चीनले पठाएको एउटा यानले रातो मंगलग्रहमा अवतरण गरेको छ। चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले शनिबार बिहान चीनको एउटा रोबोट मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको छ। राष्ट्रपति सी चिनफिङले चिनियाँ वैज्ञानिकहरुको सफलताका लागि शुभकामना दिएका छन्।
चीनले पृथ्वीबाहेक कुनै ग्रह वा उपग्रहमा पहिलो पटक आफूले विकास गरेको यान अवतरण गराएको छ।
सीएनएसएका प्रमुख झाङ केजियानले चिनियाँ अन्तरिक्ष नियन्त्रण केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा मंगल खोज अभियान पूर्ण सफल भएको घोषणा गरेका थिए। रोबोट मंगलग्रहको सतहमा अवतरण गरेको जानकारी प्राप्त हुनासाथ नियन्त्रण कक्षमा खुशी र उमङ्ग छाएको थियो।
उनले चीनको अन्तरिक्ष खोजका लागि यो एउटा अर्को महत्वपूर्ण कोशेढुङ्गा रहेको बताए।
तियानवेन–१ नामको यान मार्फत पठाइएको झुरोङ मंगलग्रहको दक्षिणी युटोपिया प्लानिटियामा अवतरण गरेको थियो। बेइजिङ समय अनुसार बिहान ७ बजेर १८ मिनेटमा अवतरण गरेको नियन्त्रण कक्षले जनाएको छ।
मंगलग्रहमा अवतरण गरेपश्चात् उक्त रोबोटले विस्तारै सोलार प्यानल र एन्टेना खोलेको र त्यसपछि सिग्नल पठाउन थालेको थियो। पृथ्वीबाट मंगलग्रहबीचको दूरी ३२ करोड किलोमिटर टाढा रहेकाले समय अन्तराल १७ मिनेट रहेको छ।
तियानवेन–१ गत जुलाई २३, २०२० मा दक्षिणी चीनको हैनानबाट प्रक्षेपण गरिएको थियो। यसमा एउटा अर्बिटर, ल्यान्डर र रोभर (रोबोट) रहेको थियो। छ पाङ्ग्रा भएको झुरोङ नामको यस रोबोटको तौल २० केजी छ, र यसको आयु करिब तीन महिना हुने चिनियाँ वैज्ञानिकहरुले बताएका छन्।
मंगलग्रहमा यसअघि अमेरिकाले एउटा यान यसैवर्ष अवतरण गराएको थियो। विश्वमै चीन मंगलग्रहमा यान पठाउने दोस्रो देश भएको छ। यसअघि भारतले गरेको प्रयास अन्तिम समयमा असफल भएको थियो।
प्रकाशित: १ जेष्ठ २०७८ ०९:०३ शनिबार