२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भियतनाममा भेटियो हावाबाट पनि सर्ने नयाँ कोरोना भेरियन्ट

एकजनाबाट अर्काेमा छिटो सर्ने मानिएको इन्डियन र यूके भेरियन्टको मिश्रणबाट बनेको र हावाबाट पनि सर्न सक्ने कोरोना भाइरसको नयाँ भेरियन्ट भियतनाममा देखिएको छ। भियतनामका अधिकारीले शनिबार जानकारी दिएअनुसार यो नयाँ भेरियन्ट(प्रजाति)मा भारतमा भेटिएको भेरियन्ट र बेलायतमा भेटिएको भेरियन्ट दुवैका गुण रहेका छन। गत वर्ष महामारीको पहिलो लहर नियन्त्रण गर्न सफल रहेको भियतनाममा गत अप्रिलदेखि भाइरस संक्रमण तीव्र देखिएको छ।

‘नयाँ यो भेरियन्ट सुरुमा बेलायतमा देखिएको भेरियन्टबाट उत्परिवर्तन (म्युटेसन) भएर बनेको इन्डियन भेरियन्ट हो र यो भाइरस अत्यधिक खतरनाक देखिएको छ,’ भियतनामका स्वास्थ्यमन्त्री न्युगेन थान्च लङले एक सरकारी बैठकमा भनेका छन। दक्षिणपूर्वी एसियामा रहेको यो देशमा यसअघि ४ किसिमका युके भेरियन्ट ३ किसिमका इन्डियन भेरियन्ट रेकर्ड भएको थियो। स्वास्थ्यमन्त्री लङले यसअघिका भेरियन्टभन्दा अत्यधिक सर्नसक्ने क्षमता राख्ने यो नयाँ भेरियन्टको अनुवाशिंक डाटा छिट्टै प्रकाशन गरिने पनि बताए। विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले हालसम्म कोभिड–१९का ४ किसिमका भेरियन्टलाई चिन्ताजनक भेरियन्ट (भेरियन्ट अफ ग्लोबल कन्सर्न) भनेको छ। ती भेरियन्टहरू सुरुमा भारत, बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा देखिएका हुन। 

डब्लुएचओको कोभिड–१९ हेर्ने टेक्निकल लिड मारिया भान कर्काेभाले भियतनाममा देखिएको भेरियन्टको समिक्षा भइनसकेको तर डब्लुएचओको भियतनाम कार्यलयले यस विषयमा त्यहाँको स्वास्थ्य मन्त्रालयसँग मिलेर अनुसन्धान अघि बढाएको बताएकी छन। ‘इन्डियन भेरियन्ट (बी.१.६१७.२)मा थप उत्परिवर्तन भएर यो भेरियन्ट बनेको हुनसक्छ,’ उनले भनिन। उनले यो भेरियन्टका बारेमा अध्ययनपश्चात थप जानकारी उपलब्ध गराइने पनि बताइन।

यसैगरी उनले यो भाइरसको प्रयोगशालमा कल्चर गर्दा यस्ले तीव्र रूपमा आफनो नयाँ प्रतिकृति बनाउन सफल रहेको देखिएको र यही कारणले भियतनामका धेरै स्थानमा छोटोसमयमा यस्को प्रसार भएको पनि बताइन। कुल ९ करोड ८० लाख जनसंख्या रहेको भियतनाममा हालसम्म २९ लाखले खोप लगाएका छन। 

प्रकाशित: १७ जेष्ठ २०७८ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App