भियना – अस्ट्रियास्थित जर्मन तानाशाह एवं नाजी नेता एडल्फ हिटलरको जन्मघरमा प्रहरी कार्यालय राखिने भएको छ। ‘हिटलरको जन्मघरलाई प्रहरीले प्रयोग गर्ने निर्णयबाट अब उक्त घरले कहिले पनि नाजीको सम्झना नगराउने अचुक सन्देश दिएको छ,’ मंगलबार एउटा विज्ञप्ति जारी गर्दै अस्ट्रियाका आन्तरिकमन्त्री वल्फग्याङ पेस्कर्नले भनेका छन्। १७ औं शताब्दीमा बनेको ब्रोनाउ अमइन सहरस्थित सो घरको एउटा फ्ल्याटमा हिटलरले आफ्नो जीवनको केही साता बिताएका थिए।
भवन लामो विवादको विषय बन्दै आएको थियो। सरकारले चरम दक्षिणपन्थी पर्यटक रोक्न घर मालिकसँग उक्त भवन दशकौंदेखि भाडामा लिएको थियो। त्यसमा अपाङ्गता भएका व्यक्तिको निम्ति डे–केयर सेन्टर चलाइएको थियो। सो भवनलाई ह्विल चेयर मैत्री बनाउने तथा मर्मत गर्ने र किन्ने सरकारको प्रस्ताव सो घरका मालिकले अस्वीकार गरेपछि त्यो बन्द भएको थियो। सन् २०१४ मा सो घरमा शरणार्थीहरुका निम्ति आश्रय केन्द्र बनाउने सरकारी योजना पनि लागू भएको थिएन।
अस्ट्रिया सरकारले अनिवार्य निर्देशन जारी गर्दै आठ लाख ९७ हजार डलर मूल्यमा सन् २०१६ मा उक्त घरको स्वामित्व आफूले लिएपछि प्रहरी कार्यालय राख्ने हालको निर्णय गर्न सरकारलाई सहज भएको हो। भवनको भविष्यलाई लिएर अस्ट्रियामा व्यापक मतभेद थियो। केही उक्त भवनको अस्तित्व समाप्त गर्नुपर्ने पक्षमा थिए भने केहीले पुनर्मिलन गृहको रूपमा त्यसलाई कुनै कल्याणकारी काममा प्रयोग गर्नुपर्ने माग राख्दै आएका थिए।
हिटलरका बुवा कामको सिलसिलामा ब्रोनाउ अम–इन सहरमा खटाइएका बेला उनको जन्म सन् १८८९ मा सोही घरमै भएको थियो। हिटलर जन्मिएको केही सातासम्म उनको परिवार सोही भवनको एउटा तल्लामा बसेको थियो। त्यसपछि उनीहरू अन्यत्रै सरेका थिए।
हिटलर तीन वर्षको हुँदा अतिरिक्त सुविधाको खोजीमा उनको परिवारले उक्त सहर छाडेर हिँडेका थिए। हिटलरले अस्ट्रियालाई नाजी जर्मनीमा मिलाएपछि उनी सन् १९३८ मा भियना जाने क्रममा छोटो समयका निम्ति फर्किएर सो क्षेत्रमा पुगेका थिए। १९३३ देखि १९४५ सम्म रहेको हिटलर शासनमा नाजी जर्मनीले जातीय संहारको नीति अंगाल्दै दोस्रो विश्वयुद्ध सुरु गरेको थियो। जसका कारण ६० लाख यहुदी र करोडौं अन्य नागरिकका साथै सैनिक मारिएका थिए।
प्रकाशित: ६ मंसिर २०७६ ०१:५० शुक्रबार