११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले लगाएको आरोप हुवावेद्वारा अस्वीकार

हुवावे कम्पनी र उसको प्रमुख आर्थिक अधिकारी मेङ वान्झाओविरुद्ध अभियोग घोषणा गर्दै अमेरिकी अधिकारी। तस्बिर : एजेन्सी

बेइजिङ – कम्पनीविरुद्ध अमेरिकी अभियोजनकर्ताहरुले आपराधिक मुद्दा दर्ता गरेपछि हुवावेले आफूले केही गलत नगरेको बताएको छ। अमेरिकी आग्रहमा गत महिना क्यानडामा पक्राउ परेकी आफ्नो प्रमुख आर्थिक अधिकारी मेङ वान्झाओविरुद्ध गरिएको आपराधिक दाबीको पनि चीनको विशाल दूरसञ्चार कम्पनीले हुवावेले अस्वीकार गरेको बिबिसीले उल्लेख गरेको छ।

अमेरिकामा दर्ता भएको हुवावेविरुद्धको मुद्दामा बैंकिङ कसुर, न्यायमा अवरोध र प्रविधिको चोरी गरेको आरोप लगाइएको छ। हुवावेविरुद्धको मुद्दाले चीन र संयुक्त राज्य अमेरिकाबीच तनाब उत्पन्न हुन सक्ने अनुमान गरिएको छ। कम्पनीविरुद्ध अमेरिकाले ल्याएको मुद्दाबारे थाहा पाउँदा आफूहरु निराश भएको हुवावेले प्रकाशन गरेको विज्ञप्ति उद्धृत गर्दै बिबिसीले जनाएको छ।

कम्पनीले कुनै पनि कानुनको उल्लङ्घन नगरेको र आफ्नो प्रमुख कार्यकारी आर्थिक अधिकारी मेङले पनि कुनै गल्ती गरेको बारे जानकारी नभएको हुवावेको विज्ञप्तिमा भनिएको छ।

हुवावेविरुद्ध के अभियोग लगाइएको छ ?
सोमबार घोषणा गरिएको अभियोगमा हुवावेले आफ्ना दुई सहायक कम्पनी, हुवावे डिभाइस युएसए र स्काइकम टेकलाई इरानसँग व्यापार गर्नका लागि नभनेको भन्दै अमेरिकी तथा विश्व बैंकलाई ढाँटेको अभियोग लगाइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वका ६ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौताअन्तर्गत हटाइएको इरानमाथिको प्रतिबन्ध पुनः लगाएको छ र भर्खरै मात्र उसले इरानमाथि थप कडा कदम चालेको छ, जसमा उसको तेल आयात, व्यापार र बैंकिङ क्षेत्रमा समेत प्रहार गरिएको छ।

अमेरिकाले हुवावेमाथि लगाएको दोस्रो अभियोगमा प्रविधि चोरीसम्बन्धी रहेको छ। हुवावेले स्मार्टफोनको स्थायित्व चेकजाँच गर्नका लागि टी–मोबाइल फोन कम्पनीको प्रविधि चोरेको तथा तार कसुर गर्दै न्यायमा अवरोध गरेको अमेरिकाले आरोप लगाएको छ। हुवावेले भने टी–मोबाइलसँगको विवाद सन् २०१४ मा दर्ता गरिएको नागरिक मुद्दाबाट समाधान गरिसकेको बताएको छ। कम्पनीको ट्याप्पी नामक प्रविधिले फोनको जाँच गर्नका लागि मानव औंला प्रयोग गर्ने प्रविधि टी–मोबाइलबाट नक्कल गरेको थियो। समग्रमा अमेरिकाले हुवावेविरुद्ध २३ वटा अभियोग लगाएको छ।

