२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा भूकम्प, कम्तीमा १९ को मृत्यु

इस्लामाबाद (बिबिसी)– पूर्वी पाकिस्तानमा गएको ५.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा १९ जनाको ज्यान गएको छ।

भूकम्पका कारण तीन सय भन्दाबढी मानिस घाइते भएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

पाकिस्तान प्रशासित कश्मीरको मिरपुर सहर नजिकै भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ। सामाजिक सञ्जालमार्फत बाहिरिएका तस्बिरहरुमा मुख्य सडकमा ठूलो क्षति पुगेको र घरहरुमा आंशिक क्षति पुगेको देखिएका छन्।

क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन। पाकिस्तानको सोही क्षेत्रमै सन् २००५ मा भूकम्प जाँदा हजारौं मानिसको ज्यान गएको थियो।

अमेरिकी भूगर्भसम्बन्धी निकाय यूएसजिएस र पाकिस्तानको भूगर्भ विभागले मंगलबारको भूकम्पको मापन ५.८ म्याग्निच्युड भएको बताएका छन्। भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्ली सम्म महसुस गरिएको थियो।

पाकिस्तानको राजधानी इस्लामाबादसहित देशको उत्तरी भेग, लाहोर, पेसावर र पाकिस्तान प्रशासित कश्मीरमा मंगलबार साँझ भूकम्पका धक्का महसुस गरिएका छन्। जसको केन्द्रविन्दु पञ्जाब प्रान्तको झेलम सहरभन्दा पाँच किलोमिटर पर थियो। भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ। पाकिस्तानका सेना प्रमुखले प्रभावित क्षेत्रमा तत्काल उद्धारकार्य सुरू गर्न निर्देशन दिएको सेनाका प्रवक्ताले ट्विटमार्फत् बताएका छन्।

भूकम्पको धक्का महसुस गरिएको एउटा क्षेत्र मिरपुरका प्रहरी अधिकारीले त्यहाँ चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मिरपुर पाकिस्तान प्रशासित कश्मीरमा पर्छ। हताहत हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

प्रकाशित: ८ आश्विन २०७६ ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App