२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा रेलसेवा सञ्चालनका लागि अनलाइन बुकिङ सुरु

नयाँ दिल्ली - भारतमा झण्डै दुई महिनापछि मंगलबारदेखि रेल सेवा पुनः सञ्चालन हुने भएको छ। कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै भारत सरकारले दुई महिनाअघि रेलवे बन्द गरेको थियो। उक्त रेलसेवामध्ये राजधानी नयाँ दिल्लीमा भने मंगलबार देखि पुनः सुचारु हुने भएको हो। भारतका रेलवे मन्त्री पियुष गोयलले मंगलबारदेखि रेलवे पुनः सञ्चालनमा आउने जानकारी दिए।

आइतबार उनले ट्वीट गर्दै सो जानकारी दिएका हुँन्। उनको जानकारीको लगत्तैपछि रेल सेवा सञ्चालनको तयारी गरिएको छ। रेल सेवाका लागि आजदेखि नै अनलाइन बुकिङ भएको छ। सोमबार अपराह्न ४ बजेदेखि अनलाइन बुकिङको काम सुरू भएको बताइएको छ। मंगलबारदेखि सुरु हुन लागेको यस सेवाका लागि रेलवे सेवाका काउन्टरहरूबाट भने टिकट किन्न पाइने छैन। काउन्टरमा भीडभाड हुने भएकोले अनलाइनबाटै टिकट किन्न पाइने अधिकारीहरुले जानकारी गराएका छन्।

भारत सरकारका अनुसार मंगलबार नयाँ दिल्लीबाट १५ वटा रेल देशभरका मुख्य रेलवे स्टेसनका लागि छुट्ने छन्। भारतीय सञ्चारमाध्महरुले जानकारी दिएअनुसार नयाँ दिल्लीबाट अगरताला, होरह, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैंगलुरू, चेन्नाइ, थिरूवानानुथपुरम, मदगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मु तावीका लागि रेलसेवा उपलब्ध हुने बताइएको छ। भारतीय अधिकारीहरुले यात्रा गर्नुअघि ती सबै रेलवे स्टेसनमा यात्रुहरूको स्वास्थ्य जाँच पनि गरिने जनाएका छन्। स्वास्थ्य परीक्षणमा कोभिड १९ को कुनै लक्षण देखिएमा उनीहरुलाई रेलमा प्रवेश गर्न नदिइने बताइएको छ। 

त्यसैगरी यसरी यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने पनि जनाइएको छ। भारत सरकारले यसअघि अलपत्र परेका मजदूरको उद्धारका लागि पनि रेल सेवा सुरु गरेको थियो। यही मे १ देखि श्रमिक रेलहरु सञ्चालनमा ल्याएको बताइएको थियो। ती रेलहरुले भारतका विभिन्न स्थानमा अलपत्र परेका ठूलो संख्याका मजदूर तथा विद्यार्थीको उद्धार गरेको सरकारले जनाएको छ। एएनआई

प्रकाशित: २९ वैशाख २०७७ ११:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App