट्रेलियामा व्यवस्थापनमा स्नातकोत्तर गरेका थापाले राजनीतिसँगै पारिवारिक हस्पिटालिटी व्यवसायलाई पनि सँगसँगै अगाडि बढाएका छन् । तिनै थापासँग चुनाव केन्द्रित भएर नागरिककर्मी कमल विष्टले कुराकानी गरेका छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः
चुनावसँग सम्बन्धित प्रचारात्मक गतिविधिहरू तपाईंको सामाजिक सञ्जालमा देखिन्छन्। अभियान कसरी अगाडि बढिरहेको छ ?
वास्तममा चुनावी रौनक नेपाली कांग्रेसलाई अन्य दलहरूलाई भन्दा केही समय पछाडि नै लाग्यो। नेपाली कांग्रेस निर्वाचनको विपक्षमा हुने कुरा नै थिएन। तर, हामीहरू निर्वाचनमा जानुभन्दा अगाडि पार्टीको आन्तरिक मूल्याङ्कन हुनुपर्छ भन्ने पक्षमा थियौं।
बदलिएको अवस्थामा समयको मागअनुसार पार्टीलाई रुपान्तरण गरी पार्टी संगठन, आम कार्यकर्ता र शुभेच्छुकहरूमा थप ऊर्जा, आत्मविश्वास र संगठनलाई रिफर्म गरेर अगाडि बढ्नुपर्ने थियो। तसर्थ, हामीहरू महाधिवेशनतिर बढी केन्द्रित भयौं। विशेष महाधिवेशन सम्पन्न भएपछि लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुशासन, पारदर्शीताको प्रत्याभूति जनतालाई दिलाउँदै आफ्नो मताधिकार स्वतन्त्र रूपले उपयोग गर्न निष्पक्ष निर्वाचनको वातावरण सिर्जना गर्न देशको ठूलो दल भएको नाताले जिम्मेवारपूर्वक प्रस्तुत हुँदै हामी आफ्ना चुनावी कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं।
क्षणिक लोकप्रियताका निम्ति आरोप त्यारोपमा उत्रिने, फण्डाहरू गरेर मानिसको ध्यान केन्द्रित गर्ने भन्दा पनि हामीले विगतमा गरेका काम, लिएका निर्णय, अगाडि सारेका कार्यक्रमहरू जनताका बीचमा बसेर मूल्याकंन गर्दै अबको आवश्यकता, समयानुकूलको जनअपेक्षालाई सम्बोधन गर्ने गरी उहाँहरुकै सल्लाह, सुझाव र मार्गनिर्देशनअनुसार कार्ययोजनाहरू तयार गरी चुनाव प्रचार प्रसारका गतिविधिहरू सञ्चालन गर्दै आएका छौं।
मतदाताहरूबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
हामीले मतदाताहरूसँग भर्खरै भेटघाट गर्ने, छलफल गर्ने, उहाँहरुका कुरा सुन्ने कार्यको सुरूवात गरेका छौं। नेपाली कांग्रेसप्रति जनताको अपार विश्वास, भरोसा र अपेक्षाबाट हामी उत्साहित भएका छौं। इमानदारीका साथ भन्नुपर्दा सुरूवातमा हामीलाई केही संशय पक्कै थियो। नेपाली कांग्रेसको धरातल बिग्रिएको छ कि ? जनताको प्रतिक्रिया कस्तो आउने हो ? भन्ने प्रश्न थिए।
तर, जनताका बीचमा गएर छलफल गर्न सुरु गर्याैं। उहाँहरूका कुरा सुन्यौं। हाम्रा कुरा सुनायौं त्यसपछि हामीलाई थप उत्साह र जोशको रक्तसञ्चार भएको छ। पक्कै पनि हामीप्रति जनताका केही गुनासो छन्। हाम्रा पनि केही कमिकमजोरीहरु भए होलान्। तथापि, लोकतन्त्रकको रक्षा, विकास, मानवअधिकार र गरीखान पाउने अवस्थाको सिर्जना नेपाली कांग्रेसकै नेतृत्वमा मात्रै सम्भव छ भन्ने कुरामा जनता विश्वस्त हुनुहुन्छ। अझ बदलिएको कांग्रेसले देश बदल्ने अठोटका साथ जसरी आफूलाई पुर्नसंरचना गरेको छ। यसले जनतामा थप आशा पलाएको छ। साथै कार्यकर्ताहरूमा उत्साह थपेको मैले अनुभूति गरेको छु।
काठमाडौं-१ को चुनावी इतिहासलाई हेर्दा यहाँ कांग्रेसको पकड देखिन्छ। तर, पछिल्ला केही चुनावमा यस क्षेत्रमा राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा उम्मेदवार रवीन्द्र मिश्रको राम्रो प्रभाव देखिन्छ। पछिल्लो समय रास्वपा उम्मेदवार रञ्जु दर्शनाको चर्चा पनि उत्तिकै छ। यस्तोमा तपाईंलाई जित्न कति सजिलो होला ?
