९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्वार्ता

'नेपालले भारत–पाक वार्तामा समन्वय गर्न सक्छ '

पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासीको दुईदिने नेपाल भ्रमणले यस क्षेत्रमा अवरुद्ध कूटनीतिक प्रक्रियाले गति लिने संकेत गरेको छ । दुईदिने भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्कनुअघि अब्बासीले नागरिकका गुणराज लुइँटेल र रिपब्लिकाका सुवास घिमिरेलाई काठमाडौंमा दिएको विशेष अन्तर्वार्तामा द्विपक्षीय व्यापार, सार्क सक्रियता र भारत–पाकिस्तानबीचका मुद्दा विषयमा चर्चा गरेका छन्। 

तपाईंको अचानक नेपाल भ्रमणको उद्देश्य के हो ? के यसलाई नेपाल र पाकिस्तानबीचको अर्को तहको संलग्नताका रुपमा लिन सकिन्छ? 
यहाँ आउन पाउने यो राम्रो अवसर थियो । नयाँ प्रधानमन्त्रीले पदभार ग्रहण गर्नुभएको छ र राजनीतिक प्रक्रिया पूरा भएको छ । आउनुअघि र आएपछिका अन्तरक्रियाबाट नेपालको राजनीतिक स्थायित्वप्रति म ज्यादै आशावादी भएको छु । संवैधानिक प्रजातन्त्रले यहाँ जरा गाडेको छ भन्ने मलाई लाग्छ । अब परिस्थिति अघि बढ्छ । राजनीतिक स्थायित्वबिना अन्य कुनै पनि स्थायित्व आउँदैन। 

हामी यस्तै प्रक्रियाबाट गुज्रिसकेका छौं । हामीकहाँ ७० वर्षपछि बल्ल दोस्रो कार्यकाल पूरा गर्ने अहिलेको संसद् दोस्रो हो ः पहिलो २००८ देखि २०१३ र अहिले २०१८ सम्म । त्यसकारण निरन्तरता महत्त्वपूर्ण हुन्छ । यसले लगानीकर्तामा विश्वास बढ्छ । नेपाल विकासको अर्को चरणमा प्रवेश गर्न तयार भएको छ भन्ने मलाई लाग्छ। 

नेपाल र पाकिस्तानबीच अर्को चरणको संलग्नता के हुन सक्छ? 
आधारभूतरुपमा हामीले व्यापार र जनस्तरको सम्बन्ध बढाउनुपर्छ। दुई देशका निजी क्षेत्रले पहिचान र उपयोग गर्ने हो भने सरकारले व्यापार अवसरका निम्ति सहयोग पुर्‍याउन सक्छन्। पाकिस्तानमा रहेका महत्त्वपूर्ण बौद्ध स्थललाई उचित संरक्षण गरिएको छ । नेपाली तीर्थयात्रीका निम्ति ती महत्त्वपूर्ण हुन्छन्। 

हिजो हाम्रो बैठकमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल रहेको चर्चा भएको थियो । तीमध्ये ८ नेपालमा र ५ पाकिस्तानमा छन् । हिमालमा हाम्रो एकाधिकार छ । हामीले एकअर्कासँग सिक्न र संयुक्त पर्यटन गतिविधि गर्न सक्छौं । यो संसारको अद्वितीय क्षेत्र हो। 

नेपालबाट धेरै विद्यार्थी मेडिकल शिक्षा आर्जनका निम्ति पाकिस्तान जान्छन् । हामीले संख्या दोब्बर पारेका छौं र नेपाली विद्यार्थीले पाकिस्तानमा मेडिकल शिक्षामा पहुँच पाउन भनेर यो संख्या अझै बढाउनसमेत खोजिरहेका छौं। 

दुई देशबीच हार्दिकतापूर्ण लामो ऐतिहासिक सम्बन्ध छ । तर, दुई देशबीचको व्यापार भने अत्यन्त न्यून छ । द्विपक्षीय व्यापारनिम्ति पहिचान गर्नुपर्ने क्षेत्रहरू के–के हुन सक्छन्? 
पहिले सहयोगको भिन्न अर्थ थियो भन्ने मलाई लाग्छ । अहिले व्यापार नै हो । हामीले अवसरका लागि जहाँसुकै हेर्नुपर्छ । नेपाल ठूलो आयातकर्ता मुलुक हो र सन्तुलन कायम गर्न यसले निर्यात बढाउनुपर्छ । त्यसैगरी, पाकिस्तानको पनि व्यापार असन्तुलन छ तर नेपालको जस्तो होइन । हामीले बजार र कसरी एकअर्कालाई सहयोग पुर्‍याउन सकिन्छ भनेर हेर्नुपर्छ । हामीले मन्त्रालय र लगानीकर्तालाई असमानता हटाउन र व्यापार बढाउन जिम्मेवारी दिएका छौं। 

