१ वैशाख २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम, दुवै पक्षद्वारा जितको दाबी

तस्बिर: एएफपी

अमेरिका र इरान दुई साताका लागि युद्ध रोक्न सहमत भएका छन्। बुधबारदेखि लागू हुनेगरि युद्धविराम भएसँगै दुवै पक्षले आफ्नो जित भएको दाबी गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा पूर्ण विनाशको सामना गर्न दिएको म्याद सकिनु एक घण्टाअघि मात्रै यो सहमति भएको हो।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलको हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएपछि युद्ध चर्किएको थियो।

राष्ट्रपति ट्रम्पले समाचार संस्था एएफपीसँग कुरा गर्दै यो सम्झौता नै समग्र जित भएको बताएका छन्। यता इरानले पनि यसलाई आफ्नो जित बताएको छ। तर औपचारिक सर्तहरूमा सहमति नभएसम्म युद्ध अन्त्य नहुने भनेको छ।

इरानको राष्ट्रिय सुरक्षा परिषद्ले शुक्रबार पाकिस्तानमा अमेरिकासँग हुने वार्तामा पूर्ण अविश्वासका साथ सहभागी हुने बताएको छ।

ट्रम्पले पाकिस्तानका नेताहरूको आग्रह र चीनको मध्यस्थतामा इरानलाई वार्तामा ल्याउन सफल भएको बताएका छन्। यद्यपि, बुधबार बिहान बहराइनको मानामामा विस्फोटका घटनाहरू भए। अधिकारीहरूले यसलाई इरानी आक्रमण भनेका छन्।

सम्झौताअन्तर्गत इरानले विश्व व्यापारको प्रमुख नाका स्ट्रेट अफ होर्मुज दुई साताका लागि खोल्न सहमति जनाएको छ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले जलमार्गमा दुई सातासम्म जहाजहरूको सुरक्षित आवागमन हुने बताएका छन्। ‘यदि इरानमाथिको आक्रमण रोकियो भने, हाम्रा शक्तिशाली सशस्त्र बलले रक्षात्मक कारबाही रोक्नेछन्,’ उनले भनेका छन्।

नाका खुल्ने भएसँगै विश्वबजारमा कच्चा तेलको मूल्य १७ प्रतिशतभन्दा बढीले घटेको छ।

यस्तै, युरोपेली प्राकृतिक ग्यासको मूल्य २० प्रतिशतले ओरालो लागेको छ भने एसियाली सेयर बजारमा उछाल आएको छ। ट्रम्पले स्ट्रेट अफ होर्मुजमा रोकिएका जहाजहरूको ट्राफिक व्यवस्थापनमा अमेरिकाले सहयोग गर्ने बताएका छन्।

ट्रम्पले इरानसँग दीर्घकालीन सम्झौता गर्ने दिशामा अमेरिका धेरै अगाडि बढिसकेको दाबी गरेका छन्। उनले इरानले पेस गरेको १० बुँदे योजना कार्यान्वयन योग्य रहेको बताएका छन्।

तर, इरानले सार्वजनिक गरेका सर्तहरूमा अमेरिकाले लामो समयदेखि लगाएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, होर्मुज जलमार्गमा इरानी प्रभुत्व सुनिश्चित गर्नुपर्ने र यस क्षेत्रबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने जस्ता मागहरू छन्।

ट्रम्पले इरान आणविक बम बनाउने नजिक पुगेको दाबी गर्दै आएका छन्। कुनै पनि शान्ति सम्झौतामा आणविक सामग्रीको विषय सम्बोधन गरिने ट्रम्पले बताएका छन्।

सम्झौता असफल भएमा इरानका ऊर्जा केन्द्र र पुलहरू नष्ट गर्ने आफ्नो पुरानो चेतावनीमा फर्किने वा नफर्किने भन्ने विषयमा ट्रम्पले स्पष्ट जवाफ दिएका छैनन्।

उनले एएफपीसँग भनेका छन्, ‘तपाईंहरूले हेर्दै जानुपर्नेछ।’

अमेरिका-इरान युद्धविराम भए पनि लेबनानमा भने युद्ध रोकिएको छैन। हिजबुल्लाहले मंगलबार रातिदेखि कुनै आक्रमण नगरे पनि इजरायलले बुधबार लेबनानमा हवाई आक्रमण जारी राखेको छ।

प्रकाशित: २५ चैत्र २०८२ १५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App