६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मानिसमा पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण

मुटुका गम्भीर बिरामी ५७ वर्षीय पुरुषमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मटु प्रत्यारोपण गरिएको छ। यो सफलताले लाखौं बिरामीमा आशा सञ्चार गरेको छ। मानिसमा सुँगुरको मुटु सफल प्रत्यारोपण गरिएको यो पहिलोपटक हो।

यो शल्यक्रिया गर्न चिकित्सकलाई ८ घण्टा लागेको थियो। अमेरिकाको बाल्टिमोरमा गत शुक्रबार सुँगुरको मुटु प्रत्यारोपण गरिएका डेबिड बेनेट अहिले स्वस्थ रहेको युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका चिकित्सकले बताएका छन्।

‘यो मुटुले धड्कन र रक्तचाप सिर्जना गरेको छ। यो उनको मुटु हो,’ शल्यक्रियामा संलग्न चिकित्सक डा. वार्टले ग्रिफिथले भने, ‘प्रत्यारोपण गरिएको मुटुले काम गरेको छ। यो सामान्य देखिएको छ। हामी अत्यन्त खुसी छौं तर भोलि के हुन्छ भन्ने हामीलाई थाहा छैन। किनभने यस्तो प्रत्यारोपण यसअघि कहिल्यै भएको थिएन’।

गत वर्षमात्र अमेरिकामा ४१ हजार ४४ जनाले प्रत्यारोपण गरिएको अंग प्राप्त गरेका थिए। जसमध्ये आधाले मिर्गौला प्रत्यारोपण गरेका थिए। प्रत्यारोपण गर्न आवश्यक अंग पाउन गाह्रो छ। प्रत्यारोपणका लागि आवश्यक अंग नपाउँदा अमेरिकामा हरेक दिन १२ जनाको मृत्यु हुने गरेको छ। गत वर्ष अमेरिकामा ३ हजार ८१७ जनाले मानव मुटु प्रत्यारोपण गरेका थिए। मुटुको माग बढ्दो छ।

मानिसको शरीरले अस्वीकार नगर्ने सुँगुरको मुटु बनाउन वैज्ञानिकले पछिल्ला केही वर्षदेखि अथक प्रयास गर्दै आएका थिए। यसका लागि सुँगुरमा आनुवंशिक सम्पादन र क्लोनिङ प्रविधिको मद्दत लिइएको थियो। केही महिनाअघि न्युयोर्कमा चिकित्सकले आनुवंशिक रूपमा परिवर्तन गरिएको सुुगुरको मिर्गाैला एक ‘व्रेन डेथ’ भएका बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरेका थिए।

मानिसमा सँुगुरको मुटु प्रत्यारोपण गरिएपछि यसले औषधि विज्ञानमा पनि नयाँ अध्याय थप्ने अनुसन्धानकर्ताको अपेक्षा छ। यो प्रत्यारोपणले मुटु, मिर्गाैला र अन्य अंग प्रत्यारोपणको प्रतीक्षामा रहेका ५ लाखभन्दा बढी अमेरिकीमा आशाको सञ्चार गराएको छ। ‘यो अत्यन्त महत्वपूर्ण उपलब्धि हो,’ अमेरिकाको युनाइटेड नेटवर्क अफ अर्गान सेयरिङका प्रमुख मेडिकल अधिकृत तथा ट्रान्सप्लान्ट फिजिसियन डा. डेविड क्लासेनले भने।

तर यस्तो प्रत्यारोपण समस्यामुक्त नहुने र सफलतापूर्वक प्रत्यारोपण गरिएको मिर्गौलालाई पनि केही समयपछि शरीरले अस्वीकार गर्न सक्ने देखिएको क्लासेनको कथन छ। ‘यस्तो सफलताको सञ्चारमाध्यममा व्यापक प्रचारप्रसार हुन्छ तर यस प्रकारका थेरापी परिपक्व हुन समय लाग्छ,’ उनले भनेका छन्।

