इकानोमिस्ट
विगत साताहरुमा बंगलादेश, भारत र पाकिस्तानमा संक्रामक भाइरसको पैmलावट रोक्ने उद्देश्यले लगाइएको राष्ट्रव्यापी लकडाउन खुला गरिएको छ। १ अर्ब ७० करोड जनसंख्या अर्थात् विश्वको ५ भागको एक भाग जनसंख्या खुला हुँदा यो क्षेत्रको संकटग्रस्त अर्थतन्त्रलाई राहत पुग्ने अपेक्षा गरिएको छ। तर महामारी रोकथामको हिसाबले भने यो राहतको विषय होइन।
केही भाग्यशाली देशमा घरमै बस्दा संक्रमण घटेको देखिएको छ तर दक्षिण एसियामा लकडाउनले रोगको विस्तार गति कमजोर पार्न सकेको छ तर रोक्न सकेको छैन। लकडाउनमा भएको फुकुवाले संक्रमण पुनः बढाउन सक्ने आशंका विज्ञको छ। यो क्षेत्रमा ३ लाख ५० हजार जनसंख्यामा संक्रमण र ९ हजार जनाको मृत्यु भएको तथ्यांकले संक्रमणको स्तर मध्यम रहेको देखिन्छ। तर यो क्षेत्रमा संक्रमित र मृत्यु हुनेको संख्या सही हिसाबले रिपोर्टिङ नभएको र यो तथ्यांक अझ बढी हुन सक्ने अनुमान गरिएको छ।
हाल यो क्षेत्रमा हरेक २ सातामा संक्रमितको संख्या दुगुना बढेको छ भने जुलाई अन्त्यमा महामारी हालसम्मकै उच्च विन्दुमा पुग्ने अनुमान गरिएको छ। यो क्षेत्रमा कुल ५० लाखलाई संक्रमण हुने र डेढ लाखको मृत्यु हुने प्रक्षेपण गरिएको छ।
यो क्षेत्रमा भाइरस परीक्षणको कमजोर स्तर भएका कारण संक्रमितको सही संख्या झन् डरलाग्दो हुन सक्ने अनुमान गरिएको छ। पाकिस्तानमा कार्यरत एक विदेशी स्वास्थ्यकर्मीले मृत्यु हुनेको संख्या सरकारी तथ्यांकभन्दा दुई वा तीन गुनाले बढी हुन सक्ने बताएका छन्। यसैगरी बंगलादेशको एक अनुसन्धान केन्द्रका अनुसार त्यहाँ संक्रमितको संख्या ७६ हजारभन्दा बढी छ जब कि सरकारी तथ्यांकले यो संख्या ६० हजार देखाएको छ।
भारतभरका स्वास्थ्यकर्मीले अस्पतालमा रहेको असुरक्षित अवस्था, उपकरणको अभाव र घण्टौंसम्म काम गर्नुपर्ने स्थितिको अन्त्य गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका छन्।
यो क्षेत्रमा भाइरस संक्रमण अत्यधिक रहेका स्थानहरुमा स्वास्थ्य सेवा प्रणालीले रोगको चाप थेग्न सकेको छैन। मुम्बईकी २६ वर्षीया नर्स माधुरीले अप्रिल १ देखि कुनै दिन बिदा नलिई दिनको १२ घण्टा ड्युटी गर्दै आएकी थिइन। उनलाई मे महिनामा एक बिरामीबाट भाइरस संक्रमण भयो। उनले काम गर्दै आएको सरकारी अस्पतालले कोरोनाको उपचार गर्दैन, संक्रमितको आशंका गरिएकालाई तोकिएका अस्पतालमा रेफर गर्छ। तर तोकिएका अस्पतालले बिरामी नलिँदा तिनको उपचार सोही अस्पतालमा हुने गरेको छ। ‘सामान्य घाउको उपचार, दुर्घटनामा परेकाको उपचारसहित हाम्रो अस्पतालले हरेक दिन ६० देखि ७० डेलिभरीका केस व्यवस्थापन गरिरहेको छ’, माधुरी भन्छिन्। उनी कार्यरत सो सरकारी अस्पतालमा रहेका २० वटा सघन उपचार कक्षमा २ जनामात्र नर्स छन् भने १६ बेडको आइसोलेसन वार्डमा एकजनामात्र नर्स कार्यरत छन्।
त्यसो त उनको अनुभव कुनै अनौठो घटना होइन। मुम्बईको केन्द्रमा रहेको एक अस्पतालमा कार्यरत ३ जना मेडिकल प्रशिक्षार्थीले सार्वजनिक गरेको एक भिडियोका अनुसार कोभिड १९ का ३५ जना गम्भीर बिरामीलाई उपचार गर्न घण्टौंसम्म उनीहरुलाई मात्र जिम्मा लगाइएको थियो र त्यति बेला अरु कुनै डाक्टर, नर्स वा सरसफाइ गर्ने कर्मचारी उपलब्ध थिएनन्। अर्काे एक भाइरल भिडियोमा कोरोनाका कारण मृत्यु भएका एकजनाको प्लास्टिकमा बेरिएको शव अन्य बिरामीसँगै राखिएको थियो। अस्पतालको मुर्दाघरमा ठाउँ नभएका कारण शव त्यसरी राखिएको थियो। भारतभरका स्वास्थ्यकर्मीले अस्पतालमा रहेको असुरक्षित अवस्था, उपकरणको अभाव र घण्टौंसम्म काम गर्नुपर्ने स्थितिको अन्त्य गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका छन्।
