११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

न्यूजील्याण्ड कोरोनाभाइरस मुक्त देश भयो : प्रधानमन्त्री आर्डन

न्यूजील्याण्डले सोमबार कोरोनाभाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ। कोविड–१९ बाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमणमुक्त भएसँगै न्यूजील्याण्डले यस्तो घोषणा गरेको हो।

प्रधानमन्त्री जेसिन्डा आर्डन उक्त खबर सार्वजनिक भएसँगै घरभित्र खुशीले नाचेकी छन्।  

प्रधानमन्त्री आर्डनले अन्तर्राष्ट्रिय सीमामा जारी प्रतिबन्धहरु भने यथावत रहने बताइन्। उनले सामाजिक दूरी र सार्वजनिक स्थलमा हुने भेला, समारोहमा रहेका सीमितताहरु हटाइएको पनि घोषणा गरिन्।  

टेलिभिजनबाट प्रशारित एक सम्बोधनमा प्रधानमन्त्री आर्डनले भनिन्, “अहिलेका लागि न्यूजील्याण्डमा कोरोनाभाइरसको प्रसार पूर्णरुपमा रोकिएकामा हामी विश्वस्त छौं। भाइरसलाई नियन्त्रणमा ल्याउन जनताले देखाएको अभूतपूर्व एकताको म प्रशंसा गर्दछु।”

करिब ५० लाख जनसंख्या रहेको दक्षिणी प्रशान्त महासागरीय राष्ट्र न्यूजील्याण्डमा कोविड–१९ बाट एक हजार १५४ जना संक्रमित हुनुका साथै २२ जनाको ज्यान गएको थियो।  

पछिल्लो १७ दिनदेखि न्यूजील्याण्डमा कुनै नयाँ संक्रमण देखिएको छैन। पछिल्लो एक सातामा एक जनामा मात्र कोरोना संक्रमण देखिएको थियो।  

संक्रमित पछिल्लो व्यक्तिका बारेमा विस्तृत रुपमा जानकारी दिइएको छैन, तर स्रोतहरुले ती व्यक्ति अकल्याण्ड निवासी ५० वर्षीया महिला रहेको बताएका छन्।  

न्यूजील्याण्डले कोरोनाभाइरसको प्रसार रोक्न देशव्यापी रुपमा सात हप्तासम्म निकै कडा लकडाउन गरेको थियो।  

न्यूजील्याण्डमा अब सबैजसो खेलमा जति पनि दर्शक सहभागी हुन पाउने छन्। न्यूजील्याण्ड रग्बी संघले यसै साता सुपर रग्बी प्रतियोगिता संचालन गर्ने जनाएको छ। 

प्रकाशित: २६ जेष्ठ २०७७ ०८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App