३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बच्चा हुर्काउन अमेरिका र जापान भन्दा चीनमा महँगो

चीनमा एक बच्चा हुर्काउन चीनको प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादनको तुलनामा सात गुणा बढी खर्च लाग्ने र यो खर्च अमेरिका र जापान भन्दा महँगो रहेको नयाँ अध्ययनले देखाएको छ। चीनको जन्मदरमा तीव्र हिसाबमा देखिएको ह्रास रोक्न चिनियाँ नीति निर्माताका लागि ठूलो चुनौती देखिएको छ।

चीनमा वृद्धवृद्धाको बढ्दो जनसंख्याले एकातिर स्वास्थ्य तथा सामाजिक सुरक्षाका लागि ठूलो खर्च लाग्ने र अर्काेतिर काम गर्ने जनसंख्याको घट्दो अनुपातले चीनको अर्थतन्त्रसमेत आगामी दशकमा प्रभावित हुन देखिएको छ। चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो।

चीनको नयाँ नीतिले तीनजना बालवच्चा जन्माउन अनुमति दिए पनि सन् २०२१ मा चीनको एक हजार जनसंख्यामा जन्मदर ७.५२ मात्र रहेको छ। यो चीनको सर्वाधिक कम जन्म दर हो। चीनले सन् १९४९ देखि जन्मदरको तथ्यांक रेकर्ड राख्न सुरु गरेको थियो।

बच्चा हुर्काउन लाग्ने अत्यधिक महँगो खर्चका कारण बेइजिङले बालवालिकालाई निजी ट्युसनका राख्न नपाइने व्यवस्था लागु गरेको छ र यसलाई सख्त निगरानी गरेको छ। चीनका कतिपय क्षेत्रले दोस्रो र तेस्रो बच्चा जन्माउने जोडीलाई नगद सहयोग गर्दै आएका छन्।

बेइजिङमा रहेको युवा पपुलेसन रिसर्च इन्सिच्युटले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार चीनमा एक बच्चालाई १८ वर्षसम्म हुर्काउन ७६ हजार ६ सय २९ अमेरिकी डलर खर्च लाग्ने देखिएको छ।

चीनको सन् २०१९ को प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादनभन्दा यो खर्च ६.९ गुणाले बढी हो। बच्चा हुर्काउन लाग्ने खर्चसम्बन्धी अध्ययनमा समावेश गरिएका १३ विभिन्न राष्ट्रमध्ये चीन दोस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा दक्षिण कोरिया रहेको छ। विश्वमा अत्यन्त कम जन्म दर रहेको राष्ट्रमा दक्षिण कोरिया पर्दछ।

सन् २०१५ को तथ्यांकको आधारमा अमेरिकामा एक बच्चा हुर्काउदा त्यहाँको प्रतिव्यक्ति कुलग्राहस्थ उत्पादन भन्दा ४.११ गुणा बढी खर्च लाग्ने देखिएको छ। यसैगरी, सन् २०१०को तथ्यांकको आधारमा जापानमा यो खर्च ४.२६ गुणाले बढी पाइएको छ।

बेइजिङ र साङ्घाई जस्ता चीनका प्रमुख सहरमा यो खर्च झन् बढी देखिएको छ। यी सहरमा राष्ट्रिय दर भन्दा कम जन्म दर छ।

चीनको लोकप्रिय रहेको सामाजिक सञ्जाल वाइबोमा आफ्नो प्रतिक्रिया दिँदै मनिङ नाम गरेकी एक आमाले बच्चा हुर्काउने खर्च प्रतिवेदनले औंल्याएको भन्दा झन् बढी रहेको बताइन्।

‘यो तथ्याकले दोस्रो र तेस्रो बच्चा जन्माउन कसैले आट नगर्ने देखाएको छ,’ उनले भनेकी छिन्। अनुसन्धान संस्था युवाले घट्दो प्रजनन दरले चीनको आर्थिक विकासको सम्भावनालाई नराम्ररी प्रभावित पार्ने र चीनको लोककल्याणकारी खर्च बढाउने बताएको छ। साथै चीनको नवीनताको खोजी गर्ने क्षमतालाई समेत प्रभाव पार्ने उसको राय छ।

प्रतिवेदनले चीनले आफ्नो वार्षिक कुल ग्राहस्थ उत्पादनको ५ प्रतिशत बच्चा जन्माउन प्रोत्साहन गर्नेमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याएको छ। यसअन्तर्गत शिक्षामा सहुलियत, क्रृण सहुलियत, करमा छुट, बच्चा जन्मदा दिइने बिदामा सहुलियत तथा थप चाइल्ड केयर सेन्टरका स्थापना गर्नुपर्ने प्रतिवेदनको सुझाव छ।

यो सन्दर्भमा सामाजिक सञ्जाल वाइबोका अर्काे प्रयोगकर्ता झाङले बच्चा हुर्काउँदा महिलालाई अत्यधिक पर्ने भारलाई घटाउन पर्ने सुझाव दिएका छन्। ‘बच्चा जन्माउदा लाग्ने अत्यधिक खर्च महिलाले बेहोर्न पर्ने स्थितिको अन्त्य हुनुपर्छ,’ ती प्रयोककर्ता भन्छन्।

प्रकाशित: १३ फाल्गुन २०७८ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App