coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अब्दुल्लाद्वारा राष्ट्रपतिको चुनावी नतिजा अस्वीकार

काबुल (एएनआई) – अफगानिस्तानको राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा भएको केही घन्टापछि देशका मुख्य कार्यकारी अधिकारी (सिइओ) अब्दुल्ला अब्दुल्लाले उक्त नतिजा आफूलाई मान्य नभएको घोषणा गरेका छन्।

उनले आफूले जित हासिल गरेको दाबी गर्दै सबै पक्षको सहभागितामा ‘समावेशी सरकार’ गठन गर्ने बताएका छन्। स्वतन्त्र निर्वाचन आयोग (आइइसी)ले घोषणा गरेको अन्तिम नतिजामा वर्तमान राष्ट्रपति अशरफ घानीले सबैभन्दा बढी मत प्राप्त गरेका छन्। उनले कूल खसेको मतको ५०.६ प्रतिशत मत पाएको टोलो समाचार समितिले जनाएको छ। अब्दुल्ला अब्दुल्लाले भने ३९.५२ प्रतिशत मत पाएका छन्।

मंगलबार सार्वजनिक नतिजामा डिसेम्बरमा घोषणा गरिएको नतिजाभन्दा सामान्य परिवर्तन भएको देखिएको छ। आइसिसीका अनुसार केही स्थानको मतगणनालाई विपक्षीको दाबी अनुसार पुनः मतगणना गरिएको थियो। विवादित करिब तीन लाख मतलाई पुनः गणना गर्दा घानीलाई २६२ मत र अब्दुल्लाहलाई ७४२ मत मात्र थपिएर नतिजा आएको छ भने दुवैका गरी ४५३ मत बदर भएका छन्।

यसैबीच आइइसीले चुनावी नतिजा सार्वजनिक गरेलगत्तै अब्दुल्लाले विज्ञप्ति जारी गरी विवादित मतसम्बन्धी आयोगको निर्णय ‘अवैधानिक’ रहेको र त्यो स्वीकार्य नरहेको बताए। उनले चुनावी नतिजा प्रजातन्त्र विरूद्धको कदम भएकाले आफूले त्यसलाई स्वीकार्न नसक्ने बताए।

‘यो राष्ट्रघात हो,’ अब्दुल्लाहले भने। गत सेप्टेम्बरको चुनावमा तालिबानले यस प्रक्रियालाई अवरुद्ध पार्ने धम्कीका बीचमा सम्पन्न भएको थियो। तालिबान समूहले राष्ट्रपतिको चुनावलाई बहिस्कार गरेका थिए।

प्रकाशित: ८ फाल्गुन २०७६ ०२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App