५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चार दिनको उपचारपछि ह्वाईट हाउस फिर्ता

कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएका छन्।

उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गत शुक्रबार गरिएको थियो। त्यसपछि लगत्तै उनी सैनिक अस्पतालमा भर्ना भएका थिए।

उनी अस्पतालबाट निवास फर्किएपनि उनको उपचार भने निवासबाटै जारी रहने अधिकारीहरूले जनाएका छन्। 

आफ्नो स्वास्थ्य अवस्थामा धेरै सुधार आएको ७४ बर्षीय ट्रम्पले बताएका छन्। उनले चाडै नै आफु सार्वजनिक रुपमा निर्वाचनको काममा लाग्ने पनि जानकारी दिएका छन्।

अमेरिकामा आगामी नोभेम्बर २९ तारिखमा राष्ट्रपतिय निर्वाचन हुन लागेको छ भने ट्रम्प पनि प्रतिस्पर्धामा छन्।

अस्पतालबाट ह्वाइट हाउस उनी हेलिकोप्टरमार्फत् गएका थिए। उनी अस्पताल जादाँ पनि हेलिकोप्टरमै गएका थिए।

ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक भने नभइसकेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। उनीहरुका अनुसार ट्रम्पको अवस्था निवासमा फर्कन मिल्ने खालको रहेको र निवासमा रहँदा पनि उनलाई २४ नै घन्टा उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने व्यवस्था गरिएको छ।

ह्वाइट हाउस पुगेपछि उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्– ‘मिथ्या समाचारले मिथ्या चुनावी सर्वेक्षण मात्र देखाइरहेका छन्।’

उनले कारोनाबाट डराउनु पर्ने आवश्यकता नरहेकोमा फेरी पनि जोड दिएका छन्। उनले यसअघि पनि कोरोनालाई सामान्य रुपमा लिन आह्वान गर्दै आएका थिए।

उनलाई शुक्रबार राति वाल्टर रिड नेशनल सैनिक अस्पताल लगिएको थियो। अस्पतालमा उनलाई थेरापीलगायतका उपचारका उपायहरु अपनाइएको छ।

उनी बिहीबार मध्यान्ह एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि सङ्क्रमित भएको बताइएको छ। उनीसँगै उनकी पत्नी मेलानिया पनि सङ्क्रमित चएकी छन्। राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमतीको पनि अवस्था सामान्य नै रहेको जानकारी दिएका छन्।

त्यसैगरी ह्वाइट हाउसका अन्य कम्तीमा १२ जना कर्मचारी तथा सहयोगीहरुलाई पनि सङ्क्रमण देखिएको जनाइएको छ।

विश्वमै सवैभन्दा धेरै मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित रहेको मुलुक अमेरिकामा अहिलेसम्म दुई लाख १५ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ।  

अमेरिकामा अहिलेसम्म ७६ लाख ७९ हजार ६४४ भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

प्रकाशित: २० आश्विन २०७७ ०७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App