७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अफगानिस्तानको राष्ट्रपतिमा घानी पुन: निर्वाचित

काबुल – अफगानिस्तानको राष्ट्रपतिमा मोहम्मद अशरफ घानी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको अन्तिम चुनावी परिणाम अनुसार घानी निर्वाचित भएका हुन्।

‘मोहम्मद अशरफ घानीले राष्ट्रपति चुनावमा ५०.६४ प्रतिशत मत प्राप्त गर्नुभएको छ। त्यसैले स्वतन्त्र निर्वाचन आयोगले उहाँलाई अफगानिस्तानको निर्वाचित राष्ट्रपतिको रूपमा घोषणा गर्छ,’ निर्वाचन आयोगका प्रमुख हवा आलम नुरिस्तानीले पत्रकार सम्मेलनमा भने। घानीको प्रतिद्वन्द्वी र उनको राष्ट्रिय एकता सरकारका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्ला ३९.५२ प्रतिशत मतसाथ घानीका निकटतम प्रतिद्वन्द्वी बनेको आयोगले जनाएको छ।

२००१ को अन्तमा तालिबानी शासनको पतनपछि अफगानिस्तानको चौथो राष्ट्रपति चुनाव गत सेप्टेम्बर २८ मा कडा सुरक्षाबीच सम्पन्न भएको थियो। निर्वाचनमा दर्जनभन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। राष्ट्रपति चुनावको प्रारम्भिक नतिजा डिसेम्बरमा घोषणा गरिएको थियो, जसमा घानी पहिलो प्रतिद्वन्द्वी अब्दुल्ला दोस्रो स्थानमा थिए। मतदानमा ९४ लाख मतदाता योग्य मानिए पनि १९ लाख मात्रै सहभागी भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार अधिकांश ग्रामीण इलाका र तालिवान विद्रोही नियन्त्रित सहरमा थोरै मतदाताले भोट हालेका थिए।

प्रकाशित: ७ फाल्गुन २०७६ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App