१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यानेडेली नागरिकलाई माफी दिन आग्रह

डालियन इन्टरमिडियट पिपल्स कोर्टमा सुनुवाइका क्रममा क्यानेडेली नागरिक रोबर्ट लोयड सेलेन्बर्गलाई (बीचमा)। तस्बिर :एजेन्सी

मन्ट्रियल – लागूऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै चीनमा मृत्युदण्ड सुनाइएका एक क्यानडेली नागरिकलाई माफी दिन क्यानडाले बेइजिङसमक्ष आग्रह गरेको छ।  चीन र क्यानडाबीच जारी कूटनीतिक तनावकै बीच चीनको एक अदालतले ती क्यानेडेली नागरिकलाई मृत्युदण्डको फैसला गरेको थियो। फैसलापछि दुई देशबीचको कूटनीतिक विवाद झनै बढेको छ। चीनमा आफ्ना नागरिकमाथि बिना कसुर एकपक्षीय कानुनी कारबाही भएको क्यानडाले आरोप लगाएको छ। उसले चीन भ्रमण गर्नुअघि सावधानी अपनाउन पनि आफ्ना नागरिकलाई अनुरोध गरेको फ्रान्सेली समाचार एजेन्सी एएएफपीले जनाएको छ। 

चीनको एक अदालतले यसअघि दिइएको १५ वर्षको जेल सजायमा वृद्धि गरी सोमबार ३६ वर्षीय रोबर्ट लोयड सेलेन्बर्गलाई मृत्युदण्डको फैसला गरेको थियो। अमेरिकी आग्रहमा चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेको मालिककी छोरी एवं कम्पनीकी प्रमुख वित्तीय अधिकृत मेङ वाङझोउलाई गत डिसेम्बरमा क्यानडाले पक्राउ गरेपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको छ। ‘क्यानेडेली नागरिकलाई मृत्युदण्डको फैसला सुनाइएकोबारे क्यानाडास्थित चिनियाँ राजदूतसमक्ष यस बारेमा हामीले कुरा राखिसकेका छौं र हामीले क्यानाडेली नागरिकलाई माफी दिन आग्रह गरेका छौं,’ क्यानाडाका विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले बताइन्।

विदेशमन्त्री फ्रिल्यान्डले क्यानडाले लामो समयदेखि कसैलाई मृत्युदण्ड नदिएको स्मरणसमेत गरेकी छन्। ‘हाम्रो विश्वासमा मृत्युदण्ड दिनु अमानवीय र अनुपर्युक्त हो र कुनै पनि क्यानेडेली नागरिकका हकमा यस्तो सजाय भए हामी विरोध गर्छौं,’ उनले बताइन्। हुवावेकी कार्यकारी क्यानडामा पक्राउ परेसँगै चीनले राष्ट्रिय सुरक्षामा खतरा पु-याएको भन्दै अन्य दुई क्यानेडेली नागरिकलाई पनि पक्राउ गरेको छ। अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचका कार्यकारी निर्देशक केन्नेथ रथले चीनले ‘शरीर बन्धक राजनीति” गर्न थालेको आरोप लगाएको फ्रान्सेली समाचार एजेन्सी एएफफीले जनाएको छ। चीनमा हरेक वर्ष एक वा दुईजना विदेशीले मृत्युदण्ड पाउने गरेका छन्। 

प्रकाशित: ३ माघ २०७५ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App