८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

फाइजरको कोरोना खोप ९० प्रतिशत सफल

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसविरुद्ध आफूले बनाइरहेको खोप ९० प्रतिशत प्रभावकारी देखिएको सोमबार जनाएको छ। कम्पनीका अनुसार विश्वका ६ देशका ४३ हजार मानिसमा खोप परीक्षण गरिएको थियो। जर्मन कम्पनी बायोएन टेकसँगको सहकार्यमा अमेरिकी कम्पनी फाइजरले बनाइरहेको खोपको औपचारिक अनुमोदनका लागि नोभेम्बर अन्त्यसम्म सम्बन्धित निकायमा निवेदन दिने बताइएको छ। औषधि निर्माता यी दुई कम्पनीले खोपको यो विकास र प्रभावकारितालाई ‘विज्ञान र मानवताका लागि’ सबैभन्दा महŒवपूर्ण भनेका छन्।

परीक्षणअन्तर्गत अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा तीन साताको फरकमा खोपको २ डोज लगाइएको थियो। अन्तरिम समीक्षा नतिजाले खोपको दोस्रो डोज (मात्रा) लगाएको ७ दिनपछि गरिएको परीक्षणमा यो खोपले भाइरसबाट ९० प्रतिशत सुरक्षा दिएको पाइएको छ। फाइजरले डिसेम्बर अन्त्यसम्म ५ करोड डोज आपूर्ति गर्ने र २०२१ को अन्त्यसम्मा १ अर्ब ३० करोड डोज आपूर्ति गर्ने बताएको छ।

यो खोपलाई अत्यन्त चिसो तापक्रम (माइनस ८० डिग्री सेल्सियस) मा राख्नुपर्ने हँुदा व्यवहारिक चुनौती पनि छ। यसैगरी खोपको प्रभावकारिता कति लामो समयसम्म कायम रहला भन्ने प्रश्न पनि उठेको छ। उत्पादक कम्पनीले विभिन्न उमेर समूहमा यो खोप कति प्रभावकारी देखियो भन्ने खुलाएको छैन।

फाइजरका अध्यक्ष डा. अल्बर्ट बोर्लाले कोरोनाका कारण विश्वव्यापी रुपमा उत्पन्न स्वास्थ्य संकट सम्बोधन गर्न खोप सफलताको अत्यन्त नजिक पुगेको बताए। यसैगरी बायोएन टेकका संस्थापकमध्येका एक प्रोफेसर उगुर साहिनले खोपको यो नजितालाई ‘माइलस्टोन’ भनेका छन्। उपलब्ध नतिजा अन्तिम भने होइन।

अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर पिटर हर्बिले यो समाचारले आफूलाई अत्यन्त हर्षित बनाएको बताएका छन्। ‘यो ठूलो राहत हो, खोपले वास्तविक रुपमा पार्ने असरका लागि अझै केही समय कुर्नुपर्ला तर यो आफंैमा ऐतिहासिक क्षण हो,’ उनले भने।

प्रकाशित: २५ कार्तिक २०७७ ०१:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App