बेगुसराय बिहार - मंगलबारको प्रचार अभियान मटिहानी ग्राम पञ्चायतबाट सुरु हुँदै छ। कन्हैयाको गाउँ बरौनी जिरो माइलबाट करिब ३० किलोमिटर टाढा छ, यो ग्राम पञ्चायत। अघिल्लो दिनमा प्रचार अभियान सकेर पार्टीका नेतालगायतसँग छलफल गरी कन्हैया घर आउँदा रातको त्यस्तै १ बजेको थियो।
रातमा एक दिन घर आए बाँकी दुई दिन घर नआउने उनको तालिका भएको प्रचार अभियानका सहयोगी बताउँछन्। कन्हैयाबारे उनका भाइ (काकाका छोरा) प्रिन्सलाई सोध्दा उनले भने, ‘प्रचार अभियानबाट फर्किएर घर फर्किँदा ढिलो हुने हुँदा प्रचार अभियानमा निस्किँदा समयको बर्बादी मात्रै हुने, त्यसैले यस्तो तालिका बनाएका हौँ।’
बिहानै उनको घर पुग्दा एक भारतीय टीभी च्यानल कन्हैयाको प्रतीक्षामा थियो। ‘स्वराज एक्सप्रेस’ नामको उक्त च्यानलको पटना ब्युरो यहाँ आएको रहेछ। कन्हैयाको निवार्चन अभियानलाई प्रचार गर्न गर्न उनीहरू त्यहाँ थिए।
बिहानको सात बजे निस्किने बताइएको प्रचार अभियान आठ बज्दा पनि निस्किन सकेन। राति ढिलो आएकाले दाइ (कन्हैया) उठ्न ढिलो भएको भाइ प्रिन्सले बताए। यतिबेलासम्म यहाँ मानिसको चहलपहल निकै नै बढिसकेको छ। यसैक्रममा यहाँ बेगुसराय जिल्लाका विभिन्न ग्राम पञ्चायतबाट युवा भेला भएका छन्। उनीहरु आफ्नो ग्राम पञ्चायतमा पनि चुनावी प्रचार गर्न आउनुपर्ने माग राख्दै कन्हैयालाई भेट्न आएका रहेछन्।
म नेपालबाट त्यहाँ आएको थाहा पाएका मानिस सोध्दै थिए, ‘के नेपालमा पनि कन्हैया यति चर्चित छन्?’
यत्तिकैमा भेट हुन्छन्, कन्हैयाका पीएचडी सुपरभाइजर एसएन मालाकार। मालाकार विहारलाई नै प्रतिनिधित्व गर्दा रहेछन्। मालाकारका अनुसार कन्हैयाको पीएचडी भूगोल विषयमा हो। नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको सहपाठी बताउने मालाकार कन्हैयाको भूगोल र राजनीतिको बुझाइ राम्रो रहेको त्यहाँ उपस्थित मानिसलाई बताउँथे थिए।
उनको प्रचार अभियानमा सहभागी मानिसको एक झुण्डमा सामेल हुन पुग्छु। यहाँ पुग्दा सञ्चारमाध्यमा आएको विवरणभन्दा फरक छलफल चल्दै छ। कन्हैयाले चुनाव जित्नेबारे मिश्रित प्रतिक्रिया आइरहेको थियो, त्यहाँ। केही मानिस त कन्हैयालाई चुनाव जित्न निकै अप्ठेरो पर्ने पनि भन्दै थिए।
‘राजनीति जमिन र जमीर (आत्मसम्मान) सँग जोडिएको हुनुपर्छ, वर्तमान समयमा भारतको राजनीतिले न जमिनको सम्मान गरेको छ न आफ्नो जमीरको’, मालाकार भन्छन्, ‘हाम्रो राजनीति मुद्दा यसबाट विकर्षण भएको छ, यसले प्रजातन्त्रलाई खतरामा पार्छ।’
बिहानको साँढे आठ बजे कन्हैयाकोे पाहुना घर (चुनावका आगन्तुकलाई बस्न बनाइएको घर) बाट मानिसहरु बाहिर निस्किन्छन्। उनी पनि त्यही घरमा सुत्दा रहेछन्। पक्की साढे दुई तलाको उक्त घरलाई केही समयदेखि कन्हैयाको चुनावी प्रचारका लागि प्रयोग गरिएको स्थानीयले बताए।
केही मानिसको भीडलाई छिचोल्दै उनी भन्छाघरमा प्रवेश गर्छन्।