मैले तपाईंको प्रश्नमा नै आधा उत्तर भेटेको छु। काठमाडौं–१ नेपाली कांग्रेसको आधार क्षेत्र नै हो। यहाँ नेपाली कांग्रेस संगठनिक रूपमा बलियो छ। यहाँ प्रतिबद्ध कार्यकर्ताको पंक्ति ठूलो छ। भरोसायोग्य मतदाताको पनि साथ रहँदा विगतमा नेपाली कांग्रेसले लगातार जित हासिल गर्दै आएको कुरा विदितै छ।
म प्रतिस्पर्धामा को-को हुनुहुन्छ भनेर व्यक्तिगत टिप्पणी गर्न चाहान्न। सबै प्रतिस्पर्धीहरूप्रति मेरो उच्च सम्मान छ। निर्वाचनमा भाग लिएपछि आफू विजयी हुने लक्ष्य राख्नु स्वभाविक पक्ष हो। म स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्ने व्यक्ति हुँ। मेरो तर्फबाट प्रतिस्पर्धा स्वस्थ हुनेछ। अर्को कुरा, लोकप्रियता र चर्चाको मापदण्ड तपाईंले कसरी निर्धारण गर्नुहुन्छ ? मैले चाहिँ मतपेटिकामा खसेको मतका आधारमा मात्र निर्धारण गर्छु। साथै, जित्नलाई सजिलो वा गाह्रो भन्ने भन्दा पनि मैले कुनै पनि प्रतिस्पर्धीलाई कमजोर आँकलन गर्दिन।
यद्यपि, म काठमाडौं-१ का जनताको सामिप्यतामा वर्षौदेखि छु। उहाँहरुकै काखमा जन्मेको, हुर्केको व्यक्ति हुँ। उहाँहरुले मलाई चिन्नुभएको छ। मैले पनि उहाँहरूलाई चिनेको छु, जानेको छु र बुझेको छु। नेपाली कांग्रेसको विचार, नीति र कार्यक्रमबारे पनि उहाँहरु सुसूचित नै हुनुहुन्छ। अहिले केही अस्पष्ट भएका विषयलाई थप स्पष्ट गर्दै सम्बन्धलाई पुनः जागृत गराउने मात्र कार्यभइरहेको स्थिति छ। तसर्थ, मेरो विजयप्रति म विश्वस्त छु।
विशेष महाधिवेशनबाट चयन नयाँ नेतृत्वप्रति यसअघि पटक पटक यस क्षेत्रबाट विजयी उम्मेदवार एवम् पार्टीका वरिष्ठ नेता प्रकाशमान सिंह तपाईंप्रति सकारात्मक मात्र होइन, रुष्ट छन् भन्ने सुनिन्छ। सिंहको सहयोगबिना जित्न सकिएला त यो क्षेत्रमा ?
