७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

रविले माफी मागेर अर्को निर्वाचनसम्म प्रायश्चित गर्नुपर्छ: डा. प्याकुरेल

‘सांसद नभएकालाई मन्त्री बनाउन लबिङ नगर्ने कुरा रास्वपाको घोषणा पत्र उल्लेख छ’

अहिले सरकारमा सामेल दलहरुमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा कान्छो पार्टी हो। स्थानीय निर्वाचन पछि मात्र जन्मेको पार्टी हो। अझै भन्नु पर्दा यस पार्टीलाई पूर्वसञ्चारकर्मी रवि लामिछानेको पार्टी भनेर धेरैले चिन्छन्। 

गत असारसम्म सक्रिय सञ्चारकर्मी रहेका लामिछानेले यो पेसा छोडेर आफ्नो नेतृत्वमा पार्टी स्थापना गरेका हुन्। स्थापना भएको छोटो समयमै एवं पहिलो चुनावमै प्रतिनिधि सभा प्रत्यक्षतर्फ ७ सिट र समानुपातिक तर्फ १३ गरी कुल २० सिट जितेर सबैको मन जित्न सफल भयो।

आम चुनावबाट चौथो शक्तिको रुपमा आएको यस पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन गर्दै पार्टी सभापति लामिछानेको नेतृत्वमा सरकारमा सामेल भयो। पार्टी सभापति लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री सहितको शक्तिशाली मन्त्रालयको नेतृत्व गदै सरकारमा सामेल भए।

तर एक महिना मै पार्टी सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा दोषी प्रमाणित भएर पदबाट बाहिरिएपछि पार्टी सभापति र पार्टीको भविष्यलाई लिएर चौतर्फी सकरात्मक तथा नकारात्मक टिका टिप्पणी हुन थालेका छन्।

आज यसै सेरोफेरोमा रहेर नागरिक न्यूज संवाददाता निमेष अधिकारीले राजनीतिक समाज शास्त्री डा. उद्धव प्याकुरेलसँग कुराकानी गरेका छन्। 

तपाईँको विचारमा राष्ट्रिय स्वतन्त्र पार्टी कस्तो पार्टी ?

यस पार्टीलाई धेरैले रवि लामिछानेको पार्टी  भन्छन्। तर यो पार्टीलाई  रवि लामिछानेको पर्यायवाचीको रुपमा लिनु हुँदैन। अथवा रवि नै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी नै रवि होइन। भलै उनले यसलाई सुरु गरेको भएपनि यस पार्टीमा नेपाली युवाहरूको ठुलो जमात ऐक्यबद्ध छ। यो जमातले हामी अरु भन्दा स्वतन्त्र, निष्पक्ष, सदाचारी, स्वाभिमानी अनि सुशासनको पक्षका हौ भनेर पार्टी बनाएका हुन्। रवि लामिछाने र उनको राष्ट्रिय स्वतन्त्र पार्टीलाई जसरी प्रस्तुत गरिएको छ, त्यो पटक्कै होइन। 

नेपाली युवाको ठुलो जमात लागेर उनका बा-आमाले भनेको कुरा नपत्याएर, ठूला दलले भनेका कुरा नपत्याएर, कतिपय सन्दर्भमा नेपाली मिडियाले भनेको कुरा नपत्याएर, रविलाई माध्यम बनाएर यो पार्टीको गठन भएको हो।

रवि लामिछाने नागरिकताको विवादमा अदालतले दोषी ठहराए पछि उनी मन्त्री र सांसद विहीन भएका छन्, यस विषयमा तपाईँको धारणा के छ ?

