८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टेन्टको माग अत्यधिक बढ्यो

कोरोना भाइरसको त्रास र लकडाउनका कारण लामो समयसम्म बन्द भएर व्यापार व्यवसायहरु पुनः सञ्चालन हुन थालेपछि टेन्टको माग ह्वात्तै बढेको छ । अमेरिकाका सबैजसो सहरहरुमा टेन्टको माग अत्यधिक बढेको एक अध्ययनले देखाएको अधिकारीहरुले जनाएका छन् ।     

कोरोना भाइरसबाट बच्नका लागि व्यापार व्यवसाय सञ्चालन गरेको ठाउँलाई फराकिलो बनाउन टेन्टको माग बढेको बताइएको छ । रेस्टुरेन्ट, होटल, खुद्रा पसललगायतले आफ्ना ग्राहकका लागि टेन्ट लगाएर ठाउँ विस्तार गरेको पाइएको छ ।           

व्यापार व्यवसाय सञ्चालन गर्दा कामदारका लागि र ग्राहकहरुका लागि पनि सामाजिक दूरी बढाउन पहिले प्रयोग गर्दै आएको ठाउँ साघुँरो भएकाले टेन्ट लगाएर फराकिलो बनाउनु परेको व्यवसायीहरुले बताएका छन् । माग अत्यधिक बढेकाले देशभरका टेन्ट उत्पादक तथा विक्रेताहरुलाई अहिले भ्याई नभ्याई देखिएको छ ।     

जर्नलमा प्रकाशित विवरणअनुसार एकैपटक धेरै उत्पादन, वितरण वा सेवाप्रवाह गर्नुपर्ने भएकाले पनि व्यवसायीहरुले टेन्टको माग गरेको पाइएको छ । उनीहरुले आफ्ना मेसिन तथा अन्य सामानहरु, कामदार र उपभोक्ताका लागि थप टेन्टको आवश्यकता परेको बताउने गरेका छन् ।          

अध्ययनकर्ताहरुले सबै सेवा तथा उत्पादनको मूल्यवद्धि पनि अत्यधिक भएको पाइएको जानकारी दिएका छन् ।          

टेन्ट बिक्री वितरण गर्दै आइरहेको डेल्टा कम्पनीले पाँच वर्षयताकै सबैभन्दा धेरै टेन्ट बिक्री वितरण भएको जनाएको छ ।म्याक किन्नीका सहप्रबन्धक अम्बेर्ली स्लाभेन्सले पहिलाभन्दा अहिले झन् तेब्बर व्यापार भएको जानकारी दिए ।     

व्यापार व्यवसायका लागि मात्रै नभई कलेज तथा विद्यालयमा समेत विद्यार्थीहरुका लागि टेन्टको माग बढेको उनीहरुले बताएका छन् ।        

साविकको ठाउँ सामाजिक दूरी कायम गर्दा साँघुरो हुने भएकाले टेन्टमार्फत् कक्षा कोठालाई फराकिलो बनाइएको वा नयाँ कक्षा कोठा बनाइएको उनीहरुको भनाइ छ ।           

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १९ लाख नौ हाजार ७७ जना संक्रमित भएका छन् भने मृत्यु भएकाहरुको संख्या एक लाख नाघेको छ ।

प्रकाशित: २५ जेष्ठ २०७७ १६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App