उनको प्रचार अभियानमा सहभागी मानिसको एक झुण्डमा सामेल हुन पुग्छु। यहाँ पुग्दा सञ्चारमाध्यमा आएको विवरणभन्दा फरक छलफल चल्दै छ। कन्हैयाले चुनाव जित्नेबारे मिश्रित प्रतिक्रिया आइरहेको थियो, त्यहाँ। केही मानिस त कन्हैयालाई चुनाव जित्न निकै अप्ठेरो पर्ने पनि भन्दै थिए।नास्ता गरेर बाहिर निस्किएका कन्हैयासँग मेरो भेट भयो। सायद उनलाई मेरो विषयमा कसैले बताइसकेको थियो। मैले परिचय दिएपछि उनले भने, ‘अभियानमा जान ढिलो भइसक्यो, त्यहाँ बसेर कुरा गर्ने माहोल छैन, प्रचार अभियानकै क्रममा समय हेरेर कुरा गरौँ।’ मभन्दा अघि पुगेका भारतीय सञ्चारमाध्यमका प्रतिनिधिसँग पनि उनले यसै गर्ने रहेछन्।
झुस्स दारी, सञ्चारमाध्यममा धेरै देखिएको उनको त्यही रातो सर्ट, चप्पल र निलो रङको पाइन्टमा उनी प्रचार अभियानका लागि निस्किन्छन्।
प्रचार अभियानमा उनले एउटा बिनानम्बरप्लेटको रातो रङको गाडी प्रयोग गरेका छन् भने उनको प्रचार अभियानका कोर टिमले तीन वटा स्कोरपियो प्रयोग गरेका थिए। स्कोरपियोको नम्बरप्लेट छ तर कन्हैया चढेको कारको नम्बरप्लेट छैन।
बिनानम्बर प्लेटको गाडी प्रयोग किन गरियो? के भारतको निवार्चनमा यस्तै गरिन्छ। अथवा निवार्चन प्रयोजनका लागि कन्हैयालाई नयाँ गाडी किनियो ? प्रश्न अनुत्तरित रहन्छ, अथवा म यो प्रश्न सोध्न उपर्युक्त पात्र भेट्दिनँ।
मंलगबारको प्रचार अभियानको गढ रहेको मटिहानीतर्फ गाडी अघि बढ्छ। करिब ३० किलोमिटरको बाटो तय गरी त्यहाँ पुग्दा मानिसहरु मालासहित उनको प्रतीक्षामा छन्।
कन्हैयाको निवार्चन प्रचार अभियानलाई हेर्न महिलाहरु घरबाहिर आए पनि प्रचार अभियानमै भने महिलाको उपस्थिति देखिँदैन। भारतको पूरा जनसंख्याको आधा हिस्सा महिला भएको र देशलाई सबल बनाउन महिलालाई सक्षम बनाउनुपर्ने बताउने कन्हैयाको प्रचार अभियानमा भने महिला सहभागिता खासै देखिएन।
घरभित्र भएका मानिस उनलाई हेर्न दोडेर बाहिर आउँदै गरेको दृश्य देख्दा श्रीस्वस्थानीमा वर्णन भएको एउटा कथा दृश्यमा आयो। गोमा ब्राह्मणीको छोरो नवराजलाई लावण्य देशको राजा बनाइन्छ। उनी राजा भएपछि भएको नगर परिक्रममा उनलाई हेर्न के वृद्ध, के बालक, के महिला सबै आफ्नो काम छोडेर बस उनैलाई हेर्न आएको प्रसंग वर्णित छ। ठीक यस्तै दृश्य कन्हैयाको निवार्चन प्रचारका क्रममा देखिन्थ्यो।
भारतीय कम्युनिस्ट पार्टी कार्यालय । तस्बिर : पुरुषाेत्तम पाैडेल
कन्हैयाको निवार्चन प्रचार अभियानलाई हेर्न महिलाहरु घरबाहिर आए पनि प्रचार अभियानमै भने महिलाको उपस्थिति देखिँदैन। भारतको पूरा जनसंख्याको आधा हिस्सा महिला भएको र देशलाई सबल बनाउन महिलालाई सक्षम बनाउनुपर्ने बताउने कन्हैयाको प्रचार अभियानमा भने महिला सहभागिता खासै देखिएन।
चढ्दो गर्मीबीच प्रचार अभियानमा सहभागी हुनु कष्टकर थियो। तर मानिसको उत्साहमा कुनै कमी देखिएन। ठाउँ ठाउँमा पानी र चिसो पेय प्रदार्थको व्यवस्था छ भने सुन्तला र दालमोठको व्यवस्था पनि पाइयो। ती सबै स्वःतस्र्फुत गरिएको व्यवस्था हो। त्यो कन्हैयाको तर्फबाट नभई स्थानीय जनताको इच्छाले गरिएको बताइएको छ।