पहिले पाकिस्तान इन्टरन्यासनल एअरलाइन्स (पिआइए) को काठमाडौंमा सीधा उडान हुने गरेकोमा अहिले रोकिएको छ । काठमाडौं र इस्लामाबादलाई जोड्नेबारे तपाईंको सरकारले केही सोचिरहेको छ? 
पिआइएको आफ्नै समस्या छ । हामीले खाडी विमान सेवाहरूको कुनै उडान यहाँ नभएको अवस्थालाई सम्झनुपर्छ। अहिले कतार, इमिरेट्स, ओमान र अन्य विमान सेवाले बजार लिइसकेका छन् । सार्क र भिसा सुधारको अवस्था भएमा बजार सिर्जना गर्न सकिन्छ भन्ने मलाई लाग्छ । सन् १९९७ देखि म तीन वर्षसम्म पिआइएको प्रमुख थिए । हामीले नेपालीलाई मध्यपूर्व लिएर जाने गरेका थियौं । अहिले खाडी मुलुकका विमानहरूले दैनिक उडान र व्यापार गरिरहेका छन् । निश्चितरुपमा हामी बजार हेर्छौं । निजी क्षेत्रले पनि बजार हेर्न सक्छ । यसलाई फेरि चलाउन सकिन्छ । सम्भावना छ। 

कराँची इस्लामाबादबाट दुई घन्टा दुरीमा टाढा छ । हामी इस्लामाबादबाट काठमाडौंमा एक घन्टा ४० मिनेटमा आयौं । यी दुई सहर हाम्रा आफ्नै सहरभन्दा निकै नजिक छन्। 

पाकिस्तान र चीनले थुप्रै ठूला पूर्वाधार आयोजनामा विशेषगरी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) लगायतमा सँगै काम गरिरहेका छन् । अहिले नेपाल र पाकिस्तान दुवै बिआरआईका अंग बनिसकेका छन् । नेपालले चीनसँगको पाकिस्तानी संलग्नताबाट कस्तो पाठ सिक्न सक्छ? 
मैले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री र टिमसँगको हाम्रो द्विपक्षीय बैठक र राष्ट्रपति समेतसँग यही विषयमा बताएँ । बिआरआई खासगरी चीनको पश्चिमतर्फ जाने जोड हो र त्यसमा यस क्षेत्रका सबै देश आपसमा जोडिने छन् । त्यहाँ अवसर छ र हामीले त्यसलाई उपयोग गर्नुपर्छ । उदारणका लागि बिआरआईको देखिने अंश भनेको चीन–पाकिस्तान इकोनमिक करिडोर (सिपेक) पनि हो । यो यथार्थमा सबै मध्यएसियाली देश र चीनको पश्चिम भूभागको समुद्रसम्मको प्रभावकारी पहुँच नै हो । यथार्थमा सार यही हो । कनेक्टिभिटीले पावर प्लान्ट, राजमार्ग, सडक, बन्दरगाह, विमानस्थल, रेल संयन्त्र आदिमा लगानी ल्याउँछ । 

नेपालले हाम्रो अनुभवबाट धेरै सिक्न सक्छ । राम्रो कनेक्टिभिटी भन्नु नै अझ स्वतन्त्रता र आर्थिक वृद्धिका निम्ति थप सम्भावना पनि हो । 

पाकिस्तानी दृष्टिकोणबाट उदाउँदो चीनलाई हामीले कसरी बुझ्ने? 
चिनियाँ राष्ट्रपति सी चिनफिङले ठूलो अवसर प्रदान गर्नुभएको छ । म स्विट्जरल्यान्डको डाभोसमा थिएँ र सबैजनाले बिआरआईबारे कुरा गरिरहेका थिए । यो एउटा पुस्तौं पुस्ताको परियोजना हो र यसले सोचाइमै परिवर्तन ल्याउनेवाला छ । सम्पूर्ण दक्षिण एसिया क्षेत्रलाई बिआरआईसँग जोड्नु आवश्यक छ, जसले हाम्रानिम्ति पश्चिम र मध्यएसियामा बजार र अवसर खोल्नेछ । यहाँ धेरै ठूलो सम्भावना छ। 

प्रविधिले विगतमा उपलब्ध नरहेका धेरै समाधान आज हामीलाई दिएको छ । हामीले राजमार्ग बन्न सक्दैन भनी ठानेका ठाउँमा आज निर्माण सम्पन्न गरेका छौं । रेल आउन सक्दैन भनिएका खास ठाउँमा आज रेल पुगेको छ । हामीले चीनसँग १५ सय किलोमिटर राजमार्गबाट व्यापार गर्छौं । यो बाह्रै महिना खुला छ र व्यापार फस्टाएको छ । 
नेपालसँग पनि त्यो सम्भावना छ। 

