९ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अबु धाबीमा फेला पर्‍यो प्राचीन मोती

अबु धाबीको मरवाह द्वीपमा उत्खनन गर्ने क्रममा एउटा कोठाको भुइँमा फेला परेको मोती। तस्बिर : एजेन्सी

अबु धाबी (बिबिसी) – विश्वको सबैभन्दा पुरानो प्राकृतिक मोती युनाइटेड अरब इमिरेट्स (युएई) को राजधानी अबु धाबीनजिकै एउटा टापुमा फेला परेको छ।

अबु धाबीको मरवाह द्वीपमा उत्खनन गर्ने क्रममा एउटा कोठाको भुइँमा आठ हजार वर्ष पुरानो उक्त मोती फेला परेको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। उत्खननका क्रममा युएईको प्राचीन वास्तुकलाबारे पनि जानकारी प्राप्त भएको बताइएको छ।

त्यस क्षेत्रमा नवपाषाणयुगदेखि नै मोतीको व्यापार हुने गरेको उत्खननले देखाएको युएईका अधिकारीहरुले बताएका छन्।
यसै महिनाको अन्त्यतिर अबु धाबीस्थित संग्रहालयमा उक्त मोती प्रदर्शनीका लागि राखिनेछ।

‘अबु धाबीमा फेला पारिएको विश्वकै सबैभन्दा पुरानो मोतीले हाम्रो आधुनिक आर्थिक र सांस्कृतिक इतिहासको गहिरो जरा प्राग ऐतिहासिक बिहानीमै पुग्ने स्पष्ट पारेको छ,’ अबु धाबीको संस्कृति तथा पर्यटन विभागका अध्यक्ष मोहम्मद खालिफा अल मुबारकलाई उद्धृत  गर्दै बिबिसीले उल्लेख गरेको छ।

पुरातत्वविद्हरूले जैविक पदार्थ भएको वस्तुको आयु पत्ता लगाउने रेडियोकार्बन डेटिङ विधि प्रयोग गरेर उक्त मोती इसापूर्व ५८०० देखि ५६०० बीचको हुन सक्ने बताएका छन्। सो समयमा गहना बनाउनका लागि मोतीको प्रयोग भएको हुन सक्ने र प्राचीन इराकमा रहेको मेसोपोटामिआसँग माटोका वस्तु र अन्य सामग्री किन्न प्रयोग हुनसक्ने युएईका विज्ञहरू बताउने गरेका छन्। मरहवा द्वीपमा गरिएको उत्खनन ध्वस्त भएका ढुंगे संरचनाहरूमा केन्द्रित रहेको थियो। त्यस क्रममा माटोबाट बनेका वस्तु, सिपी र पत्थरबाट बनेका माला र विशेष खालको पत्थरबाट बनेको तीरको टुप्पो भेटिएको थियो।

‘अबु धाबी पर्ल’ नाम दिइएको उक्त मोती अक्टोबर ३० देखि सुरु हुने लुभ्र अबु धाबी प्रदर्शनीमा राखिने युएईका अधिकारीहरुले बताएका छन्।

प्रकाशित: ६ कार्तिक २०७६ ०३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App