२४ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेइजिङमा लकडाउन: विश्वका लागि ‘न्यू नर्मल’ संकेत

चीनको राजधानी बेइजिङमा हवाई उडान र विद्यालय यो साताको सुरुदेखि बन्द गरिएका छन्। कोरोना भाइरसका नयाँ संक्रमितहरू भेटिएपछि बेइजिङ आंशिक लकडाउनमा छ। यो सहरको अनुभवले विश्वका अन्य देशले अर्थतन्त्रलाई पुनः निरन्तरता दिँदा आइपर्ने चुनौतीलाई उजागर गरेको छ।  

लकडाउन खुला गरिएपछि चीनको अर्थतन्त्रले गति लिइसकेको थियो। यात्रुले रेल तथा जहाज भरिन थालिसकेका थिए। कम्युनिस्ट पार्टीका नेताहरूले कोराना भाइरसलाई परास्त गर्न सफल भएकोमा उत्सव मनाइरहेका थिए। गत शनिबारसम्म राजधानी बेइजिङमा भाइरस संक्रमणको एउटा पनि नयाँ केस थिएन। तर अहिले बेइजिङ कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा प्रवेश गरेको छ। यसले संक्रमण नियन्त्रणमा सफलता हात पारेका कुनै पनि मुलुकलाई कोरोनाले पुनः लपेटन सक्ने स्पष्ट सन्देश दिएको छ।

कोरोना संक्रमणको नयाँ लहर देखिएपछि दुई करोड १० लाख जनसंख्या रहेको बेइजिङले यसअघि देशभर कार्यान्वयनमा ल्याइएका नियन्त्रणमुखी र नियमनकारी उपायलाई सक्रिय पारेको छ। सयौं हवाई उडान रद्द गरिएका छन्। विद्यालयहरू बन्द गरिएका छन्। संक्रमण देखिएका क्षेत्रमा लकडाउन गरिएको छ। लकडाउनमा रहेका समुदायले सीमित मात्रामा मात्र खाद्यवस्तुको आपूर्ति भएको गुनासो गरेका छन्। त्यहाँका हजारौं मानिसमा भाइरस परीक्षण गरिएको छ।  

संक्रमित संख्याको हिसाबले यो त्यति धेरै नभएको चीनको काउन्सिल अफ फोरेन अफेयर्सका स्वास्थ सेवाविज्ञ याङजोङ हुयाङ बताउँछन्। ‘मैले यसअघि नै यस प्रकारको पुनः संक्रमण देखिन सक्ने र त्यो नै आगामी केही महिनाका लागि न्यू नर्मल हुने बताउँदै आएको थिएँ,’ उनी भन्छन्, ‘तर राजनीतिक र आर्थिक केन्द्रबिन्दु रहेको राजधानी सहरमा देखिएको यो संक्रमणको सांकेतिक अर्थ छ।’  

कोरोना भाइरस पुनः सक्रिय भएको उदाहरण चीन मात्र एक्लो होइन्। सिंगापुरमा आप्रवासी कामदारमा भाइरसको पुनः संक्रमण देखिएपछि त्यहाँं प्रभावकारी रोकथामको व्यवस्था गरिएको थियो। त्यस्तै अनुभव दक्षिण कोरियाको छ, जहाँ कडाखाले लकडाउन कार्यान्वयन नगर्दा संक्रमण पुनः देखिएको थियो। गत मंगलबार न्युजिल्यान्डमा बेलायतबाट फर्केका २ जनामा कोरोना पुुष्टि भएको थियो। न्युजिल्यान्डले त्यसको केही दिनअघि महामारी उन्मूलन भएको घोषणा गरेको थियो। अर्थतन्त्रलाई खुकुलो पारेका अमेरिकाका एरिजोना, फ्लोरिडा तथा टेक्सास राज्यमा एकैदिनमा संक्रमण ह्वात्तै बढेको थियो।  

निगरानीका उच्च प्रविधियुक्त .ंसंसाधन र अधिनायकवादी राज्य शक्ति हुँदाहँुदै पनि भाइरसले दैनिक जीवनलाई पुनः आक्रमण गरेर प्रभावित पार्न सक्ने र कडाखाले प्रतिबन्धहरू फेरि अवलम्बन गर्न सकिने भनेर स्थानीय चिन्तित छन्।  

केही स्थानीय यो समस्या गर्मी मौसममा पुनः दोहोरिने भयमा छन्। बुधबार बेइजिङ जाने रेल कुर्दै गरेका बिद्यार्थी बाओ जेनछिनले भने, ‘यो पुनः महामारीको अवस्था अत्यन्त चिन्ताजनक छ। मलाई लाग्छ यो आउने दिनमा झन् बढनेछ।’  

हुन त चीनमा देखिएको नयाँ संक्रमण बेइजिङमा मात्र सीमित रछ। त्यो पनि राजधानीको दक्षिणमा पर्ने छिनफादी थोक बजारमा बढी देखिएको छ। राजधानी सहरमा संक्रमणको अकस्मात विस्फोटले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वलाई बेचैन पारेको छ।  