बेगुसराय जिल्ला नै कन्हैयाकै प्रतीक्षामा रहेको भन्ने अर्थ भने नलागोस्। त्यस्ता केही ठाउँमा पनि थिए, जहाँका जनता कि घर बाहिर नै निस्किदैन थिए, निस्किहाले पनि कन्हैयाको अभिवादनलाई स्वीकार गर्दैनन्। मटिहानी ग्राम पञ्चायतबाट रामदिरी जाँदै गर्दा भाजपा समर्थक व्यक्तिले कन्हैयाको निवार्चन ¥यालीलाई प्रभावित पोर्न कोसिस गरे। कन्हैयालाई जेएनयूको विद्याथी सभापति हुँदा के कारणले देशविरोधी नारा लगाएको भन्दै त्यहाँ उपस्थित युवाले प्रश्न गरे। केहीबेर विवाद भए पनि झडपको स्थिति भने आएन।
बेगुसरायमा आर्थिक समाजिक र राजनीतिक चेतका हिसाबमा दोयम खालका मानिसको बसोबास रहेछ। यसै पनि राष्ट्रिय राजनीतिबाट केही पर विहारको यो जिल्ला पछि पर्नु कुनै नयाँ कुरा भएन। तर पनि राष्ट्रिय संकटको घडीमा देशका लागि आफ्नो ज्यान दिन तयार हुने जिल्लाको रुपमा यस जिल्लाले परिचय कायम गरेको कन्हैयाको सम्बोधनका क्रममा थाहा पाएँ।
मानिसको यही भावनालाई आकर्षित गर्न कन्हैया आफैं पनि आफ्नो भाषणमा यो कुरालाई जोड जोडका साथ उठाउँछन्। ‘हाम्रो जिल्लाको योगदान समग्र देश विकासको योगदानमा कहाँ कम छ। यो जिल्लामा यस्तो कुनै गाउँ छैन, जहाँ देशको सुरक्षामा सहादतप्राप्त परिवार नहोस्,’ उनी थप्छन्, ‘तर पनि हाम्रो क्षेत्र राष्ट्रिय राजनीतिमा किन सधैं पछि पर्छ?’
उनी सबै गाउँमा भाषण गर्दैनन्। उनले भाषण गर्ने निश्चित ठाउँ पहिले नै तोकिएको छ। यो बीचमा उनलाई भाषण गर्न आग्रह नै गरेको दृश्य पनि देखिन्छ। उनलाई भाषण गर्न तोकिएको ठाउँ सायद उनी मतभारका हिसाबले कम्जोर रहेको ठाउँ हो, र त उनी त्यहाँका मानिसको इमानमाथि नै प्रश्न गर्दै भाषण गर्छन्, ‘आश्वासन चाहिन्छ कि विकास, माटो प्यारो कि पैसा, भविष्य हेर्छौं कि एक दिनको ठेका (रक्सी)’, इत्यादि।
यहाँका मानिसले एक छाक भात नै खाने भए पनि यहाँको प्रमुख अन्नबाली भने मकै रहेछ। वर्षको दुई बाली मकै खेती गर्ने यहाँको किसानका खेतमा अहिले मकै पाक्दै छ। यो पछि पनि मकै नै लगाइने प्रचार अभियानमा सहभागी एक अधबैंसेले बताए।
सिँचाइको कमीले यहाँ धानबाली नलाग्ने रहेछ। ती अधबैंसै भन्छन्, ‘यहाँको माटो उर्वर छ, धानखेती सुहाउँदो तर जमिन घोल छैनन्, टाँढी छन्, यहाँ प्रशस्त सिँचाइको कमीले धान खेती हुन सकिरहेको छैन।’ भात खाने तर धानखेती नहुने। चामल किन्न प्राय परिवारले धेरै रकम खर्च गर्ने यहाँको बाध्यता रहेछ।
यसैबीच कन्हैयाको विरोधमा बाटोमा कमलअंकित झण्डा (भाजपा) लिएर केही युवा देखा पर्छन्। ती उपस्थित युवाले कन्हैयाको विरोधमा केही बोले पनि त्यसले स्थितिलाई खासै प्रतिकूल बनाएन। दिन छिप्पिँदै गर्दा कन्हैयाको प्रचार अभियानमा सहभागी मानिसको संख्या पनि स्वःतस्र्फुत बढ्दै जान्छ। करिब सात सय जनाको भीड उनी अघिपछि आफ्नो निजी सवारीसाधका साथ अभियानमा सरिक हुन्छन्। करिब २ सय जनाको हुलबाट सुरु भएको यो अभियानमा जोडिने मानिसको संख्या निरन्तर बढ्दै जान्छ।