राजधानी नयाँ दिल्लीमा ६ सय स्वास्थ्यकर्मीलाई भाइरस संक्रमण भएको छ। समग्रमा जनसंख्याको अनुपातको हिसाबले डाक्टर र नर्सको संख्या भारतमा चीनको भन्दा आधा छ भने युरोपको तुलनामा एकचौथाइ छ। हाल आएर भाइरसको संक्रमण ग्रामीण क्षेत्रमा बढेकाले चुनौती झन् थपिएको छ। उदाहरणका लागि झारखण्डमा प्रति ६ हजार जनसंख्याका लागि एकजनामात्र डाक्टर छन्।
यसैगरी पाकिस्तानका अस्पतालमा बेडको संख्या यथेष्ट रहेको सरकारी दाबीलाई डाक्टरहरु विश्वास गर्दैनन्। ‘यहाँको स्थिति अत्यन्त चिन्ताजनक छ’, पाकिस्तान मेडिकल एसोसिएसनका क्वेसर सज्जाद भन्छन्। पाकिस्तानमा रमादान सकिएपछि संक्रमितको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ। आगामी २ सातामा बिरामीको उपचारका लागि आवश्यक सघन उपचार कक्ष र भेन्टिलेटरको चरम अभाव हुन सक्ने पाकिस्तानको खैवर पाखतुन्खा प्रान्तका डाक्टर जुवैर जाहिर बताउँछन्।
यो महामारीले अन्य स्वास्थ सेवाको उपलब्धतालाई प्रभावित बनाएको छ। भारतमा पोलियो खोप कार्यक्रम रोकिएको छ भने वर्षमा ४ लाख मानिसको ज्यान लिने क्षयरोगको उपचार पनि प्रभावित भएको छ। ‘सामान्य अवस्थामा दक्षिण एसियाका धनीहरु उपचारका लागि थाइल्यान्ड, सिंगापुरलगायत अन्य विदेशी राष्ट्रमा जाने गरेकाले यहाँको जनस्वास्थ्य सेवामा खास लगानी हुन सकेको छैन’, बंगालादेशकी एक डाक्टर भन्छिन्। उनका अनुसार बंगलादेशका समृद्ध अस्पतालमा कोभिड १९ तथा अन्य रोगको उपचारका लागि भर्ना पाउन असम्भव छ।
यसैगरी मुर्दाघर, चिहान तथा दाहसंस्कार गर्ने स्थलमा ठाउँ पाउन पनि चुनौतीपूर्ण बनेको छ। ढाकानजिकको नारायणगन्जमा रहेको एक चिहानस्थलमा यसअघि महिनामा २ सय ५० शव गाडिन्थ्यो भने हाल यो संख्या ५ सय ७५ पुगेको छ, जसमध्ये ७० जनाको मृत्यु कोरोनाका कारण भएको थियो। यसैगरी मुम्बईनजिक जवाहर वागमा रहेको दाहसंस्कार गर्ने स्थानमा यसअघि दैनिक ४ देखि ६ शव आउने गरेकोमा अहिले बढेर २० पुगेको छ। यसैगरी ग्यासले चल्ने शवगृहमा हुने चाप कम गर्न दिल्लीमा परम्परागत रुपमा गरिने दाहसंस्कार विधिमा छुट दिइएको छ।
के स्पष्ट छ भने दक्षिण एसियाका यी तीन ठूला देशले महामारी नियन्त्रणमा भएको असफलतालाई समीक्षा गर्नुपर्छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खान गरिब जनतालाई अत्यधिक प्रभाव पार्ने भएकाले आफू कहिल्यै लकडाउनको पक्षमा नरहेको बताउँदै आएका छन्। उनका आलोचक संक्रमणको संख्या बढ्नुमा लकडाउनको कमजोर कार्यान्वयन जिम्मेवार रहेको बताउँछन्। यस्तै बंगलादेशमा फेरबदल भइरहने नीति, हजारौं प्रवासी कामदार गाउँ फर्कनु र सुकुमवासी बस्तीमा उपयुक्त व्यवस्थापन नभएकाले लकडाउनले अपेक्षित उद्देश्य पूरा गर्न सकेको छैन।
लकडाउनका कारण भारतका लाखौं कामदार सयौं किलोमिटर पैदल यात्रा गरेर आफ्नै थातथलोमा फर्केका थिए। यो भारत सरकारको त्रुटिपूर्ण निर्णय थियो। सरकारी अधिकारीहरुले उनीहरुको यात्रालाई सुरुमा क्वारेन्टिनमा राखेर रोक्न खोजे पनि त्यो सम्भव नभएपछि २ करोड कामदारले सयौं किलोमिटर पैदल यात्रा गरेका थिए र यही कारणले भाइरसको संक्रमण देशव्यापी रुपमा फैलिएको थियो। सबैभन्दा बढी प्रवासी कामदार रहेको विहारमा पछिल्ला दिनमा संक्रमणको गति तीव्र बनेको छ। कारण जे भए पनि मानवीय क्षति भइसकेको छ। बंगलादेशको चटगाउँमा चिहान खन्ने काम गर्दैे आएका फरिद उद्दिन पछिल्ला ४ दिनमा सुत्न समेत नपाएको बताउँदै थप्छन्, ‘हामी अब थेग्न नसक्ने अवस्थामा पुगेका छौं। हामी प्रार्थना गर्छाैं अल्लाहले हामीलाई माफ गरून् र यो रोगलाई फिर्ता लिऊन्।’(इकोनोमिस्टको पछिल्लो अंकमा रहेको आलेखको अनुवाद)
प्रकाशित: २७ जेष्ठ २०७७ ०२:४३ मंगलबार