२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पेरुमा कोरोना भाइरसको संक्रमणबाट १७ प्रहरीको मृत्यु

लिमा, - कोरोना भाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको अधिकारीहरु र स्थानीय मिडियाले जनाएका छन्।

अधिकारीहरूले यस हप्ताको सुरुमा नै कोविड–१९ बाट कम्तिमा एक हजार ३०० जना प्रहरीहरु संक्रमित भएको स्वीकारेका थिए । 

देशमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएसँगै गृहमन्त्रीले राजीनामा दिएपछि नयाँ नियुक्त हुनुभएका गृहमन्त्री ग्यास्टोन रोड्रिगेजले शनिबार पत्रकारहरुसँग कुरा गर्दै देशभर १७ जना प्रहरीको मृत्यु भएको र त्यसमध्ये ११ जना राजधानी लिमाका रहेको जानकारी दिएका छन्। 

पेरुको सरकारी समाचार समिति एन्डिनाले लकडाउनको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रण गर्नेक्रममा ठूलो संख्यामा प्रहरीहरु कोरोनाभाइरसबाट संक्रमित भएको जनाएको छ । पेरूमा गत मार्च १७ देखि लकडाउन गरिएको छ । 

गृहमन्त्री रोड्रिगेजले पेरूको प्रहरीका लागि करिब एक करोड ५० लाख अमेरिकी डलर बराबरको मास्क र ग्लोबसमेतका सुरक्षा सामग्री खरिद गर्न बजेट विनियोजन गरिएको जानकारी दिए। 

उनले प्रहरी बलको करिब दुई लाख २० हजार परीक्षणको नतिजा आउन बाँकी रहेको बताए । “संकटमा खटिने प्रहरीको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो । प्रहरी बल राम्रोसँग सुसज्जित हुनै पर्दछ ”- उनले भने।

जोन्स हप्किन्स युनिभर्सिटीले गरेको गणना अनुसार पेरूमा २५ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित रहेका र ७०० जनाको मृत्यु भइसकेको छ । रासस

प्रकाशित: १४ वैशाख २०७७ ०९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App