६ चैत्र २०८० मंगलबार
अन्तर्राष्ट्रिय

कोरोनाका कारण भारतमा १९६ डाक्टरको मृत्यु

इन्डियन मेडिकल एसोसिएसन (आइएएम) ले भारतमा कोरोना संक्रमणबाट १ सय ९६ डाक्टरले ज्यान गुमाइसकेको जनाएको छ ।  

आइएएमले पत्र पठाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस घटनाप्रति ध्यान दिन आग्रह गरेको छ । कोरोना महामारीमा डाक्टर असुरक्षामा परेकाप्रति चिन्ता व्यक्त गर्दै आइएएमले प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गराएको छ ।

पत्रमा भनिएको छ– ‘कोभिडका कारण डाक्टर संक्रमित हुने र ज्यान गुमाउने क्रम बढिरहेको छ । यसमा धेरै सामान्य चिकित्सक छन् । जोसँग जनताको ठूलो हिस्सालेरुघाखोकी र सम्बन्धित लक्षणबारे सल्लाह लिन्छन् । उनीहरू सम्पर्कको पहिलो माध्यम हुन् । अहिलेसम्म हामीले आफ्ना १९६ डाक्टर गुमाइसकेका छौं । सर, के कुरा उल्लेख गर्नु  उपयुक्त हुन्छ भने कोरोनाले सरकारी र निजी भनेर छुट्याउँदैन । आइएएमले देशभरका ३ लाख ५० हजार डाक्टरको प्रतिनिधित्व गर्छ ।’

पत्रमा डाक्टर र उनीहरूका परिवारका लागि अस्पतालमा बेड तथा कतिपय अवस्थामा औषधिसमेत नपाएको जस्ता विचलित बनाउने खबर पनि आइरहेको उल्लेख गरिएको छ । पत्रमा लेखिएको छ, ‘कोभिडबाट डाक्टरको मृत्यु हुने क्रम चिन्ताजनक रूपमा बढिरहेको छ ।’  

आइएएमले प्रधानमन्त्री मोदीलाई विशेष जोखिम समूहका डाक्टर तथा उनीहरूको परिवारलाई पर्याप्त स्वास्थ्य सुविधाको सुनिश्चित गर्न पनि आग्रह गरेका छन् । साथै उसले एक डाक्टरको ज्यान बचाउनु भनेको हजारौं मानिसको ज्यान बचाउनु हो भनेर पनि पत्रमा लेखेको छ ।  

प्रकाशित: २४ श्रावण २०७७ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App