आज करिब-करिब एक महिना कै बिचमा साँच्ची भन्ने हो भने जसले सुशासनका कुरा गरेका  थिए। जसले समन्यायका कुरा गरेका थिए। ती व्यक्तिहरूलाई रवि लामिछाने आफैले ठुलो धोका दिएका रैछन भन्ने कुरा चाही सर्वोच्च अदालतले पुष्टि गरिसक्यो। उनले म नागरिकताको सन्दर्भमा दोषी छैन, मैले नियम पुराएर मात्रै काम गरेको छु भनिराखेको सन्दर्भमा त्यो होइन रैछ भन्ने कुरा प्रमाणित भइसकेपछि अव ती युवाहरुले फेर रवि लामिछाने नै पार्टी हो र पार्टी नै रवि लामिछाने हो जसरी एकाएक सभापतिमा रविलाई नै फेरी चयन गर्‍यो।

उहाँलाई केही समय टेष्टमा राखेर अनि मात्रै निर्णय गर्नु पदथ्र्यो। त्यो अवस्थामा युवाहरू प्नि साँच्चीकै थिती बसाल्ने सन्दर्भमा अगाडी हुनुहुन्छ त? युवाहरू पनि साँच्चीकै सुशासनको पक्षमा हुनुहुन्छ त? भन्ने प्रश्न चिन्ह लागिसक्यो। अहिले रवि लामिछाने सांसद पनि नभएको सन्दर्भमा फेरी मन्त्री बन्ने प्रयास गरिरहनु भएको कुराहरु बाहिर आइरहेको छ। त्यसमा उहाँहरुको आफ्नै घोषणा पत्र हेर्ने हो भने पनि कमसेकम सांसद नभएकाहरूलाई मन्त्री बनाउनका लागि हामी लविङ गर्ने छैनौ भन्ने कुरा बुँदामै उल्लेख छ।

यी सबै हिजो आफुले भनेको कुरा र घोषणा पत्रको आधारमा संगठीत भएका युवाहरू आफैले आफैलाई धोका दिन खोज्नु भएको हो। फेरी रवि लामिछानेलाई मन्त्रीमा लग्दा खेरी चुनाव उठ्ने समयसम्म पनि पर्खन उहाँलाई बाध्य नपारीकन अहिले नै मन्त्री हुन पर्‍यो भनेर उनले गरी रहेको लविङलाई सपोर्ट गरेर ताली र लाईकहरु आइरहेका छन्। त्यसैले रवि लामिछाने हिजो अरु दलहरूले गरेका विकृत रूपहरू मै लिप्त हुन खोज्नु भएको हो? त भन्ने गम्भीर प्रश्न उठेको छ। 

मलाइ लाग्छ राष्ट्रिय स्वतन्त्र पार्टीमा यी कुराहरूमा जानकारी राख्ने सक्षम राम्रा मान्छेहरु पनि छन्, जसले समग्रमा देशलाई अगाडी बढाउन पर्दछ, सुशासन दिन पर्दछ भन्ने म्यासेजलाई लिएर अगाडी बढिरहनु भएको छ। अव आफैले आफैलाई धोका दिन चाहनुहुन्छ वा यो पार्टीलाई सुधारेर राम्रो सुशासन थिती बसालेर पार्टीको रुपमा लानु हुन्छ। यदि रविले चाहनु भयो भने उहाँसँगै र चाहनु भएन भने उहाँलाई छोडेर पनि जानुहुन्छ भन्ने देशले खोजेको म्यासेज हो। मलाई लाग्छ त्यस बाटो तर्फ जानलाई मेरो पनि शुभकामना, हिजो उहाँलाई समर्थन नगर्नेहरूले पनि सकारात्मक बाटोतिर जान शुभकामना दिइरहेका छन्। 

राजनीतिक समाजशास्त्रीको नाताले भन्नु पर्दा रवि लामिछानेको पछिल्लो घटनाक्रमले समग्र राष्ट्रिय राजनीतिमा कस्तो फरक पार्छ?

उहाँको दलको १९ सिटले देशको राजनीतिलाई कता लैजान्छ भन्ने कुरामा निर्णायक भूमिका खेल्दैन। उहाँको पार्टी ‘कि प्वाइन्ट’ होइन। उहाँहरू कुनै यता उता गर्ने शक्ति होइन। उहाँहरू सत्तामा रहँदा वा नरहँदा नेपालको राजनीतिमा कुनै उथल पुथल हुने अवस्था हुँदैन। महत्त्व छ भनेको जसरी चर्चा गर्नु पर्दछ भन्ने लाग्दैन। 

व्यक्तिगत रुपमा सभापति रविलाई के सल्लाह दिन हुन्छ?