निवार्चनको प्रतिपर्धीहरुको उम्मेदवारीभन्दा अघि कांग्रेससमेत सहभागी महागठबन्धनले बेगुसरायमा कन्हैयालाई समर्थन गर्ने चर्चा थियो, जुन पूरा भएन। भारतीय कम्युनिस्ट पार्टीको उम्मेदवारका रुपमा निवार्चनमा प्रतिस्पर्धा गर्दै गरेका उनलाई आम आद्मी र बहुजन समाजवादी पार्टीको भने समर्थन प्राप्त छ।
भारतीय केही सञ्चारमाध्यम र सायद त्यसैको प्रभावलाई पछ्याउँदै नेपाली सञ्चारमाध्यमले यो निवार्चनमा कन्हैया पूर्ण रुपमा विजयी हुने आकलन गरेका छन्। तर, कन्हैया स्वयं भने आश्वश्त भएको पाइएन। मटिहानी ग्राम पञ्चायतको एक गाउँमा जनतालाई सम्बोधन गर्दै उनी भन्छन्, ‘म निवार्चनमा विजयी भए पनि नभए पनि निवार्चनपश्चात पनि जिल्लाको निरन्तर भ्रमणमा रहने छुुु।’
निवार्चनमा विजयी हुने मान्छेले जिल्लालाई बिसिन्छ नै। हार्ने मान्छे पनि निवार्चनपछि जिल्लावासीको दःख, पीडा बुझ्न आउने नगरेको प्रति कटाक्ष गर्दै आफू दुवै अवस्थामा जिल्लाको भ्रमण गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। यसले निवार्चन परिणाम आफ्नो अपेक्षाइतर आउन सक्ने विषयमा पनि उनी उत्तिकै सचेत रहेको बुझ्न सकिन्छ।
यसैबीच अपराह्नको खाना खान टोली मटिहानीस्थित भारतीय कम्युनिस्ट पार्टीको कार्यालय आइपुग्छ। पार्टी कार्यालय खरले भनेको सानो झुपडीमा छ। त्यहीँ अगाडि रोकिएको बुलेट मटरसाइकल, गाडीले भारतीय कम्युनिस्ट आन्दोलनको विषयमा धेरै कुरा बताउँदै थियो।
भारतीय केही सञ्चारमाध्यम र सायद त्यसैको प्रभावलाई पछ्याउँदै नेपाली सञ्चारमाध्यमले यो निवार्चनमा कन्हैया पूर्ण रुपमा विजयी हुने आकलन गरेका छन्। तर, कन्हैया स्वयं भने आश्वश्त भएको पाइएन। मटिहानी ग्राम पञ्चायतको एक गाउँमा जनतालाई सम्बोधन गर्दै उनी भन्छन्, ‘म निवार्चनमा विजयी भए पनि नभए पनि निवार्चनपश्चात पनि जिल्लाको निरन्तर भ्रमणमा रहने छुुु।’
खाना खाइसकेपछि कन्हैया, उनका भाइ प्रिन्स र म नजिकैको एक घरमा जान्छौँ। बाहिर हल्ला बढी भएकाले रेर्कडिङमा समस्या हुने भएकाले र कन्हैयालाई केहीबेर आराम गर्न यस्तो व्यवस्था मिलाइएको बुझ्न सकिन्छ।
घरभित्र प्रवेश भएपछि दाजुभाइबीच सुरु हुन्छ खर्चको हिसाकिताब। भाइले खर्च विवरण दिँदै गर्दा कन्हैया अप्ठेरो महसुस गर्छन्। भन्छन्, ‘दैनिक चल्ने तीन चार वटा गाडीको व्यवस्था, प्रचार अभियानमा संलग्न मानिसलाई दैनिक खुवाउनुपर्ने खर्च यसरी त कसरी व्यवस्था गर्न सकिन्छ?’ सायद यहाँ खर्च बढी आयो भन्ने कन्हैयाको आशय थियो।
आखिर जनताको सहयोगमा निवार्चन प्रचारमा कन्हैया र उनको समर्थक जुटिरहेका छन्। निवार्चनको दिन आउन दुई हप्ता बाँकी रहँदा प्रचार अभियान अझै सघन रुपमा सञ्चालन गर्नु पर्नेछ। जनताको सहयोगमा प्रचार अभियानमा रहेको उनको टोलीमा आर्थिक अपचलन हुने सम्भावना कति रहन्छ? अथवा आर्थिक संकट कै कारण उनी निवार्चनमा पराजित हुन्छन्?
प्रकाशित: ७ वैशाख २०७६ ०७:२५ शनिबार