१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किन चीन निरन्तर अगाडि बढ्दै छ?

समृद्धि र विकासका यात्रामा विगत ४ दशकमा चीनले उल्लेखनीय सफलता हासिल गरेको छ। चीनको यो उकालो यात्रा हालसम्म पनि निरन्तर जारी छ। तर राजनीतिक कारण र कोरोना भाइरसले अमेरिकालगायत विश्वका धेरै देशले राष्ट्रवादी नीति अख्तियार गर्नेतर्फ दबाब रहेकाले महामारीपछिका आगामी दिनमा विश्वव्यापीकरणको सुखद् दिनलाई राष्ट्रिय सुरक्षा र सीमा नियन्त्रणमा दिइने प्राथमिकताले प्रतिस्थापन गर्नसक्ने देखिएको छ।

यो परिदृश्य चीनका लागि सुखद होइन किनभने पछिल्ला वर्षमा विश्व समुदायले अंगिकार गरेको आर्थिक खुलापनलाई निरन्तरता देओस् भन्ने चाहना चीनको छ। त्यही कारणले चीनले आफ्ना आर्थिक तथा व्यापारिक गतिविधिलाई अन्तर्राष्ट्रिय नियम तथा कानुन अनुरूप बनाउन मेहनत गरेको छ। तर विश्वमा देखिएका पछिल्ला विकासक्रमले भविष्यमा आउनसक्ने व्यापार अवरोध र निषेधलाई सम्बोधन गर्न चीन तयार रहन पर्ने देखिएको छ।

यही उद्देश्यका लागि चीनले आफ्नो १४ औं पञ्चवर्षीय विकास योजनामा बाह्य मागमा आधारित अर्थतन्त्रलाई परिवर्तन गर्न चाहेको छ। चीनले उक्त योजनालाई सफल पार्ने आधारको रूपमा आफ्नो जनसंख्यालाई लिएको छ। यसैगरी चीनले अर्टिफिसियल इन्टलिजेन्स, सेमिकन्डक्टर तथा प्रविधिजन्य उद्योग जस्ता तुलनात्मक लाभका क्षेत्रमा अत्यधिक लगानी गर्न चाहेको छ।

चीनले आन्तरिक रूपमा टेक्नोलोजी कम्पनी तथा पूँजी बजारमा राज्य नियन्त्रण गर्न खोजेका कारण वाह्य विश्वले शंकाको नजरले हेरेको छ। यही कारणले चीन बजार अर्थतन्त्रभन्दा सामरिक उद्देश्य पूरा गर्नेतर्फ बढी केन्द्रित रहेको आरोप बाह्य बिश्वको छ। कतिपयले देङज्याओ पिङले अख्तियार गरेको सुधार तथा खुलापन (रिफर्म एण्ड ओपनिङ अप)को नीतिबाट चीन विमुख हुन सक्ने आँकलन गरेका छन्।

त्यसो त यस प्रकारका आशंका अतिरन्जित पनि छन्। चीन राज्य नियन्त्रण र एक्लोपनमा आधारित अर्थतन्त्रमा फर्कन सक्ने र सम्भावना कम छ। बरु बाह्य विश्वका कारण सिर्जना भएको प्रतिकूल वातावरणका कारण चीनले अर्थतन्त्रमा राज्यको अधिक भूमिका खोजेको र आफूलाई आत्मनिर्भर पार्न उद्यत् रहेको भनेर बुझ्न आवश्यक छ। पछिल्ला वर्षमा अमेरिका र चीनबीचको सम्बन्ध बिग्रेको भए ठूलो जनसंख्याका कारण चीनले यस प्रकारको नीति अख्तियार गर्न सक्थ्यो। 

आफ्नै देशभित्र रहेको ठूलो आन्तरिक बजारको सम्भावनालाई दृष्टिगत गरेर चिनियाँ नेतृत्वले सकेसम्म बाह्यभन्दा आन्तरिक माग बढाउन चाहेका छन्। प्रविधिको क्षेत्रमा भएको नवीनताले जनसंख्याको ठूलो तप्काले उच्च प्रतिफल लिनसक्ने देखिएको छ। विश्वव्यापीकरणको यात्रामा अवरोध रहँदा पनि चीनले हासिल गर्नसक्ने फाइदा झन् अत्यधिक छन्। उदाहरणका लागि सन् २०१८ मा प्रकाशित एक अध्ययन प्रतिवेदनले विश्वमा व्यापार तथा बसाइ सराइँमा अवरोधको स्थिति सिर्जना हुँदा अत्यधिक जनसंख्या भएका देशले आन्तरिक व्यापार तथा विशिष्टताका कारण झन् धेरै आर्थिक प्रगति गर्नसक्ने देखाएको छ।

संसारका सबैभन्दा धेरै जनसंख्या भएका देश बसाइ सराइँका कारणअहिले सबैभन्दा धनी नभएको तर्क उक्त अध्ययन प्रतिवेदनका लेखकको छ। तर बसाइ सराइँमा थप अवरोध सिर्जना भएमा नवीनताको हिसाबले साना तथा धनी राष्ट्रलाई धेरै जनसंख्या भएका राष्ट्रले उछिन्ने तर्क उक्त अध्ययनको छ।

