२० असार २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रदर्शनकारी र प्रहरीबीच झडप

हङकङ – हङकङमा आइतबार आयोजित सरकारविरोधी प्रदर्शनमा झडप भएको छ। व्यापारीहरुको खाजा खाने समयमा भएको प्रदर्शनमा सहभागी प्रदर्शनकारीलाई लखेट्ने क्रममा अराजकपूर्ण झडप भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

हङकङ टापुका सपिङ मल र कोलुन जिल्लाको तटमा आयोजित ¥यालीहरु सुरुमा शान्तिपूर्ण रूपमा सुरुवात भएको थियो।  त्यसबेल केही सयको संख्यामा रहेका प्रदर्शनकारीले ‘स्वतन्त्र हङकङ’ सहितका अन्य नारा समेत लगाएका थिए। तर त्यसको केही घण्टापछि कालो पहिरन लगाएका प्रदर्शनकारी सडकमा आएर पसलहरु र मेट्रो स्टेसनमा तोडफोड गर्दै सडकमा राखिएका ब्लकलाई ढालेका थिए।

प्रदर्शनकारी हिंस्रक हुन थालेपछि कैयौंलाई पक्राउ गरिएको र भीडलाई तितरबितर पार्नका लागि ‘न्युनतम बल’ प्रयोग गरिएको प्रहरीले बताएको छ।

पसलहरु र मेट्रो स्टेसनमा क्षति पु¥याउन थालेपछि प्रदर्शनकारीमाथि बल प्रयोग गर्दा झडप भएको प्रहरी स्रोतले बताएको छ। प्रहरीका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि इँटा र पेट्रोल बम पनि प्रहार गरेका थिए। तीमध्ये कोलुन जिल्लामा रहेको एउटा प्रहरी भ्यानमा पनि प्रदर्शनकारीले आगो लगाइदिएको प्रहरीको जिकिर छ।

प्रदर्शनकारी हिंस्रक हुन थालेपछि कैयौंलाई पक्राउ गरिएको र भीडलाई तितरबितर पार्नका लागि ‘न्युनतम बल’ प्रयोग गरिएको प्रहरीले बताएको छ। कालो पहिरन लगाएका प्रदर्शनकारीले पसलमा तोडफोड गर्न थालेपछि डराएका व्यापारीका भिडियो टेलिभिजनहरुले प्रसारण गरेका छन्। प्रहरीले सपिङ मलभित्रै बल प्रयोग गर्दा केही व्यक्तिसमेत घाइते भएको बताइएको छ। आफ्नो पहिरन लुकाउनका लागि कालो मास्कसमेत लगाएका प्रदर्शनकारीलाई अधिकांश पसलेले समर्थन गरेका थिए।

एउटा सपिङ मलमा त दंगा प्रहरीको एउटा समूहले आफ्नो सुरक्षा कवच प्रयोग गर्दै प्रदर्शनकारीमाथि खुर्सानीको धुलोसमेत छर्केको बताइएको छ।

अर्को एउटा घटनामा ५० जना पसलेहरुको समूहले मलभित्रै दंगा प्रहरीसँग झडप गरेको र उनीहरुले हङकङ प्रहरीविरुद्ध नारा पनि लगाएको रोयटर्सले उल्लेख गरेको छ। मलबाट प्रहरी बाहिरिएपछि उनीहरुले खुसीयाली व्यक्तसमेत गरेका थिए।

आइतबार रातिसम्ममा अधिकांश प्रदर्शनकारी अज्ञातस्थल तर्फ गएको भए पनि सहरका विभिन्न जिल्लाभर दंगा प्रहरीको बाक्लो उपस्थिति रहेको रोयटर्सले उल्लेख गरेको छ।

मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे सरकारले विधेयक ल्याएपछि सुरु भएको प्रदर्शनका कारण विगत चार महिनादेखि हङकङमा सरकारविरोधी प्रदर्शन जारी रहेको छ।

हङकङको प्रमुख नेतृत्वले प्रदर्शनकारीका मागमध्येको एउटा प्रमुख माग ‘मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने’ सम्बन्धी विधेयक फिर्ता लिए पनि प्रदर्शनकारीले १९ सातादेखि निरन्तर प्रदर्शन गरिरहेका छन्।

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले केही साताअघि विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन्। सुरुमा सुपुर्दगी विधेयक फिर्ता लिनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन आयोजना गरिएको भए पनि हाल आएर हङकङ प्रदर्शन बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित भएको छ। यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री लामको राजीनामाको मागसमेत गर्दै आएका छन्।

एसियाली हब हङकङमा भइरहेको पछिल्लो प्रदर्शन स्वतन्त्रता र स्वायत्तताको मागतर्फ अघि बढिरहेको छ। कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ।

विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ। यसैबीच, पछिल्लो पटक प्रदर्शनकारीका माग विशेषतः चारवटा प्रमुख मुद्दामा केन्द्रित रहेका छन्। जसमा, प्रशासनले प्रदर्शनलाई ‘दंगा’ भनेर परिभाषित गरेकाले सो फिर्ता हुनुपर्ने, पक्राउ परेका सबैलाई माफी दिइनुपर्ने, प्रदर्शनकारीमाथि प्रहरीद्वारा गरिएको बल प्रयोगको जाँचबुझका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने र हङकङको प्रमुख कार्यकारी र विधायन परिषद्को निर्वाचनका लागि विश्व स्वीकारोक्ति हुनुपर्ने  रहेका छन्।

प्रकाशित: २७ आश्विन २०७६ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App