दाँत बिग्रेर ठूलै दुःख नदिएसम्म अस्पताल जाने हाम्रो चलन छैन । जतिबेला हामी अस्पताल पुग्छांै, त्यतिबेला दाँत धेरै बिग्रिसकेको हु्न्छ । दाँत किराले किन खान्छ ? मुख किन गन्हाउँछ ? दाँतको हेरचाह कसरी गर्ने ? प्रस्तुत छ– दाँत स्वास्थ्यका विषयमा वीर अस्पतालका दाँत विभाग प्रमुख डा. शैली प्रधानसँग नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानीः
नेपालमा दाँत स्वास्थ्यको अवस्था कस्तो छ ?
नेपालमा दाँत स्वास्थ्यलाई ध्यान नदिने चलनले यसको स्वास्थ्य भयावह छ । हामीले अध्ययन अनुसन्धान गर्दा उच्च दरमा यो रोग देखिन्छ । नेपालमा मात्र नभएर दक्षिण एसियामै दाँत स्वास्थ्यको अवस्था गम्भीर छ । यो क्षेत्रमा दाँत स्वास्थ्यलाई उति महत्व दिँदैनन्, दाँतको नियमित जाँच पनि गराउँदैनन् । यसकारण यो क्षेत्रमा दाँत स्वास्थ्यको समस्या बढी हुने गरेको हो।
दाँतका रोगमध्ये सबैभन्दा कुन् समस्या बढी देखिन्छ ?
मुखसम्बन्धी रोगहरू धेरै छन् । गिजाको समस्या र दाँत किराले खाने रोग बढी छन् । त्यसमा पनि दाँत किराले खाने समस्या बढी छ।
यी दुई रोग लाग्नुका कारण?
मुखको स्वास्थ्यको हेरचाह गर्नुपर्छ भन्ने जनचेतना छैन । दिनको दुईपटक फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्ने, खाना खाएपछि राम्रोसँग कुल्ला गर्नुपर्छ भन्ने धेरैलाई थाहा छैन।
दाँत र गिजा बिग्रनुमा पोषणयुक्त खानाको सम्बन्ध छ कि छैन?
दाँत एकपटक बनेपछि पोषणको खासै भूमिका रहँदैन । आमा गर्भावस्थामा हुँदाखेरी भिटामिन डी र क्याल्सियम पुगेन भने दाँत कमजोर हुन्छ । राम्रोसँग पोषण पुगेन भने दाँत कमजोर बन्छ । दाँत किराले खानुको मुख्य कारण त नियमपूर्वक दाँत सफा नगर्नु हो । जसका कारण दाँतमा लेऊ लाग्छ र मुखको स्वास्थ्य बिग्रन्छ । कुनै पनि खानेकुरा खाएपछि मुख कुल्ला गरिहाल्नुपर्छ । नत्र दाँत किराले खान्छ । बिहान खाना खानुअघि र राति सुत्नुअघि दाँत माझेर कुल्ला गर्नै प-यो।
दाँत किराले खानुका अन्य कारण के छन् त?
पछिल्लो समय नेपालमा रेडिमेड खानेकुराहरू जतिबेला पनि खाने चलन छ । यसले पनि दाँतलाई असर पुगेको छ । विशेषगरी कुरकुरे, चक्लेट, चाउचाउ, टाँसिने चकलेट, लेज, चिप्स, फ्यान्टाजस्ता रेडिमेड चिजहरू खाने चलन बढ्दै गएको छ । धेरैले यस्ता खाने कुरालाई सजिलो खाजाका रूपमा लिने गरेका छन् । यस्ता खानेकुराहरू खाएपछि दाँत नमाझिकन या कुल्ला नगरी छोड्ने चलन छ । यस्तो बानीले गर्दा दाँत किराले खाने रोग बढेको छ । गुलिया खानेकुरामा चिनी हुन्छ । त्यो दाँतमा जम्मा भएपछि व्याक्टेरिया निस्कन्छ र दाँत किराले खान्छ । त्यस्ता खानेकुरा टाँसिइरहेपछि एसिड निकाल्छ र त्यही वृद्धि भएर दाँत किराले खान्छ।
कहिलेदेखि दाँत किराले खाने रोग बढेको हो त?
पहिला–पहिलाको अनुसन्धान छैन । सन् २००२ देखि २००३ सम्म ५ देखि ६ वर्ष सम्मका बालबालिकामा अध्ययन गर्दा ५० देखि ६० प्रतिशत बालबालिकामा गिजाको रोग देखियो । त्यसपछि राष्ट्रिय अध्ययन भएको छैन । तर स–साना अध्ययनले ८० प्रतिशत मानिसमा दाँत र गिजाको रोग रहेको देखाएका छन्।
गिजाको रोग बढ्दै गयो भने कस्तो असर पर्छ?