यो प्रसंगमा महत्त्वपूर्ण पक्ष के हो भने प्रविधिमा हुने सुधारले दिर्घकालीन आर्थिक अभिवृद्धिलाई सहयोग पुग्दछ र अन्तत यसले अत्यधिक जनसंख्या भएका राष्ट्रलाई फाइदा पुग्दछ। पछिल्ला वर्षमा आफैंतिर फर्कने (टर्न इनवार्ड)नीतिले अमेरिकालाई घाटा भए पनि बसाइ सराइँ र विश्वव्यापीकरणका कारण अमेरिकाले सफलता हासिल गरेको हो।

सन् २०२० मा चीनको जन्मदर अत्यधिक कम रहेकाले चीनको जनसांख्यिक अनुपात गढबढ हुनसक्ने देखिएको छ। जन्मदरमा आएको यो ह्रासको परिणाम केही दशकमा देखिनेछ। चीनको हालको जनसांख्यिक अनुपात अमेरिकाको भन्दा राम्रो छ र यही कारणले आगामी २० वर्षसम्ममा मानवपुँजी (ह्युमान क्यापिटल)का हिसाबले चीनलाई समस्या छैन।

आफ्ना तुलनात्मक लाभलाई सही उपयोग गर्नसकेमा आगमी वर्षमा चीनको आर्थिक वृद्धि अपेक्षित रहनेछ र यस विषयमा गरिएका विभिन्न आर्थिक प्रक्षेपणले पनि त्यही देखाएका छन्। अमेरिकाले चाहे पनि चीनको आर्थिक वृद्धिको अभियानलाई नोक्सान गर्न कठिन छ। त्यसैले चीनका महत्त्वाकांक्षाको विरोधमा उत्रनुभन्दा अमेरिकाले आफ्ना राष्ट्रिय सुरक्षा रणनीतिलाई पुनर्विचार गरेर स्रोत र साधनको अत्यधिक उपभोग विज्ञान तथा प्रविधिको क्षेत्रमा गर्न आवश्यक छ। त्यसो गर्दा सिर्जना हुनसक्ने अनपेक्षित परिदृश्य के हुन सक्छ भने विश्वका यी दुई देशले आ–आफ्नो प्रविधि आपूर्ति प्रणालीमा आधिपत्य जमाउन खोज्दा आफैंलाई  अनुकूल नीति तथा मानक तयार गर्नसक्ने प्रखर सम्भावना देखिएको छ। तर दूरदृष्टि राख्ने नेतृत्वले सँगै मिलेर काम गर्दा दुवैलाई फाइदा हुनसक्ने सम्भावनालाई प्राथमिकता दिन जरुरी छ। चीनको अग्रगामी यात्राले अमेरिकालाई पनि नयाँ सम्भावनाको ढोका खोल्दछ। विश्वव्यापीकरणको पछाडि हट्दा जनसंख्याका हिसाबले चीनलाई फाइदा हुनसक्छ तर चीनले अमेरिकासहित समृद्ध अर्थतन्त्र भएका मुलुकको अनुभवबाट पनि सिक्न आवश्यक छ।

चीन विकासोन्मुख राष्ट्र हो र यसको सरदर प्रतिव्यक्ति आय धनी राष्ट्रको तुलनामा एकचौथाइ मात्र छ। समग्रमा भन्नुपर्दा अत्यधिक जनसंख्या भएका देशको आन्तरिक बजार महत्त्वपूर्ण हो तर यसले विश्व बजारमा पहुँचलाई प्रतिस्थापनगर्न सक्दैन। यसैगरी ज्ञान र विचारको साझेदारीताले प्रविधिगत प्रगतिले झन् ठूलो फड्को मार्न सक्छ।

त्यसैले खुला र विकेन्द्रित आर्थिक व्यवस्थाले बजारमा आधारित गतिविधिलाई प्रोत्साहन मिल्दछ र अन्तत यसले नविनतामा आधारित व्यावसायीकरणलाई सहयोग पुग्दछ। प्रष्टके छ भने, खुला विश्व आर्थिक व्यवस्थाले चीनलाई बढी फाइदा हुन्छ। चीनका नेताले बजारमा आधारित विकासलाई प्राथमिकता दिएका छन् र बन्द आर्थिक मोडलतर्फ फर्कने चाहेको देखिँदैन। यस्तो अवस्थामा चीनले अन्यथा गर्ला भनेर विश्वास गर्नसक्ने आधार देखिँदैन। 

(प्रोजेक्ट सिण्डिकेट)

लेखक जुन सांघाईमा रहेको चाइना सेन्टर फर इकोनोमिक स्टडिजका निर्देशक तथा फुडान विश्वविद्यालयअन्तर्गतको स्कुल अफ् इकोनोमिक्सका डिन हुन्। 

प्रकाशित: ५ पुस २०७८ ०६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App