coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत र चीनका सेनाबीच फेरि झगडा, सीमामा कैयौं राउन्ड हवाई फायर

भारत र चीनका सेनाबीच दुई देशको सीमा पूर्वी लद्दाखमा फेरि झगडा परेको छ ।  

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुवै देशका सेनाले हवाई फायर गरेका हुन् ।  

दुवै देशले पहिले फायरिङ गरेको भन्दै एकअर्कालाई आरोप लगाएका छन् ।  

चिनियाँ सेनाले पहिले भारतीय सेनाले एलएसी अतिक्रमण गर्दै आफूहरूलाई तर्साउन हवाई फायर गरेको आरोप लगाएको छ भने भारतीय सेनाले पनि पहिले चिनियाँ सेनाले सहमति उल्लंघन गर्दै गोली चलाएको दाबी गरेको छ ।  

भारतीय सेनाले भनेको छ– ‘सेप्टेम्बर ७, सोमबार चिनियाँ सेना (पिएलए) का सैनिकले एलएसीमा भारततर्फ अघि बढ्ने प्रयास गरिहेका थिए, त्यसपछि हाम्रा सेनाले जब उनीहरूलाई भगाए, तब उनीहरूले कैयौं राउन्ड फायर गरेर तर्साउने कोसिस गरे ।’  

बिबिसी हिन्दीका अनुसार चिनियाँ सैनिकको यस्तो हर्कतमा पनि आफ्ना सैनिक संयमित र परिपक्व ढंगले प्रस्तुत भएको भारतको दाबी छ ।  

उता चीनले पनि सोमबार एलएसीमा तैनाथ भारतीय सैनिकले फेरि एकपटक गैरकानुनी ढंगले वास्तविक सीमा रेखा नाघ्दै चिनियाँ सैनिकलाई चेतावनी स्वरूप हवाई फायर गरेको आरोप लगाएको छ ।  

चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले चिनियाँ सेनाका प्रवक्ताको भनाइ उधृत गर्दै त्यसरी भारतले फायरिङ गरेपछि यताका सैनिक पनि जवाफी फायरिङ गर्न बाध्य भएको लेखेको छ ।  

चिनियाँ सेनाका प्रवक्ता सिनियर कर्नल जङ सियुलीले भनेका छन्, ‘भारतीय सैनिकले भारत–चीन सीमाको पश्चिमी भागमा पर्ने एलएसी नाघ्दै पङगोङ त्सो लेकको दक्षिणी किनारनजिक सेनपाओ पहाडी क्षेत्रमा घुसे ।’

चिनियाँ सेनाका अनुुसार भारतीय सेनाको यो कदम दुई पक्षबीच भएको सहमतिको गम्भीर उल्लंघन हो । जसले सीमा क्षेत्रमा तनाव बढाएको छ ।  

चिनियाँ सेनाका प्रवक्ताले यो सैनिक भड्काउने घृणित कदम भएको टिप्पणी गरेका छन् ।  

प्रवक्ताले भनेका छन्, ‘हामी भारतीय पक्षसँग माग गर्छाैं कि यस्तो खतरनाक हर्कत बन्द गर र आफ्ना सैनिकलाई एलएसी नाघेको ठाउँबाट तुरुन्त फिर्ता बोलाऊ । साथै घटनाको गम्भीर ढंगले छानबिन गर र आगामी दिनमा यस्ता घटना नहोस् ।’

एक हप्ताअघि पनि भारत र चीनका सेनाबीच झडप भएको थियो भने त्यसअघि गत जुन १५ मा हिंसात्मक भिडन्त हुँदा २० भारतीय सैनिक मारिएका थिए । त्यसपछि दुवै देशका सैनिकबीच सीमामा शान्ति कायम गर्ने सहमति भएको भनिए पनि फेरि तनाव सुरु भएको हो ।  

प्रकाशित: २३ भाद्र २०७७ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App