१ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्वार्ता

१० वर्ष नेतृत्व गरेपछि हस्तान्तरण गर्नुपर्छ: रचना खड्का

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रित रहेर पार्टी केन्द्रीय सदस्य रचना खड्कासँग नागरिककर्मी सुभद्रा धितालले कुराकानी गरेकी छन्। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

दुईपटक केन्द्रीय सदस्य भइसक्नुभयो, तपाईं पदाधिकारीको उम्मेदवार हो कि होइन?

म सरसल्लाह गर्दै छु। सिनियर नेताहरू, समकालीन साथी, आफूभन्दा पछाडिका नयाँ पंक्तिसँग सल्लाह गरेर निर्णयमा पुग्छु। अहिलेको परिस्थितिमा उमेर समूहको हिसाबले पदाधिकारीमा जानुपर्छ भन्ने सल्लाह र सुझाव पाएकी छु। त्यसबारेमा निर्णय गर्न बाँकी छ।

केपी ओलीलाई किन अध्यक्ष मान्नुभएन, उहाँले नै तपाईंलाई अध्यक्ष बनाएको हैन र?

त्यस्तो होइन। पार्टीको आठौं महाधिवेशनमा झलनाथ खनाल महासचिव हुनुहुन्थ्यो। त्यतिबेला केन्द्रीय कमिटीमा भएकालाई कसले बनाएको त झलनाथले बनाएको भन्न मिल्छ। आठौं महाधिवेशनले बनाएको हो। नौमा ओली हुनुहुन्थ्यो। नौमा आउनेजतिलाई कसले बनाएको भन्दा उहाँले बनाएको भन्न मिल्छ र? हामीकहाँ मैले बनाएको र उसले बनाएको भन्ने कुरा नै गलत छ।

महाधिवेशनले बनाएको, महाधिवेशनका प्रतिनिधिले बनाएको, नेकपा एमालेले बनाएको, सम्बन्धित व्यक्तिको योग्यता, क्षमता र क्रियाशीलताका आधारमा जिम्मेवारी पाएको भन्नेमा म विश्वास गर्छु। यो खासमा कमिटीगत हिसाबले त्यो प्रणालीलाई विश्वास गर्नेभन्दा पनि बनाउने कसले त? पार्टीको सार्वभौम अधिकार पार्टी सदस्यमा हुन्छ भनेका छौं त। त्यो हिसाबले मलाई हिजो ओलीले अथवा अरु कोहीले बनाएको भन्नुभन्दा पनि मलाई पार्टी सदस्यहरूले निर्वाचित गराउनुभएको हो। कोही व्यक्ति केही बनेको छ भने यसले बनाएको र उसले बनाएको भन्नु गलत हो। कुनै पनि हिसाबले कोही मान्छे एकजनाले बनाएर बनेको होइन।

पार्टीमा भएका सबै युवाले ओलीलाई नै साथ दिने भनिरहेका बेला तपाईंचाहिँ किन बाहिर हुनुहुन्छ?

सबैको यस्तो छ भन्न मिल्दैन। पार्टीमा यही नेतृत्वलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा पनि हुनुहुन्छ र नयाँमा जानुपर्छ भन्नेहरू पनि हुनुहुन्छ। त्यो पाकोमा पनि छ युवामा पनि छ त्यसैले युवाहरूचाहिँ यसकै पक्षमा छन् भन्ने परिस्थिति छैन।

तपाईं किन फरक कित्तामा हुनुहन्छ?

पार्टीमा कुनै गुट नभएको मान्छे हुँ म। आफूलाई विवेकले भ्याएसम्म जे लाग्छ त्यसका पक्षमा लाग्नुलाई गुटको परिभाषाभित्र राख्नु हुँदैन। अहिलेको आन्तरिक प्रतिस्पर्धाका सन्दर्भमा कसलाई सघाउने भन्ने हो। कुनै गुटको होइन।

पार्टीभित्रका धेरै युवाले ओलीलाई साथ दिन्छु भन्या छन्, तपाईं किन बाहिरिनुभयो?

नेकपा एमाले जुन परिस्थितिमा आइपुगेको छ, हाम्रा चुनौती जे छन्, नयाँ पुस्ताको भावना जे छ, पार्टी पंक्तिभित्र जे परिस्थिति देखिन्छ, आजसम्म हामीले पार्टी चलाउँदा जुन परिस्थिति निर्माण भयो यी सबैलाई हेर्दा नेतृत्वको ठुलो पंक्ति हामीसँग छ। हाम्रा कार्य सम्पादनका आफ्ना विषय छन्।

जोकोहीले कम्तीमा १० वर्ष नेतृत्व गरिसकेपछि नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने मान्यता राख्छु म। मैले व्यक्तिगत रूपमा कुरा राख्दा त्यसलाई ओलीका विरुद्धमा लाग्ने कुरा होइन, उहाँलाई अनादर गर्ने कुरा होइन। बरु उहाँकै प्रस्तावमा नेतृत्व हस्तान्तरण होस् भन्ने मेरो चाहना हो।

यो राष्ट्रिय महाधिवेशनपछि एमालेलाई कस्तो देख्नु चाहनुहुन्छ?

महाधिवेशनपछाडि आजका चुनौतीहरूको सामना गर्न सक्ने एमाले चाहिन्छ। आजका समस्याहरूको समाधान गर्न सक्ने, सामूहिक हिसाबले निर्णय गर्ने, सबैको महत्वलाई स्थापित गर्ने, व्यक्तिगत जिम्मेवार राम्रोसँग पूरा गर्ने, भएका कमजोरी स्वीकार्ने र मान्ने, त्यसलाई आत्मसमीक्षा गरेर जाने र आगामी दिन चुनौती सामना गर्ने एमाले चाहिन्छ। साथै अबका एजेन्डामाथि निर्धक्कका साथ काम गर्न सक्ने एमाले पथ निर्माण गर्नुपर्छ।

प्रकाशित: २८ मंसिर २०८२ १०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App