२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘आसियान’ सम्मेलनमा सहभागी हुन गरिएको आग्रह उत्तर कोरियाद्वारा अस्वीकार

गत वर्षको सेप्टेम्बर २१ मा भएको भेटवार्ताका क्रममा सँगै हिँडिरहेका दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन (दायाँ) र उत्तर कोरियाली नेता किम जोङ– उन। फाइल तस्बिर:एजेन्सी

सोल – दक्षिण कोरियामा आउँदो साता हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको समूह ‘आसियान’ को पूर्वनिर्धारित सम्मेलनमा सहभागी हुन दिइएको निमन्त्रणा उत्तर कोरियाले अस्वीकार गरेको छ। दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको आउँदो साता दक्षिण कोरियामा हुने शिखर सम्मेलनमा उपस्थित हुनका लागि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनलाई निमन्त्रणा गरिएको थियो।

उत्तर कोरियाले भने दक्षिण कोरियासँग अझै पनि सुमधुर सम्बन्ध कायम नभइसकेकाले सो सम्मेलनमा सहभागी हुनुको कुनै अर्थ नरहने भन्दै निमन्त्रणालाई ठाडै अस्वीकार गरेको राज्य सञ्चालित सञ्चारमाध्यमले बिहीबार जनाएको छ। दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले गत नोभेम्बर ५ का दिन आसियान शिखर सम्मेलनमा सहभागी हुनका लागि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनलाई निमन्त्रणा पत्र पठाएका थिए। उनले सो पत्रमा यदि नेता किम आउन नसके उनका विशेष दूतलाई भए पनि सोल पठाइदिन आग्रह गर्दै निमन्त्रणा पत्र पठाएको उत्तर कोरियाली समाचार एजेन्सी केसिएनले उल्लेख गरेको छ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको समूह ‘आसियान’ र दक्षिण कोरियाबीच साझेदारी भएको ३० वर्ष पुगेको अवसरमा आउँदो साता दक्षिण कोरियाको तटीय सहर बुसानमा शिखर सम्मेलन हुँदैछ। सोही सम्मेलनमा उत्तर कोरियाली नेता किम जोङ–उन पनि सहभागी हुनसक्ने दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले केही दिनअघि बताएका थिए।

आसियानको शिखर बैठकका लागि दक्षिण कोरियाले गरेको निमन्त्रणलाई धन्यवाद दिँदै प्योङयाङले ‘सो सम्मेलनमा नेता किम सहभागी हुनका लागि उचित कारण नभेटेको’ बताएको छ।

उत्तर कोरियाले सिधैं निमन्त्रणा अस्वीकार गरेको विषयलाई प्रतिक्रिया दिँदै दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले दुःख व्यक्त गरेको छ। उसले सो सम्मेलनमा उत्तर कोरियालाई बोलाउनुको अर्थ दुई नेताले शान्ति स्थापनाका लागि गरिरहेको संयुक्त प्रयासलाई अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि भएको पनि जिकिर गरेको छ।

आसियान राष्ट्रहरुको शिखर बैठकका लागि दक्षिण कोरियाले गरेको निमन्त्रणलाई धन्यवाद दिँदै प्योङयाङले ‘सो सम्मेलनमा नेता किम सहभागी हुनका लागि उचित कारण नभेटेको’ समाचार एजेन्सी केसिएनएले उल्लेख गरेको छ। उत्तर कोरियाले आफ्नो आधिकारिक समाचार एजेन्सी केसिएनएमार्फत जारी गरेको विज्ञप्तिमा नेता किम र मुनबीच भएको शिखर सम्मेलनले  गरेका सम्झौताको कार्यान्वयन नभएको भन्दै दक्षिण कोरियामाथि आरोप लगाएको छ। उसले दक्षिण कोरिया पूर्ण रूपमा संयुक्त राज्य अमेरिकाप्रति निर्भर रहेको आरोप पनि लगाएको छ।

‘सम्झौता कार्यान्वयनका लागि केही पनि उपलब्धी हासिल नभएकाले आसियान राष्ट्रहरुको शिखर बैठकमा आउनुको कुनै अर्थ छैन,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ६ मंसिर २०७६ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App