संक्रमण स्तर चिनियाँ अर्काे सहर बुहानमा देखिएको जस्तो चर्काे नभए पनि बेइजिङमा बिहीबारसम्म १५८ जनामा संक्रमण देखिएको छ। बिहीबारा २१ नयाँ संक्रमित फेलापरेका छन्। ‘यो कठिन सिकाइ हो, महामारीको नियन्त्रणको अवस्था चिन्ताजनक छ। यसले कडा चेतावनी दिएको छ’, एक चिनियाँँँँँँँँँँँ अधिकारीले सहरका प्रमुखहरूको बुधबार आयोजित बैठकमा दिएको अभिव्यक्ति उद्धृत गर्दै बेइजिङ डेलीले समाचार छापेको छ।

बेइजिङका सडक अन्य बेलाभन्दा बुधबार कम व्यस्त देखिन्थे, मानिस चिन्तितभन्दा निराश देखिन्थे। बुधबार हुने भनिएका ६० प्रतिशत उडान रद्द भएका छन्। संक्रमण सर्ने डर र क्वारेन्टिनमा बस्नुपर्ने डरका कारण मानिस यात्रा गर्न अनिच्छुक देखिएका छन्। सरकारले निर्मलीकरण गर्न र कर्मचारीको कोरोना परीक्षण गर्न भने पनि रेस्टुरेन्टहरू अझै खुला छन्।  कारोनो भाइरस नेगेटिभ भएका मानिसले मात्र सहर छाड्न सक्ने अधिकारीहरूले बताएपछि राजधानी सहरको दक्षिणस्थित रेलवे स्टेसन प्रस्थान हल बिहीबार सुनसान देखियो। स्टेसनका केही फास्टफुड रेष्टुरेन्ट बन्द थिए। तर स्टेसनमा राखिएको डिजिटल स्क्रिनमा ६६ वटा रेलरु छुटने समय देखाइएको थियो। त्यसले कुनै पनि रेलसेवा रद्द नभएको देखिन्थ्यो। केही यात्रु थप कडाइका नियम लागु हुन सक्ने आशंकामा सहर छाड्न उद्यत् थिए।  

‘मलाई राजधानी सिल गरिन्छ भन्ने लागेको छ त्यसैले गए राति नै एक टिकट बुक गरेर घर फर्कंदैछु,’ स्टेसनमा भेटिएका २२ वर्षीय विद्यार्थी सी मिङले भने। सामान्य जीवन पूववत् अवस्थामा फर्काउने मनसायले बेइजिङ सहरको स्थानीय सरकारले २ साताअघि मात्र महामारीको आपतकालीन अवस्थाको स्तरलाई तल झारेको थियो।

चीनका महामारी नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक डा. जाखो फुले कोरोना भाइरस थोकबजारमा कार्यरत व्यापारी तथा कामदारहरूका बीच महिनौं अघिदेखि देखिएको हुनसक्ने तर्क गरेका छन्। उनले सांघाइका अधिकारीसँगको एक बैठकमा पछिल्ला संक्रमितमा रोगको कुनै लक्षण नदेखिएकाले भाइरस शान्त हिसाबले भित्रभित्रै फैलिएको हुन सक्ने बताए।  

सरकारी सञ्चार माध्यमहरूले अमेरिका, बेलायत तथा अन्य पश्चिमा राष्ट्रले लकडाउन खुकुलो पार्दा संक्रमणले तीव्रता पाएको तर चीनले लकडाउनलाई प्रभावकारी पारेकाले सफलता हात पारेको दाबी गरिरहेका छन्। हाल छिनफादी बजारको वरपर मात्र संक्रमण देखिए पनि यो संक्रमण चीनको अन्य भूभागमा समेत विस्तार भएनभएको यकिन भैसकेको छैन।  

बेइजिङले महामारी रोकथामका लागि ठूलो लगानी गरेको छ। हालै मात्र थोकबजार वरपरका ३ लाख ५६ हजार मानिसको न्युक्लिक एसिड टेस्ट गरिएको छ। बेइजिङमा रहेको रोग नियन्त्रण केन्द्रका उपनिर्देशक पाङ झिङहुओ थोकबजारको ठूलो आकार र यससँग सम्बन्धित व्यापारी सहरभर छरिएकाले संक्रमितको संख्या आगामी दिनमा बढ्नसक्ने बताउँछिन्। ‘संक्रमणको जोखिम धेरै छ, नियन्त्रण त्यति सजिलो छैन,’ उनले भनिन्।

बेइजिङका अधिकांश बस्तीमा मानिसको शरीरको तापक्रम नाप्न थालिएको छ भने आगन्तुकलाई निषेध गरिएको छ। थोकबजार नजिकका ३० बस्तीमा कडा लकडाउन गरिएको छ, जहाँ स्थानीयलाई घरबाट बाहिर निस्कन बन्देज लगाइएको छ। यस्तैखाले लकडाउन चिनियाँ सहर बुहानमा यो वर्षको सुरुमा लगाइएको थियो। लकडाउनले त्यतिबेला बुहान र हाल बेइजिङमा बेचैनी थपेको छ।  

चिनियाँं सामाजिक सञ्जाल वाइबोमा लकडाउन गरिएको एक बस्तीमा खाद्यवस्तु खरिद गर्नसमेत नपाइएको भन्दै एकजनाले गुनासो गरेका छन्, ‘हाम्रो बस्तीमा सम्पूर्ण रुपमा लकडाउन गरिएको छ र यस्तो बेलामा के गर्ने भनेर सबैमा चिन्ता व्याप्त छ। वयस्कहरू त निर्वाह गर्लान् तर केटाकेटी तथा पाको उमेरका लागि दिन कठिन बनेका छन्। न्युयोर्क टाइम्स

प्रकाशित: ५ असार २०७७ ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App