तपाईंको प्रश्नलाई संशोधन गर्न म आग्रह गर्दछु। पहिलो कुरा मलाई आदरणीय नेता प्रकाशमान सिंहज्यूको समर्थन र सहयोग छैन र हुँदैन भन्ने बुझाइ नै गलत छ। जसले यो कुरामा विश्वास गर्छ, उसले नेपाली कांग्रेस, प्रकाशमान सिंह र प्रवल थापालाई नै चिनेको नै छैन भन्ने कुरा स्पष्ट गर्न चाहान्छु।
जब पार्टीले मलाई काठमाडौं-१ बाट उम्मेदवार बनाउने निर्णय गर्यो। त्यसको लगत्तै आदरणीय नेता प्रकाशमान सिंहज्यूसँग भेट गरी उहाँबाट आशीर्वाद र मार्गनिर्देशन लिएर कार्यक्षेत्रमा लागेको व्यक्ति हुँ।
यहाँको जानकारी रहोस्, विगतमा प्रकाशमान सिंहज्यू यस क्षेत्रबाट हरेकपटक उम्मेदवार हुँदा म उहाँको सारथी भएर सक्रिय भएको व्यक्ति हुँ। हामीले काँधमा काँध, हातमा हात मिलाएर निर्वाचन, संगठनको भारी सँगै बोकेका हौं। पार्टीले मलाई उम्मेदवार सिफारिस गर्दा मभन्दा पनि बढी उत्साहित हुने व्यक्ति उहाँ नै हो। उहाँ मेरो अभिभावक तथा नेता हुनुहुन्छ। उहाँको र मेरो सम्बन्ध पार्टीभित्रका पक्ष, विपक्षको सम्बन्धभन्दा पनि भिन्न र विशिष्ठ छ। उहाँजस्तो व्यक्तिबाट मलाई सहयोग हुँदैन भन्ने तपाईंले जुन सूचना पाउनुभएको छ, त्यो गलत मिथ्या छ। मैले कल्पना नै गर्दिन। साथै काठमाडौं–१ का मतदाताले विश्वाससमेत गर्न सक्दैनन्।
जहाँसम्म विशेष महाधिवेशनको पक्ष र विपक्षको कुरा छ, त्यो माघ ४ गतेदेखि नै समाप्त भइसक्यो। अब को पक्षधरको विपक्षी भन्ने कुरा नै छैन। हामी सबै एकीकृत र एकढिक्का भएको सशक्त नेपाली कांग्रेसका कार्यकर्ता हौं।
म यहाँलाई स्मरण गराउन चाहान्छु, बहस, छलफल मत, मतान्तरण, पक्ष विपक्षमा उभिनु लोकतान्त्रिक पार्टीभित्रको सुन्दरता हो। यसले पार्टी जीवनलाई अझै बलियो बनाउँछ। हामीले लोकतान्त्रिक विधिलाई अबलम्बन गरेका मात्र हौं।
तपाईंमाथि एउटा आरोप पनि छ, सभापति गगन थापाको नजिक भएकै कारण अरु डिजर्भिङ नेताहरुलाई लत्याएर तपाईंलाई टिकट दिइएको हो। यसमा तपाईं के भन्नुहुन्छ ?
काठमाडौं–१ मा करिब २ हजार जना नेपाली कांग्रेसका क्रियाशील सदस्य हुनुहुन्छ। उहाँहरु सबै उम्मेदवार बन्नका लागि योग्य र सक्षम हुनुहुन्छ। संगठन निर्माणमा उहाँहरु सबैको महत्वपूर्ण योगदान छ। म त्यहीभित्रको एउटा पात्र मात्र हुँ। पक्कै पनि यस क्षेत्रमा मभन्दा धेरै सिनियर व्यक्तित्व हुनुहुन्छ। मेरो पिताजीसँगै नेपाली कांग्रेसको राजनीतिमा लागेका कयौं व्यक्तित्वहरू अझै पनि यहाँ क्रियाशील हुनुहुन्छ। उहाँहरुप्रति मेरो उच्च सम्मान र आदरभाव छ। कुनै पनि व्यक्ति निर्विकल्प हुनसक्दैन। यस क्षेत्रबाट उम्मेदवारका आकांक्षी अरु पनि हुनुहुन्थ्यो। त्यो स्वभाविक पनि हो। यसपटक पार्टीले मलाई अवसर दियो, अर्कोपटक अरु साथीले पाउन सक्नुहुन्छ। एकैपटक सबैलाई उम्मेदवार बनाउन सकिँदैन।
जहाँसम्म सभापतिज्यूसँग मेरो निकटताको प्रसंग छ, त्यसमा अन्यथा लिनुपर्ने कुरा नै छैन। पार्टी सभापति र कार्यकर्ताबीच निकटता, विश्वास र भरोसा भएन भने संगठन कसरी अगाडि बढ्छ ? सेनापतिले आफ्ना सिपाहीलाई विश्वासमा लिएर नै लडाईमा जाने हो। सिपाहीले सेनापतिमाथि भरोसा गर्नैछ। यसमा तपाईंले नजिक र पराई भनेर व्याख्या गर्नुहुन्छ भने त्यो मेरो कमजोरी होइन।
काठमाडौं–१ बाट तपाईंसहित २९ जना उम्मेदवारहरू प्रतिस्पर्धामा हुनुहुन्छ। मतदाताले तपाईंलाई नै किन भोट दिने ? तपाईंसँग के छन् एजेण्डा ?
