२० असार २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

झडपमा पेट्रोल बम र पानीको फोहोरा प्रहार

हङकङ – आइतबार हङकङ भएको सरकारविरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सहरको सरकारी कार्यालय नजिकै भएको प्रदर्शनमा प्रदर्शनकारीले इँटा र पेट्रोल बम प्रहार गरेपछि प्रहरीले पनि उनीहरुलाई तितरवितर पार्नका लागि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको बताइएको छ ।

हङकङको संसद् भवन र सरकारी कार्यालयहरु रहेको क्षेत्र नजिकै रहेका चिनियाँ जनमुक्ति सेनाको शिविरबाहिर पनि केही प्रदर्शनकारीले इँटा प्रहार गरेको समाचार पनि बाहिरिएको छ । प्रदर्शनकारीले जनवादी गणतन्त्र चीन स्थापनाको ७०औं वर्षगाँठ लेखिएको ब्यानरमा पनि आगो लगाइदिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

प्रहरीले लगाएको प्रतिबन्ध वेवास्ता गर्दै आइतबार हङकङका सडकमा हजारौं लोकतन्त्र पक्षधर प्रदर्शनकारी उत्रिएपछि झडप भएको बिबिसीले उल्लेख गरेको छ । झडप हुनुपूर्व आइतबार नै सयौं मानिस भेला भएर बेलायती महावाणिज्य दूतावासबाहिर पनि प्रदर्शन गरेका थिए । उनीहरुले हङकङलाई सन् १९९७ मा बेलायती शासनबाट चीनलाई हस्तान्तरण गर्दा प्रत्याभूत गरिएको स्वतन्त्रता कायम गर्नका लागि बेइजिङलाई दबाब दिन आग्रह गर्दै बेलायती महावाणिज्य दूतावासबाहिर प्रदर्शन गरेको बताइएको छ ।

मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे सरकारले विधेयक ल्याएपछि सुरु भएको प्रदर्शनका कारण   केही महिनादेखि हङकङ तनावग्रस्त रहेको छ । हङकङको प्रमुख नेतृत्वले प्रदर्शनकारीका मागमध्येको एउटा प्रमुख माग ‘मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने’ सम्बन्धी विधेयक फिर्ता लिए पनि प्रदर्शनकारीले १५ औं साताको प्रदर्शनलाई आइतबार निरन्तरता दिएका छन् । प्रदर्शनमा सहभागीले आफूहरुले अघि सारेका पाँचवटै प्रमुख माग सम्बोधन हुनुपर्ने भन्दै नारा पनि लगाएका छन् । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले दुई साताअघि विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन् ।

कहिले अमेरिका त कहिले बेलायतसमक्ष चीनलाई दबाब दिन प्रदर्शनकारीले आह्वान गरिरहेको सन्दर्भमा चीनले भने हङकङको विषय आफ्नो आन्तरिक मामिला भएको भन्दै यस बारेमा अनावश्यक हस्तक्षेप नगर्न अन्य देशलाई निरन्तर चेतावनी दिइरहेको छ ।

मुख्यभूमि चीनलाई सन् १९९७ मा हस्तान्तरण गरिएको बेलायतको पूर्व उपनिवेश हङकङको वर्तमान अवस्था विशुद्ध रूपमा आफ्नो आन्तरिक मामिला भएको बेइजिङको भनाइ छ ।

सरकारले गत अप्रिलमा मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो । विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयकलक्षित हुनसक्ने भन्दै विपक्षीले प्रदर्शन सुरु भएको थियो । व्यापक प्रदर्शन र असन्तुष्टि भएपछि सो विधेयक गत जुन महिनामा स्थगन गरिएको थियो । हङकङकी प्रमुख कार्यकारी लामले विधेयक ‘मृत’ अवस्थामा रहेको बताए पनि त्यसबेला फिर्ता लिन अस्वीकार गरेकी थिइन् । तर लगातारको प्रदर्शन र तनावपछि लामले दुई साताअघि सो विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन् ।

सुरुमा सुपुर्दगी विधेयक फिर्ता लिनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन आयोजना गरिएको भए पनि हाल आएर हङकङ प्रदर्शन बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित भएको छ । यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री लामको राजीनामाको मागसमेत गर्दै आएका छन् ।

एसियाली हब हङकङमा भइरहेको पछिल्लो प्रदर्शन स्वतन्त्रता र स्वायत्तताको मागतर्फ अघि बढिरहेको छ । कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ । यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ । विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ ।

यसैबीच, पछिल्लो पटक प्रदर्शनकारीका माग विशेषतः चारवटा प्रमुख मुद्दामा केन्द्रित रहेका छन् । जसमा, प्रशासनले प्रदर्शनलाई ‘दंगा’ भनेर परिभाषित गरेकाले सो फिर्ता हुनुपर्ने, पक्राउ परेका सबैलाई माफी दिइनुपर्ने, प्रदर्शनकारीमाथि प्रहरीद्वारा गरिएको बल प्रयोगको जाँचबुझका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने र हङकङको प्रमुख कार्यकारी र विधायन परिषद्को निर्वाचनका लागि विश्व स्वीकारोक्ति हुनुपर्ने  रहेका छन् ।

प्रकाशित: ३० भाद्र २०७६ ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App