गिजा भनेको दाँतको आधार हो । यो नै कमजोर भएपछि दाँत हल्लेर÷झरेर जान्छ । हामी नेपालीमा के भ्रम छ भने दाँत मान्छे बूढो भएपछि हल्लिन्छ । त्यो एकदमै हैन । जबसम्म गिजा बलियो हु्न्छ तबसम्म दाँत हल्लिँदैन।
गिजा बलियो राख्न के खानुपर्छ?
नियमित जाँच गर्नुप-यो, केही खानु पर्दैन । फोहोर छ भने सफा गर्ने । मुख्य कुरा बिहान–बेलुकी खाना खाएपछि फ्लोराइडयुक्त मञ्जनले सही तरिकाले दाँत माझ्नुपर्छ।
गिजा बिग्रियो भने मान्छेको स्वास्थ्यमा अन्य कस्तो असर पर्छ?
गिजासम्बन्धी रोग भएकाहरूमा मधुमेह छ भने चिनीको तह बढ्ने, मुटुसम्बन्धी रोग हुन सक्ने, गर्भवतीलाई गिजासम्बन्धी रोग छ भने बच्चा सानो आकारको जन्मने हुन सक्छ । यो कुरा विभिन्न अनुसन्धानले देखाएका छन्।
गिजामा लाग्ने रोगहरू के–के हुन्?
गिजाबाट रगत आउने (जेन्जिभाइटिस), गिजा हुँदै हड्डीसम्म खिइने (पेरियोडनटाइटिस), गिजाको ट्युमर र गिजामा क्यान्सर हुने गिजामा लाग्ने प्रमुख रोेगहरू हुन् । यी रोग लागेमा गिजाबाट रगत आउने, गिजा सुन्निने र गिजामा गिर्खा आउनेजस्ता लक्षण बढ्दै जान्छन् । गिजामा रोग लागेपछि मुख गन्हाउने समस्या हुन्छ । यो संक्रमण भएकाले मुखबाट गन्ध आउने गर्छ।
दाँत किराले खाँदा स्वास्थ्यमा पर्ने अन्य असर कस्ता छन्?
रगतको नसा, मुटु, श्वासप्रश्वास प्रणालीमा असर गर्छ । दाँत र गिजा बिग्रेका कारण मुखको क्यान्सरसम्म हुन्छ । निरन्तर मुखमा घाउ आइरह्यो भने त्यसबाट क्यान्सर हुन्छ भनेर आत्तिने हुन्छन् । मुखमा अल्सर भइरह्यो भने क्यान्सर हुने सम्भावना हुन्छ।
नेपालमा मुखको स्वास्थ्य बचाउन अन्य के–के कुरामा ध्यान दिनुपर्ला ? मुुख्यतः यसमा सरकारले धेरै ध्यान दिनुप-यो । गाउँ–गाउँमा दाँतसम्बन्धी स्वास्थ्य सेवा पु-याउनुप-यो । सबै नागरिकको पहुँचमा यस्तो सेवा पु-याउनुप-यो । तर त्यसो हुन सकेको छैन । दाँतसम्बन्धी चिकित्सकको दरबन्दी गाउँ–गाउँमा पुग्न सकेको छैन । गाउँपालिकादेखि नै डेन्टल सर्जन, डेन्टल स्वास्थ्यकर्मी राख्नु प-यो । त्यहाँको जनताले पनि सेवा पाउनु प-यो । दाँत सरसफाइको कुरा छ । सबैमा यसको जनचेतना जगाउनु प-यो । खानेपानीमा फ्लोराइड हालेमा पनि दाँत बलियो राख्न सकिन्छ । अन्य विकसित मुलुकमा खानेपानीको स्रोतमै फ्लोराइड राख्ने चलन छ । त्यसले गर्दा दाँत बलियो राख्न मद्दत पु-याएको देखिन्छ।
उमेरमै दाँत झर्नुको कारण के हो?
एउटा त वंशाणुगत रूपमै केही कमजोरी छ भने दाँत झर्छ । केही चुरोट पिउनेहरूमा पनि यस्तो समस्या देखिन्छ । चुरोट खाँदा प्रतिरक्षात्मक क्षमता कमजोर हुन्छ । गिजामा किटाणु बलियो हुनु र चुरोट पिउनेहरूमा प्रतिरक्षात्क शक्ति कमजोर हुँदा उमेरमै दाँत झर्छ । चुरोट पिउनेहरूको ३०/३५ वर्षमै दाँत झरेर कति जनाको मैलै नै नयाँ दाँत लगाइदिएको छु । दाँत झरेकाहरूले दाँत प्रत्यारोपणबाट राहत पाउँछन्।
नेपालमा दाँत उपचारको अवस्था कस्तो छ?