बल्ल तपाईको प्रश्न विषय केन्द्रित भयो। मुख्यकुरा मतदाताले आफ्नो प्रतिनिधि चयन गर्ने हो। प्रतिनिधि यस्तो होस् जो त्यही ठाउँको माटोमा जन्मिएको, हुर्किएको र माटोलाई बुझेको हुनुपर्छ।
राष्ट्रिय मुद्दासँगै स्थानीय मुद्दालाई समेत बुझेको व्यक्ति जनप्रतिनिधि हुँदा विकासको आवश्यता, समस्याको पहिचान र समाधानका उपाय निकाल्न सहज हुन्छ।
अरु प्रतिस्पर्धी उम्मेदवारहरुले काठमाडौं–१ बारे अध्ययन गरेर थाहा पाउनुपर्छ। यहाँको भूगोल, मतदाताको अपेक्षा, यस क्षेत्रको आवश्यकताका बारेमा अरुलाई सोधेर बुझ्नुपर्छ। तर, मैले भने यस क्षेत्रलाई जन्मेदेखि नै भोग्दै आएको छु। चुनावपछि पनि भोग्नुपर्छ। अरु साथीहरूलाई चुनावपछि बानेश्वरको बाटो नहिँडे पनि उहाँहरुको दैनिकी चल्नसक्छ।
तर, मैले पराजित भए पनि मतदाताको समस्या, आवश्यकता र उहाँहरुको अपेक्षामा साथ दिइरनुपर्छ। उम्मेदवार नहुँदा पनि म यस क्षेत्रका जनताका जनजीविकाको विषयमा करिब डेढ दशकदेखि सहभागी हुँदै आएको छु। तसर्थ, काठमाडौं–१ को माटोलाई सुहाउने, यस क्षेत्रका जनताले खोजेको उपयुक्त उम्मेदवार म हुँ भन्ने मेरो दाबी हो।
जेन-जी आन्दोलनको मर्मअनुरुप बदलिएको कांग्रेसमा १ सयभन्दा बढी नयाँ र युवा उम्मेदवार छौं। त्यसमध्ये म पनि पर्छु। अर्कोतर्फ मेरो एजेन्डाका सन्दर्भमा राष्ट्रिय विषयमा पार्टीको आधिकारिक एजेन्डाभन्दा मेरो भिन्न हुने कुरा भएन। एउटा प्रतिनिधि सभा सदस्यको उम्मेदवारको क्षेत्रगत एजेन्डमा यस क्षेत्रका जनप्रतिनिधि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा देखिने, सुनिने र बुझिने व्यक्ति हुनुपर्छ भन्ने यहाँका जनताको अपेक्षा छ। त्यो मबाट पूरा हुन्छ।
राजधानीको केन्द्रबिन्दु, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका जस्ता राज्यका सबै अंग रहेको क्षेत्रको विकास मोडलले राष्ट्रिय पहिचान दिन्छ। यस क्षेत्रमा तारे होटलदेखि चिया पसलसम्म, राजनीतिक नेतृत्वदेखि आममानिससम्म, उच्च पदस्थ अधिकारीदेखि विद्यार्थीसम्म, कुलिन वर्गदेखि भूमिविहीनसम्म, ब्रान्डेड सपदेखि फुटपाथका पसलसम्म, मन्टेश्वरीदेखि कलेजसम्म, बैंकदेखि सहकारीसम्म, होटल लजदेखि होस्टलसम्म, सडकदेखि सदनसम्म, वडादेखि सरकारसम्म यसै क्षेत्रभित्र रहेका छन्।
