२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी यानबाट फर्कंदै अमेरिकी अन्तरिक्षयात्री

झण्डै एक वर्ष अन्तरिक्षमा रहेका अमेरिकी अन्तरिक्षयात्री मार्क भान्डे हेई रुसी यानबाट पृथ्वीमा फर्कने तयारीमा छन्।

रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिकासँगको सम्बन्धमा तनाव आए पनि यो महिनाको अन्त्यमा अमेरिकी अन्तरिक्षयात्री हेई रुसी यानबाट फर्कने योजनामा कुनै परिवर्तन नभएको नासाले जनाएको छ।

युक्रेनमा आक्रमणपछि सहभागितात्मक अन्तरिक्ष उडान अवरुद्ध भएको र रुसी स्पेस एजेन्सीका प्रमुख डिमिट्री रोगोजिनले अमेरिकाविरुद्ध शाब्दिक युद्ध नै छेडेपछि अन्तरिक्षयात्रीको पृथ्वी फर्कने योजनासमेत प्रभावित हुने सम्भावना बढेको थियो। रोगोजिनको प्रतिकूल भनाइ सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनअन्तर्गत भएको विभिन्न देशको एक दशकको साझेदारी अभियानसमेत प्रभावित हुने अनुमान कतिपयले गरेका थिए।

अमेरिकी अन्तरिक्षयात्री हेई तीन सय ४० दिनदेखि अन्तरिक्षमा छन्। उनी दुई रुसी अन्तरिक्षयात्रीसँगै रुसी अन्तरिक्षयान सोयुजबाट मार्च ३० मा काजाकास्तनमा उत्रने तयारी छ। त्यतिबेलासम्म हेईले अन्तरिक्षमा ३५५ दिन बिताएका हुनेछन्, जुन अमेरिकी अन्तरिक्षयात्रीका लागि नयाँ रेकर्ड हुनेछ। यसअघि नासाका सेवानिवृत्त अन्तरिक्षयात्री स्कट केलीले अन्तरिक्षमा सबैभन्दा बढी समय बिताएका थिए। रुसी अन्तरिक्षयात्रीले भने सबैभन्दा बढी ४३८ दिन अन्तरिक्षमा बिताएको रेकर्ड रुससँग छ।

पृथ्वीमा अमेरिका र रुसबीच तनाव भए पनि अन्तरिक्षमा दुवै शक्ति एक ठाँउमा हुन सक्ने स्कट केलीले बताए। ‘ऐतिहासिक रुपमा मित्रवत् नरहेका यी दुई देश अन्तरिक्षमा शान्तिपूर्वक काम गर्न सक्छन् भन्ने उदाहरण देखाउन आवश्यक छ। हामीले यसका लागि काम गर्नुपर्छ,’ केलीले भने। नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनलाई सन् २०३० सम्म जारी राख्न चाहन्छ। युरोपियन युनियन, जापान र क्यानडाको पनि यही चाहना छ तर रुसले सन् २०२४ पछिको अवधिका लागि कुनै प्रतिबद्धता व्यक्त गरेको छैन।

सन् २०२० मा स्पेस एक्स प्रक्षेपण गर्नुअघि अमेरिकाले प्रतिसिट लाखौं अमेरिकी डलर तिरेर रुसी सोयुज अन्तरिक्षयानका क्याप्सुल प्रयोग गदैं आएको थियो। यी दुई देशले वस्तु विनिमय प्रणालीझै एक अर्काका अन्तरिक्ष यात्रुलाई सहयोग उपलब्ध गराउदै आएका छन्। ५५ वर्षीय अमेरिकी अन्तरिक्ष यात्री हेई गत अप्रिलमा दुई रुसीसँगै काजाकास्तानबाट अन्तरिक्षतर्फ उडेका थिए।

प्रकाशित: ३ चैत्र २०७८ ०१:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App