‘यी आरोपहरुले हुवावेले हाम्रो देशको कानुन र विश्वव्यापी व्यापरिक अभ्यासको उल्लङ्घन गरेको प्रष्ट हुन्छ,’ अमेरिकाको केन्द्रीय अनुसन्धान ब्युरो एफबिआईका निर्देशक क्रिस्टोफर रेलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। उनले हुवावेजस्ता कम्पनीले देशको आर्थिक र राष्ट्रिय सुरक्षा दुवैमा चुनौती खडा गरेको आरोपसमेत लगाएका छन्।
केही चिनियाँ कम्पनीलाई खराब देखाउन र दबाउनका लागि अमेरिकाको राजनीतिक स्वार्थ प्रष्ट रूपमै देखिएको राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चीन सरकारका प्रवक्ता गेङ सुआङले बताए।

‘चिनियाँ कम्पनीलाई निष्पक्ष र स्वतन्त्र रूपमा व्यवहार गर्न हामी अमेरिकासमक्ष आग्रह गर्छौं,’ प्रवक्ता गेङलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

हुुवावे दूरसञ्चार उपकरण र सेवा प्रदान गर्ने विश्वको ठूलो मध्येको एक कम्पनी हो। भर्खरै मात्र हुवावेले एप्पल कम्पनीलाई पछि पार्दै स्मार्टफोन उत्पादनमा विश्वकै एक नम्बर बन्न सफल भएको थियो। अमेरिका र पश्चिमा राष्ट्रहरुले भने हुवावेको बढ्दो क्रेजप्रति औंला ठड्याउँदै आएका छन्। उनीहरुले हुवावेमार्फत् चीनले विश्वभर आफ्नो गुप्तर क्षमतालाई वृद्धि गर्नसक्ने तर्फ चिन्ता व्यक्त गर्दै आएका छन्। हुवावेले भने आफ्नो कम्पनीमा सरकारको कुनै पनि नियन्त्रण नरहेको पटकपटक बताउने गरेको छ।

विश्वका दुई ठूला अर्थतन्त्र संयुक्त राज्य अमेरिका र चीनबीच गत वर्ष व्यापारिक तनाब उत्कर्षमा रहेको थियो।  वर्षको लगभग अन्त्यतिर दुई देशका राष्ट्रपतिले अर्जेन्टिनको राजधानी ब्युनस आयर्समा आयोजना भएको विश्वका २० शक्तिशाली राष्ट्रको सम्मेलन ‘जी–ट्वान्टी’को साइडलाइन मिटिङमा ९० दिनसम्म दुवै देशका सामानमा अतिरिक्त कर (ट्यारिफ) नलगाउनेबारे सहमति गरेका थिए।

सहमतिसँगै दुई देशका अधिकारीहरुबीच वार्ताको ढोका खोलेको थियो। यहीबेला अमेरिकी आग्रहमा क्यानडाले हुवावेकी मालिककी छोरी एवं हुवावेकी कार्यकारी अधिकारी मेङलाई पक्राउ गरेपछि चीन आक्रोशित बनेको छ।  उसले क्यानडाको कदमप्रति प्रतिशोधस्वरुप दुई क्यानेडेली पूर्वकूटनीतिज्ञलाई पक्राउ गरेको छ। यद्यपि उसले देशको आन्तरिक सुरक्षामा खलल पुर्याएको भन्दै ती व्यक्तिलाई पक्राउ गरेको बताउने गरेको छ।

मेङलाई अमेरिकी आग्रहमा क्यानडाको दक्षिणी सहर भ्यानकोउभरमा गत डिसेम्बर १ का दिन पक्राउ गरिएको थियो। उनलाई स्थानीय अदालतले पक्राउ परेको केही दिनपछि ७६ लाख अमेरिकी डलर जमानतमा छोड्न आदेश दिएको थियो। उनी जमानतमा रिहा भए पनि हाल उनमाथि २४सै घण्टा सिसिटिभी निगरानीमा राखिएको र इलेक्ट्रोनिक एंकल ब्याग लगाउन लगाइएको बिबिसीले जनाएको छ।

प्रकाशित: १६ माघ २०७५ ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App