यो ७७ वटै जिल्लाका मानिस अटेको ठाउँ पनि हो। तसर्थ, अन्यत्र जस्तो बाटो पानी, शिक्षा, स्वास्थ्य रोजगारीका मुद्दाभन्दा यहाँका एजेन्डा विशिष्ठ छन्। यद्यपि, ट्राफिक व्यवस्थापन, व्यावसायिक सुरक्षा, स्थानीयबासीको उद्यमशीलता, भित्री बस्तीबीच कनेक्टिभिटी, सुकुम्बासी समस्याको बैज्ञानिक र न्यायोचित व्यवस्थापन, शहरको सौन्दर्यकरण जस्ता विषयमा केन्द्रित भई मैले एजेन्डा तयार गरेको छु।
शहरी गरिबीबाट यो क्षेत्र पनि मुक्त हुन सकेको छैन। बानेश्वर क्षेत्रमा घर हुँदा पनि अधिकांश मानिस उद्यमशीलतामा नलाग्दा शहरी गरिबी भुसको आगोजस्तै सल्किरहेको छ। त्यसलाई सम्बोधन गर्नुपर्छ। जेन-जी आन्दोलनको इपी सेन्टर, हरेक दिनजस्तै हुने आन्दोलनको केन्द्र यो क्षेत्रमा हुँदा यहााको व्यासायिक वातावरण बिग्रिँदै गएको छ। व्यवसायीहरू पलायन हुने अवस्था सिर्जना भएको छ। त्यसलाई रोक्न जरुरी छ। नत्र यस क्षेत्रमा आर्थिक दुर्घटना हुनसक्छ।
सांसदहरुको कार्यसम्पादनलाई लिएर नागरिकमा ठूलो फ्रस्ट्रेसन छ। के भन्नुहुन्छ ?
यस विषयमा ठ्याक्कै हो वा होइन भन्नुभन्दा पनि कतिपय विषय गर्न खोज्दाखोज्दै पनि भएनन्, कतिपय कुरामा ढंग पुगेन होला, कतिपय गरेर पनि जस पाइएन होला। हरेक कुराको वस्तुपरक तरिकाले मूल्यांकन हुनुपर्छ। उहाँहरुले केही पनि नगरेको भन्ने भाष्य सिर्जना गरिनु चाहिँ गलत छ। हो, जनताको अपेक्षा पूरा गर्न नसकेको भने सत्य हो।
तपाईंको नजरमा एउटा सांसद कस्तो हुनुपर्छ ?
प्रतिनिधिसभा सदस्य विकासदेखि नीति निर्माणसम्म, स्थानीयदेखि राष्ट्रिय मुद्दासम्म सहभागी हुनुपर्ने अवस्था छ। यसमा मेरो भूमिका पनि सापेक्ष्य नै हुन्छ। तथापि, म संसदमा सुनिने, बोलिने सांसद हुनेछु। मेरो आवाज बानेश्वर वरिपरीका जनताको मात्र होइन देशैभरका जनताको आवाजको प्रतिनिधित्व हुनेछ।
जित्नुभयो भने त संसदमा जानुहुन्छ, हार्नुभयो भने के गर्नुहुन्छ ?
अहिले मैले हार्ने कल्पना गरेको छैन।
अन्तिममा नेपाली कांग्रेस संघीयता, धर्म निरपेक्षता तथा राष्ट्र प्रमुखमा राष्ट्रपतिलाई स्वीकार्ने पार्टी हो। तर, पछिल्लो समयमा तपाईंको पार्टीका थुप्रै नेताहरुले हिन्दूराष्ट्र, राष्ट्र प्रमुखमा राजालगायत विभिन्न विषयमा पक्षमा खुलैर मत जाहेर गरेको देखिन्छ। यस्तोमा तपाईंको पक्षधराता के हो ?
यसमा मेरो व्यक्तिगत इच्छा चाहानाभन्दा पनि मूल कुरा देशको संविधान तथा पार्टीको विधान हो। जुन दिन पार्टीले यस विषयमा बहसको आश्यकता महसुस गर्छ, त्यस दिन मेरो विचार स्पष्टरूपमा मुखरित हुनेछ।
प्रकाशित: १९ माघ २०८२ १६:३९ सोमबार