तपाईंले नेपालसँगका कस्ता सम्झना पाकिस्तान लिएर फर्कंदै हुनुहुन्छ? 
म पहिले नागरिकका रुपमा दुईपटक नेपाल आइसकेको छु । यो मेरो पहिलो औपचारिक भ्रमण हो । म पहिलोपटक सन् २००८ मा आएको थिएँ । अहिले सहर निकै बढेको छ । मैले यहाँ आर्थिक वृद्धि देखें । यहाँका जनता स्वावलम्बी र परिस्थितिप्रति खुसी देखिन्छन् । नयाँ सरकारप्रति आशा पनि देखिएको छ । सन् २००८ को स्थिति अलि तरल थियो। अहिले नेतृत्वप्रति विश्वास देखिएको छ । छ महिनाबीच भएका तीन निर्वाचनमा ८० प्रतिशत नागरिक मतदानमा सहभागी हुनु गजबको स्थिति हो । प्रजातन्त्र आधारभूत प्रस्थापना हो । प्रजातन्त्र सुनिश्चित भएपछि सबै कुरा आउँछ। 
मैले यहाँ जे देखें, त्यसबाट म नेपालको अग्रगामी बाटोप्रति अत्यन्तै सकारात्मक र आशावादी भएको छु। 

हाम्रो क्षेत्रमा दुई विशाल मुलुक भारत र चीन छन् । नेपाल र पाकिस्तानजस्ता मुलुकले यी शक्तिराष्ट्रसँग कसरी व्यवहार गर्नुपर्ला? 
सबै कुराले अवसर र सम्भाव्यता ल्याउँछ । हामीले ती सम्भावनाको उपयोग गर्न सक्नुपर्छ । हामीले व्यापार कनेक्टिभिटी बढाउनुपर्छ र जनताको समृद्धिमा सुधार गर्नुपर्छ । यसमा सबैको चासो छ । हामीबीचका द्विपक्षी मुद्दा समयसँगै समाधान भएर जान्छन् । हामीले संसारभरि धेरै अप्ठेरा द्विपक्षीय मुद्दाहरू पनि समाधान भएको देखेका छौं । यसको मतलब हामीले क्षेत्रीय मुद्दालाई बेवास्ता गर्छौं भन्ने होइन । त्यसकारण हामीले सार्क र यसको प्रक्रियालाई अत्यन्तै महत्त्व दिएका छौं । 

तपाईंको भ्रमणको एउटा उद्देश्य पाकिस्तानमा सार्क शिखर सम्मेलन गराउन सहजीकरणका निम्ति पनि हो ? के पाकिस्तानले अब शिखर सम्मेलन आयोजना गर्छ? 
हामी सन् २०१४ देखि नै शिखर सम्मेलन आयोजना गर्न इच्छुक छौं र यो सन् २०१६ मै सम्पन्न हुनुपर्ने थियो । यो सम्भव भएन, हामी सार्क शिखर सम्मेलनका लागि सहमति जुट्नेमा आशावादी छौं । अन्य मन्त्रीस्तरीय बैठक आयोजना भइरहेका छन् तर यो मञ्चलाई गति दिने शिखर सम्मेलन आयोजनामा अवरोध आइरहेको छ । 
यो क्षेत्रका मुलुकका निम्ति सार्क महत्त्वपूर्ण मञ्च हो । हाम्रो साझा इतिहास, संस्कृति रहेका कारण पनि यो मञ्चलाई सक्रिय र उपयोगी बनाउनु अत्यन्त आवश्यक छ। 

दुवै देशमा क्रिकेट लोकप्रिय छ । नेपाली टिमले अहिले राम्रो गरिरहेको छ । दुई देशका टिमबीच सहकार्यको सम्भावना छ? 
निश्चय नै ! नेपालको ठूलो जनसंख्या छ, एउटा सानो मुलुकमा करिब ३ करोड नागरिक छन् । पाकिस्तानमा क्रिकेट कति लोकप्रिय छ भन्ने कुराले तपाईंहरूलाई आश्चर्यमा पार्छ । म नेपालजस्तै पहाडी भूभागबाट आएको हुँ । त्यहाँ तपाईं जहाँसुकै जाँदा पनि बालबालिकाले क्रिकेट खेलेको देख्न सक्नुहुन्छ । क्रिकेटप्रति ठूलो आकर्षण त्यहाँ छ । 
नेपालले पनि यसमा प्रसिद्धी हासिल गर्नेमा म आशावादी छु। 

धेरै मनिसले नेपाललाई खेलकूदका साथै कूटनीतिक आदानप्रदानका निम्ति पनि तथष्ट गन्तव्यका रुपमा लिन्छन् । के नेपालले भारत र पाकिस्तानबीचको वार्तामा मध्यस्थता गर्नसक्छ? 
हो । यहाँ सार्कको मुख्यालय नै छ । अर्को थलोले जहिल्यै विश्वसनीयता आर्जन वा अन्य जुनसुकै विषय समाधानका लागि सहयोग गर्न सक्छ । नेपालको आफ्नै अद्वितीय किसिमको इतिहास भएका कारण यस्ता पहलमा मध्यस्थता गर्न सक्ने स्थिति छ। 

प्रधानमन्त्री अब्बासीसँगकाे अन्तर्वार्ता सुन्न तल क्लिक गर्नुहाेस्

प्रकाशित: २३ फाल्गुन २०७४ ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App