उहाँले जानेर अथवा नजानेर गल्ती गरिसक्नु भएको छ, गल्तीलाई प्रायचित गरेर ठिकै छ मेरो सन्दर्भमा नागरिकता लागि विभिन्न देशहरू चहारेर पुगे तर कतिपय सन्दर्भमा मैले नियम पुर्‍यायन छु। त्यसको लागि मैले नागरिक हुँ भनेर नै चितवनका जनतासँग भोट मागेको थिए अब मेरै कारणले फेरी चुनाव हुन पर्‍यो। राष्ट्रले ठुलो खर्च व्यहोर्नु पर्ने भयो। जनताले पनि धेरै समय दिनु पर्ने भयो। यी सबै कुराका लागि म माफी माग्छु र अर्को चुनाव सम्मका लागि म धैर्य गर्दछु भन्न सक्नु पर्दछ रवि लामिछानेले। अहिले उपचुनावमा पनि उहाँ नलडेहुन्छ। 

नागरिकता त्यागेको प्रमाण बुझाएको एक घण्टा पनि नबित्दै उहाँले नागरिकता पाउनुभयो। यस्तो खालको सुविधा आम सर्वसाधारणले पनि पाउनु पर्दछ भनेर वकालत गर्ने रवि जीले सुशासनको पक्षमा लडाई निरन्तर लड्नु पर्दछ।

उहाँले हिजो गरेको गल्ती, भएको गल्तीलाई कमसेकम अर्को चुनावसम्म प्रायचित गर्दा उहाँको भविष्य राम्रो हुन्छ। आफ्नो पार्टीमा पनि अरु व्यक्तिलाई समावेश गरेर वातावरण बनाइदिएर लिडरसिप तयार गरिदिनु पर्दछ।

त्यो बेलासम्म पार्टीले नेतृत्व स्वीकार गरेको खण्डमा चुनाव लडेर जितेर आएर गृहमन्त्री होइन प्रधानमन्त्री नै बनेर देश हाँके हुन्छ। अरुलाई उपदेश दिँदै हिँड्नु हुन्थ्यो। उहाँले पनि किन प्रायचित नगर्ने त, उहाँले पनि सुशासनका लागि ‘कन्ट्रीब्यूसन’ नगर्ने त? भन्ने उहाँ माथि उब्जिएको प्रश्न हो। त्यसैगरी उहाँले बुझेर नआत्तिकिन, गैर कानुनी रुपमै भएपनि गृह मन्त्रालयसम्म सम्हाली सक्नु भएको छ। पोजेटिभ नेगेटिभ दुबै कुरा थाहा पाइसक्नु भएको छ। त्यो कुराको प्रायचितका लागि केही समय पर्खेर अनि त्यसपछि  जनतालाई म त सुशासनको पक्षमा आए भनेर अघि बढेर जानुभयो भने सहयोग हुन्छ होला जस्तो मलाई लाग्छ।

रवि लामिछानेको एक महिने कामलाई तपाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?

उहाँ काम भन्दा बढी निर्देशन दिनु हुन्थ्यो। आज बन्द भनेको कुरा पर्सि खुलेको हुन्थ्यो। उहाँले भनेको कुराहरु नागरिकता, राहदानी लगायत जनतासँग पुराउने सन्दर्भमा नीतिगत निर्णयहरु के–के भए होलान् परिणामहरू के–के आए भन्ने कुरा देखिएको छैन। राम्रै गर्नु भयो भन्ने सवालमा यो मामलाको वातावरण देखिएको अवस्था छैन। लक्ष्यमा पुग्नका लागि बाटो पनि उक्तिकै सफा हुनु पर्दछ। यति नै हो उहाँको एक महिने कार्यकालको मूल्याङ्कन।

प्रकाशित: १९ माघ २०७९ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App