६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

कतार एयरवेजले नयाँ विमान नकिन्ने

कतार एयरवेजले सन् २०२० वा सन् २०२१ मा नयाँ विमान खरिद नगर्ने घोषणा गरेको छ। कोरोनाभाइरसका कारण विश्वव्यापी संकट उत्पन्न भएकाले माग घटेको जनाउँदै कतार एयरवेजले बोइङ र एयरबससँगका अर्डर पनि खारेज गरेको छ।

गत मार्चसम्ममा २३४ वटा विमान संख्या रहेको तथा विश्वका १७० भन्दा बढी गन्तव्यमा उड्ने कतार एयरवेजले विमानस्थलहरु बन्द तथा यात्रा प्रतिबन्धका कारण ठूलो समस्यासँग जुधिरहेको छ। 

अन्तर्राष्ट्रिय हवाई यात्रा संघले गत अप्रिलमा मध्यपूर्व र उत्तर अमेरिकाको हवाई यात्रामा यस वर्ष आधाभन्दा बढीले कमी आउने चेतावनी दिएको थियो।

कतार एयरवेजका प्रमुख कार्यकारी अकबर अल–बाकरले नयाँ विमान खरिदका आदेशहरु रद्द गरिएको जानकारी दिए। उनले कम्पनीका तर्फबाट सन् २०२० र अर्को वर्ष नयाँ कुनै विमान खरिद नगर्ने बारेमा बोइङ र एयरबसलाई जानकारी गराइसकिएको पनि बताए।

अल–बाकरले अर्को दुई वा तीन वर्षभित्र खरिद गर्नेगरी दिइएको अर्डर पनि अब आठदेखि १० वर्ष पछि सारिएको बताए। तर सोचेभन्दा चाँडो परिस्थितिमा सुधार भए हवाई जहाज खरिदमा पुनर्विचार गरिने उनले स्पष्ट गरे।  

कतार एयरवेजले अहिले वित्तीय संकटको सामना गर्नु परेको कम्पनीले जनाएको छ। मार्च २०१९ सम्ममा कम्पनीले करिब ६४ करोड अमेरिकी डलर नोक्सानी व्यहोर्नु परेको छ।

प्रकाशित: ४ असार २०७७ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App