हङकङ – हङकङस्थित बेलायतको वाणिज्य दूतावासका एकजना कर्मचारी चिनियाँ सीमाबाट पक्राउ परेका छन्।हङकङ नागरिक भनिएका सिमन चेङ गत अगस्ट ८ देखि हराइरहेका थिए। विभिन्न सञ्चारमाध्यमका अनुसार बेलायती वाणिज्य दूतावासका ती कर्मचारी आफ्नो व्यापारिक भ्रमणका गएका बेलादेखि नै बेपत्ता भएका थिए।
आफ्नो वाणिज्य दूतावासमा काम गर्ने कर्मचारी पक्राउ परेको प्रति बेलायती विदेश मन्त्रालयले आपत्ति जनाएको छ। हराइरहेका आफ्ना कर्मचारी चिनियाँ सीमाबाट पक्राउ परेको भन्ने विवरण बाहिरिएलगत्तै लन्डनले आपत्ति जनाएको बिबिसीले उल्लेख गरेको छ।
बेलायती विदेश मन्त्रालयले आफ्ना कर्मचारीबारे गुवाङडोङ प्रान्त र हङकङ सरकारबाट थप जानकारी खोजिरहेको पनि बताएको छ। बेलायती वाणिज्य दूतावासका कर्मचारी चेङको परिवारलाई बेलायती दूतावासले सहयोग गरिरहेको बताइएको छ।
‘सेन्झेनबाट फर्किदै गर्दा हाम्रा समूहका एक सदस्य पक्राउ परेको भन्ने विवरणलाई लिएर हामी चिन्तित भएका छौं,’ बेलायती विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। दक्षिण–पूर्वी चीनमा पर्ने सेन्झेनले हङकङ र मुख्यभूमि चीनलाई जोडेको छ।
चेङ हङकङस्थित बेलायती वाणिज्य दूतावासको स्कटिस डेपलपमेन्ट इन्टरनेसनल शाखामा व्यापार तथा लगानी अधिकृतका रूपमा कार्यरत रहेको हङकङको एक स्थानीय समाचार संस्था एचकेएफपीले जनाएको छ। सो समाचार संस्थाका अनुसार एक कार्यक्रममा सहभागी हुन चेङ लो वु अध्यागमन कन्ट्रोल प्वाइन्ट हुँदै गत अगस्ट ८ का दिन सेन्झेनतर्फ गएका थिए।
चेङकी प्रेमिकाका अनुसार उनले कार्यक्रम भएकै दिन नै रेलमार्ग हुँदै घर फर्कने योजना बनाएको भए पनि उनी नफर्किएको एक समाचार पोर्टल एचके ०१ले जनाएको छ। स्कटिस सरकारले पनि चेङको विषयलाई लिएर आफूहरु चिन्तित रहेको र विदेश मन्त्रालयसँग समन्वय गरिरहेको बताएको छ।
हङकङमा ११ सातादेखि जारी प्रदर्शनका कारण चीन–हङकङ सीमामा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको सो क्षेत्र भएर आवतजावत गर्ने यात्रीहरुले बताएका छन्। सरकारले मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो। विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयकलक्षित हुनसक्ने भन्दै प्रदर्शन सुरु भएको थियो।
कैयौं साताको विरोध प्रदर्शनपछि हङकङ सरकारले तत्कालका लागि सो विधेयक स्थगित गरिएको घोषणा गरेको थियो। यद्यपि प्रदर्शनकारीले भने विधेयक स्थगन नभई पूर्ण रूपमा खारेज हुनुपर्ने भन्दै प्रदर्शनलाई जारी राखेका छन्। प्रदर्शन जारी रहेपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले माफीसमेत मागेकी थिइन्। तर पछिल्लो समयको प्रदर्शन हङकङमा बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित हुन थालेको छ। यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री लामको राजीनामाको मागसमेत गर्दै आएका छन्।
एसियाली हब हङकङमा भइरहेको पछिल्लो प्रदर्शन स्वतन्त्रता र स्वायत्तताको मागतर्फ अघि बढिरहेको छ। कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।
हङकङको प्रदर्शनलाई चीनले भने आतंकवादी गतिविधिको संज्ञा दिएको छ। बढ्दो तनावकै बीच चीनले हङकङनजिकैको सेन्झेन सहरमा हजारौं सशस्त्र सुरक्षा फौज तैनाथ गरेको छ। हालसालै हङकङ र मुख्यभूमि चीन सीमा हुँदै यात्रा गरेका अधिकांश यात्रीहरुले मुख्यभूमी चीनतर्फ प्रहरी चेकिङ हुने गरेको बताएका छन्। चेकिङका क्रममा प्रहरीले यात्रुको फोन लिएर त्यहाँ रहेका फोटा र भिडियोहरु हेर्ने गरेको ती यात्रीहरुले बताएका छन्।
प्रकाशित: ४ भाद्र २०७६ ०३:३५ बुधबार