मृत्यको संघारमा पुगेका बेनेट प्रयोगात्मक उपचार (सुँगुरको मुटु प्रत्यारोपण) का लागि तयार भएका थिए। बेनेट मानव मुटु प्रत्यारोपण थेग्न नसक्ने अवस्थामा थिए। अन्य उपचारले पनि केही काम नगर्ने स्थितिमा उनी पुगेका थिए। बेनेटको अवस्था आगामी दिनमा कस्तो हुनेछ भन्ने अझै प्रस्ट छैन। उनी अहिले पनि मुटु र फोक्सो जोड्ने बाइपास मेसिनको सहारामा छन्। तर प्रत्यारोपण गरिएको नयाँ मुटुले काम गरेका कारण एकदुई दिनभित्रै बेनेटलाई यो मेसिनबाट बाहिर निकाल्ने तयारी छ।

अपरेसनपछि महत्वपूर्ण मानिने ४८ घण्टामा कुनै समस्या नदेखिएका कारण चिकित्सक आशावादी बनेका छन्। सुँगुरबाट सर्ने पोरसाइन रेट्रोभाइरसलगायतका अन्य रोगको संक्रमण हुनसक्ने सम्भावनाको नियमित अनुगमन भइरहेको चिकित्सकले बताएका छन्। तर यसप्रकारको जोखिम कम रहेको बताइएको छ। ‘गर या मरको अवस्थामा म थिएँ,’ बेनेटले प्रत्यारोपण गर्नुअघि भनेका थिए, ‘म बाँच्न चाहन्छु। मलाई थाहा छ। यो अँध्यारोमा ढुंगा हानेजस्तै हो तर यो मेरो लागि अन्तिम अवसर हुनेछ।’

अन्य जनावरको अंग अथवा तन्तु मानिसमा प्रत्यारोपण गर्ने विधि अर्थात् जेनोट्रान्सप्लान्टेसनको इतिहास लामो छ। मानिसमा जनावरको रगत र छालाको प्रयोग सयौं वर्षदेखि हुँदै आएको छ।

सन् १९६० मा चिम्पान्जीको मिर्गाैला केही बिरामी मानिसमा प्रत्यारोपण गरिएको थियो। तर प्रत्यारोपण गरिएका बिरामी ९ महिनाभन्दा बढी समयसम्म बाँचेनन्। सन् १९८३ मा बेबुनको मुटु एक किशोरीमा प्रत्यारोपण गरिएको थियो। त्यसको २० दिनपछि ती किशोरीको मृत्यु भएको थियो।

तर प्राइमेट्सभन्दा सुँगुरको अंग लिँदा तुलनात्मक रुपमा सहज हुने देखिएको छ। प्राइमेट्सलाई भन्दा सुँगुरलाई पाल्न र हुर्काउन सजिलो हुन्छ। सुँगुर ६ महिनामै प्रौढ हुन्छ। सुँगुरको मुटुको भल्भ मानिसमा यसअघि प्रयोग भएको छ। चिनी रोगका बिरामीको उपचारमा सुँगुरको अग्नाशय (प्याङक्रियाज) का कोषिका प्रयोग गरिएको छ। मानिसको छाला जलेमा उपचारका लागि सँुगुरको छाला ग्राफ्ट गरिँदै आएको छ।

जिन इडिटिङ (आनुवंसिक परिवर्तन) र क्लोनिङ जस्ता प्रविधिको उपयोगले आनुवंसिक रुपमा परिवर्तित गरिएका सुँगुरको अंग मानिसले अस्वीकार गर्ने सम्भावना कम देखिएको छ। सुँगुरको मुटु बेबुनमा सफलतापूर्वक प्रत्यारोपण भैसकेको छ। बेनेटमा मुटु प्रत्यारोपण गरिएको सुँगुरमा १० थरी आनुवंसिक परिवर्तन गरिएको थियो। त्यो सुँगुरको चारवटा जिन फालिएको अथवा निष्क्रिय पारिएको थियो। त्यस्तै त्यो सुँगुरमा ६ थरी मानव जिन राखिएको थियो।

–न्युयोर्क टाइम्स

प्रकाशित: २८ पुस २०७८ ००:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App