वीर अस्पतालको हकमा यहाँ दाँतको उपचार पर्याप्त छ । यहाँ राष्ट्रपतिदेखि सर्वसाधारणसम्म सबै उपचार गराउन आउँछन् । वीर अस्पतालमा दाँत उपचारका सबै सेवा उपलब्ध छन् । तर जिल्ला अस्पतालहरूमा भने सबै ठाउँमा दाँतसम्बन्धी उपचार सेवा छैनन् । त्यस्ता जिल्लाहरूमा निजी स्वास्थ्य संस्थाहरूले दाँत उपचार सेवा दिएका छन् । यो अभावलाई पूर्ति गर्न जिल्लादेखि गाउँपालिका तहसम्म आधारभूत दाँत उपचार सेवा हुनु पर्छ । कम्तमिा मुख सफाइ तहको सेवा दिने स्वास्थ्यकर्मी हुनु पर्छ।
दाँतको उपचार महँगो छ भन्छन् नि?
वीर अस्पतालमा तुलनात्मक रूपमा धेरै सस्तो छ । तर दाँत उपचार सेवाका लागि आवश्यक सामाग्री महँगो हुनाले पनि उपचार महँगो पर्न जान्छ । अहिले सबैले गुणस्तरीय सामान प्रयोग गर्ने कारणले पनि महँगो परेको हो।
दाँत उपचारका क्लिनिकहरू जथाभावी खोलिएको देखिन्छ, के भन्नुहुन्छ?
यी क्लिनिकहरू शंकास्पद पनि छन् । उपचार गर्न जाँदा नेपाल मेडिकल काउन्सिलको अनुमति छ कि छैन ? डेन्टल डाक्टरले खोलेको हो कि हैन ? यी कुरा याद गर्नुपर्छ । डेन्टल सहायक, डेन्टल हाइजेनिस्टले खोलेका छन् । यस्ता क्लिनिकले दाँत उपचारसम्बन्धी औजार सफाइ, दाँतमा प्रयोग गर्ने सामाग्री, बिरामीलाई दिने सेवाको उचित व्यवस्थापन गर्न सक्दैनन् । हामीले सेवा दिनुअघि नेपाल मेडिकल काउन्सिलमा शपथ लिएका हुन्छौं, यो गर्नु हुन्छ र यो गर्नु हुँदैन भन्ने विषयमा । तर क्लिनिकहरूमा सीमित ज्ञान भएकाले पूरै उपचार सेवा दिन सक्दैनन्।
वीर अस्पतालको दाँत उपचार सेवाले अन्तराष्ट्रिय मापदण्ड अपनाउन सकेको छ या छैन?
एकदमै अपनाएका छौं, हामीले दिने सेवामा कुनै कमजोरी छैन।
दाँत भर्ने सामाग्री कम गुणस्तरको र गलत परेमा पछि गएर क्यान्सर हुन सक्ने सम्भावना हुन्छ भनिन्छ नि?
पहिला–पहिला दाँत भर्दा मर्करी भरिन्थ्यो । जसलाई चाँदी भरेको भनिन्थ्यो । सबैले मर्करीमा कडा रसायन हुन्छ भनेपछि वीर अस्पतालमा यो बन्द भएको छ । अन्य क्लिनिकले के गरिराखेका छन्, थाहा छैन । मर्करी दाँतमा भरेपछि यसको आयु ५० वर्षभन्दा बढी हुन्छ।
वीर अस्पतालको दाँत उपचार सेवा सबैको पहुँचमा छ त?
सबैको पहुँचमा त छ तर, बिरामीको चापका कारण छिटो–छरितो सेवा दिन भने सकेका छैनौं । विशेषगरी दाँतको जरा भर्ने उपचारमा लामो लाइन लाग्ने गरेको छ । यसका लागि दुई महिनाजति पर्खिनुपर्ने स्थिति छ।
सबै खालका सेवा छिटो दिन के गर्दै हुनुहुन्छ त?
पर्याप्त ठाउँ नभएकाले छिटो उपचार दिन सकेका छैनौं । सबैलाई राम्रो र छिटो उपचार दिन हामीले दाँतको छुट्टै अस्पताल बनाउने प्रस्ताव राखिसकेका छौं।
प्रकाशित: २६ श्रावण २०७५ ०५:२९ शनिबार