coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्वार्ता

विशेष कार्ययोजना बनाएर काम गर्ने छौं

कर्णाली प्रदेश

गणेशबहादुर थापा,अध्यक्ष, भगवतीमाई गाउँपालिका

शिक्षा क्षेत्रमा भगवतीमाई गाउँपालिकाले गरेका कामहरू तथा कार्ययोजना कस्तो छ?

गाउँ शिक्षा ऐन २०७९ गाउँसभाबाट पारित गरिएको छ। योग्य, दक्ष र लगानशील प्रधानाध्यापकहरूको व्यवस्थापन प्रक्रिया सम्पन्न गर्न लागेका छौं। स्रोत शिक्षकको व्यवस्था गरी अनुगमन, निरीक्षण प्रणालीमा सुधार गरेका छौं।

परीक्षा प्रणालीमा सुधार ल्याएका छौं। प्रत्येक विद्यालयमा नमुना कक्षा सञ्चालन गर्ने गरेको, शिक्षक–अभिभावक भिजिट कार्यक्रम, शिक्षक संख्या कम भएका विद्यालयमा शिक्षक व्यवस्थापन, बाल विकास सहजकर्तालाई थप पारिश्रमिक व्यवस्थापन, गाउँ शिक्षा योजना निर्माण प्रक्रिया सुरु, शिक्षकलाई पुरस्कार तथा दण्डको व्यवस्था, विद्यालयमा अभिभावकको उपस्थिति बढाउन नयाँ विधि प्रक्रिया सुरु, सबै विद्यालयमा इन्टरनेट सुविधा, प्रअ बैठकलाई नियमित गर्ने व्यवस्था, करार शिक्षक नियक्त प्रक्रियामा सरल र निष्पक्ष, क्याम्पस स्थापनाका लागि सुझाव दिन कार्यदल र आवश्यकताअनुसार कक्षा र विद्यालय भाग्ने कार्य गरेका छौं।

भगवतीमाई गाउँपालिकामा रहेको पर्यटन प्रवर्धन गर्नुपर्ने ठाउँहरू कुन हुन्?

शिखरद्वारी मन्दिरको व्यवस्थापन गर्ने कार्ययोजना रहेको छ। लोहोरेदेखि मन्दिरसम्म सडक कालोपत्रे गर्ने डिपिआर तयार रहेको र कालोपत्रेको योजनाका लागि पहल भइरहेको छ। बेस्तडा बजारमा रहेको शिव मन्दिरको संरक्षण गरिएको छ। वडा नम्बर १ को मालिका मन्दिरसम्म पुग्नका लागि सडक निर्माणाधीन अवस्थामा रहेको छ।

त्रिपानी झरना र मालिका मन्दिरलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने पालिकाको योजना रहेको छ। पालिकाको ४ र ६ वडाको उच्च शिखरमा रहेका मालिका, मन्दिरहरूसम्म पुग्ने बाटो निर्माण तथा नयाँ मन्दिर निर्माण गर्ने कार्ययोजना रहेको छ। सहिद मायाराम पार्क वडा नम्बर ५ मा निर्माणाधीन अवस्थामा रहेको छ। वडा नम्बर ६ मा होमस्टे निर्माण तथा सडक पहुँचको काम भइरहेको छ।

पालिकामा भएगरेका मुख्य प्रगतिहरू केके हुन्?

रिङ रोड निर्माण अन्तर्गत ७ नम्बर वडादेखि १ सम्म सुरुवात गरिएको छ। सबै घरधुरीमा विद्युत् पहुँच पुग्ने गरी ७ वडामै २ वर्षभित्र पुग्ने बजेटसहित काम भइरहेको छ। स्वास्थ्य शिविर सञ्चालन गरी करिब २५ नागरिकहरूले सेवा लिएका छन्। रेडक्रस र पालिकाको संयुक्त प्रयासमा स्वास्थ्य क्षेत्र सुधारका प्रयासहरू भइरहेका छन्।

आधारभुत अस्पताल भवन १० करोडमा निर्माण टेन्डर भएको छ। संस्थाहरूको सहयोगमा २, ३, ४, ५ र ९ वडामा बालबालिकाको विकासका लागि करिब १० वर्षे विभिन्न कार्यक्रम सुरु गरिएको छ। कृषि क्षेत्रमा किसान भ्रमण, कृषि अनुदान कार्यक्रम, किसानदेखि किसान कार्यक्रम, एक फर्म अनेक स्वामित्व कार्यक्रम, कृषिजन्य उत्पादनको ढुवानी अनुदान, कृषि विज्ञ सेवा आदि कार्यक्रमहरू रहेका छन्।

विद्यार्थी, वृद्ध, सुत्केरी र अनाथ बालबालिकालाई पालिकादेखि प्रदेश अस्पताल सुर्खेतसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ। सहिद परिवारलाई आयमूलक कार्यक्रम र १० वर्षे द्वन्द्वका क्रममा घाइतेका लागि निःशुल्क औषधी उपचारको व्यवस्था पालिकाले गरेको छ। प्रतिपरिवार खानेपानीको धारा निर्माण गर्न संस्थासँग सम्झौता (साझेदारीमा) कार्य प्रारम्भ गरिएको छ। ६० देखि ६८ वर्षका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेका छौं। सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बस्तीको तथ्याक सङ्कलन र जग्गा धनी पुर्जा वितरण गर्ने काम भएको छ र बाँकी प्रक्रियामा रहेको छ । 

प्रकाशित: ३० चैत्र २०७९ ०५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App