२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

निर्वाचनको नतिजालाई चुनौती

अंकारा – केही दिनअघि सम्पन्न स्थानीय निर्वाचनमा धाँधली भएको भन्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको दल एके पार्टीले विरोधपत्र बुझाएको छ। इस्तानबुलका सबै ३९ वटै जिल्लामा भएको स्थानीय निर्वाचनको नतिजामाथि असहमति प्रकट गर्दै राष्ट्रपति एर्दोगानको दलले विरोधपत्र बुझाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

प्रमुख विपक्षी दलबाट उम्मेदवारी दिएको उम्मेदवारले झिनो मतान्तरले जित हासिल गरेपछि एके पार्टीले विरोधपत्र बुझाएको सो दलका प्रान्तीय प्रमुखले मंगलबार बताएका छन्। टर्कीको स्थानीय निर्वाचनमा एके पार्टीले राजधानी अंकारा र व्यापारिक केन्द्र इस्तानबुल दुवै सहरमा पराजय भोगेको थियो। आर्थिक मन्दीबाट गुज्रिरहेको टर्कीलाई आर्थिक समुन्नति प्रदान गर्ने राष्ट्रपति एर्दोगानको परीक्षाका रूपमा लिइएको स्थानीय निर्वाचनमा उनले नै लामो समयदेखि नेतृत्व गरिरहेको सहरमा पराजय भोग्नुलाई एके पार्टीले सहज रूपमा लिन सकिरहेको छैन।

इस्तानबुलको मेयरमा प्रमुख विपक्षी दल रिपब्लिकन पिपल्स् पार्टीका उम्मेदवार एक्रेम इमामोग्लु र एके पार्टीका तर्फबाट पूर्वप्रधानमन्त्री बिनाली यिलदिरिम चुनावी प्रतिस्पर्धामा रहेका छन्। दुवै उम्मेदवारले सोमबार दिएको जानकारीअनुसार रिपब्लिकन पिपल्स् पार्टीका उम्मेदवार इमामोग्लु करिब २५ हजार भोटसहित अगाडि रहेका छन्। इस्तानबुलमा करिब एक करोड ५० लाख मानिसको बसोबास रहेको छ।
इस्तानबुलमा धाँधली भएका कारण विरोध गर्न पाउने अधिकारको एकेपीले प्रयोग गर्ने सो दलले जनाएको छ। त्यहीअनुरुप दलको इस्तानबुल प्रमुखले मंगलबार अपिलका लागि दिइएको समय सीमाभित्रै स्थानीय समयअनुसार मंगलबार दिउँसो ३ बजे विरोधपत्र बुझाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

‘३ बजेसम्मको समयसीमा भित्रै हामीले हाम्रो विरोध पत्र आज जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छौं,’ एके पार्टीका नेता बेराम सेनोकाकले इस्तानबुलमा सञ्चारकर्मीहरुसँग बताए। उनले मतदाता सूचीमा भएको भन्दा बढी संख्याले मतदान गरेको आरोपसमेत लगाए।

‘जो कोही नेताले पनि जुनसुकै कारणले यस्तो धाँधली गरेको भए पनि हामी यसलाई अत्यन्तै नजिकबाट लिनेछौं र उचित कानुनी उपचारमा लाग्ने छौं,’ उनले बताए। रिपब्लिकन पिपल्स् पार्टीका उम्मेदवार इमामोग्लुले मंगलबार एके पार्टीले आफूलाई बधाई दिन छोडेर विरोध पत्र दर्ता गरेको देख्दा आफूलाई अचम्म लागेको बताएका छन्।

‘मेलै भनिरहेका छु नि बिनाली यिलदिरिमले पछुताउने छन्। तपाईं यो देशको मन्त्री, सभामुख र प्रधानमन्त्री भइसकेको मान्छे हो,’ अंकारा जानुअघि अटाटर्क विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै इमामोग्लुले बताए। उनले बिनालीले आफूलाई बधाई दिनु नै बुद्धिमता हुनेसमेत जिकिर गरेको रोयटर्सले उल्लेख गरेको छ।

 

प्रकाशित: २० चैत्र २०७५ ०४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App