४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले आणविक युद्धको खतरा बढाइरहेको रुसी आरोप

राजधानी मस्कोमा आयोजित वार्षिक पत्रकार सम्मेलनमा बोल्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन।  तस्बिर : एजेन्सी

मस्को - हतियार नियन्त्रणसम्बन्धी प्रमुख सम्झौताबाट बाहिरिने धम्की दिँदै अमेरिकाले आणविक युद्धको खतरा बढाएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आरोप लगाएका छन्।  हतियार नियन्त्रणसम्बन्धी सम्झौताको समयावधी चाँडै नै सकिन लागेको अवस्थामा अर्को सम्झौताबारेको वार्तामा बस्न इन्कार गरिरहेको अमेरिकाले आणविक युद्धको खतरा बढाएको पुटिनको आरोप रहेको छ। राजधानी मस्कोमा आयोजित नियमति पत्रकार सम्मलेनका क्रममा पुटिनले अमेरिकामाथि यस्तो आरोप लगाएका हुन्।  

तीन घन्टाभन्दा बढी समयसम्म चलेको पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति पुटिनले सिरियाबाट अमेरिकी सेना फिर्ता लैजाने भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयको भने स्वागत गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।  अर्को फरक प्रसंगमा पुटिनले बेलायती प्रधानमन्त्री थेरेसमा मेसँग ब्रेक्जिट लागू गर्नुबाहेकको कुनै विकल्प नरहेको समेत बताएका छन्।  उनले पश्चिमा प्रजातन्त्र गम्भीर सकसमा रहेको समेत दाबी गरेका छन्।  वार्षिक रूपमा आफ्नो कार्यकालको प्रशंसा गर्न र विदेशी गठबन्धन राष्ट्र तथा शत्रु राष्ट्रहरुलाई सन्देश दिन रुसी राष्ट्रपतिले आयोजना गर्ने पत्रकार सम्मलेनका क्रममा यस वर्ष पुटिनले विश्वमा नयाँ प्रकारको हतियार दौड सुरु भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।  

उनले अमेरिकाले हतियार नियन्त्रणसम्बन्धी सम्झौताबाट हात झिक्ने भनेर गरेको घोषणाले विश्वमा नयाँ प्रकारको हतियार दौड हुने भन्दै ठूलो चिन्ता व्यक्त गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।  वासिङ्टनले सन् १९८७ मा भएको ‘इन्टरमेडियट–रेन्ज न्युक्लियर फोर्सेस् ट्रिटी (आइएनएफ)बाट हात झिक्ने चेतावनी दिइसकेको छ।  सो सम्झौताले मस्को र वासिङ्टन दुवैलाई युरोपमा जमीनमा आधारित छोटो र मध्यम दूरीको क्षेप्यास्त्र राख्न प्रतिबन्ध गरेको छ।  उनले यदि अमेरिकाले त्यस्तो निर्णय ग-यो भने त्यसले अकल्पनीय असर निम्त्याउने चेतावनीसमेत दिएका छन्।  

‘हामीले अन्तर्राष्ट्रिय हतियार नियन्त्रण तह तोडिँदै जाने र नयाँ खालको हतियार दौडको अवस्था देखेका छौं,’ एक हजारभन्दा बढी पत्रकार सहभागी भएको पत्रकार सम्मलेनका क्रममा पुटिनले बताए। ‘यदि अमेरिकाले आइएनएफबाट हात झिक्यो भने विश्वको अवस्था कस्तो हुन्छ भनेर हामीले सोच्नसमेत सक्दैनौं।  यदि यी क्षेप्यास्त्रहरु युरोपमा देखिए भने हामीले के नै गर्न सक्छौं र ? निश्चय पनि हामीले आफ्नो सुरक्षाको प्रत्याभूति गर्नुपर्छ,’ पुटिनले बताए।  राष्ट्रपति पुटिनले केही दिनअघि यदि युरोपका कुनै पनि देशले अमेरिकी रकेटलाई राखे भने रुसले पनि बाध्य भएर आफ्नो क्षेप्यास्त्र राख्नुपर्ने बताएका थिए।  

अमेरिका र रुसबीच भएको अर्को सम्झौता जसलाई ‘न्यु स्टार्ट’ का नामले चिनिन्छ, त्यसले दुवै देशलाई आणविक हतियारको संख्यामा सिमित गराएको थियो।   सो सम्झौताको पनि सन् २०२१ मा समयावधि सकिँदै छ।  पुटिनले यस विषयमा पनि थप छलफल गर्न आवश्यक भए पनि वासिङ्टनले यसलाई वेवास्ता गरेको भन्दै पुटिनले चिन्ता व्यक्त गरेको समाचार एजेन्सी रोयटर्स उल्लेख गरेको छ।  ‘सो सम्झौताको म्याद थप गर्नेबारे दुवै देशबीच अहिलेसम्म कुनै वार्ता भएको छैन।  के अमेरिकीहरु यस विषयमा इच्छुक छैनन् कि उनीहरुलाई यस्तो सम्झौता आवश्यक छैन ? यदि त्यसो हो भने ठिकै छ, हामी पनि बाँच्ने छौं र हामीले आफ्नो सुरक्षाको प्रत्याभूति आफै गर्छौं, र त्यो कसरी गर्नुपर्छ हामीलाई राम्रोसँग थाहा छ।  तर यथार्थमा भन्नुपर्दा त्यस्तो अवस्था मानवीयताका लागि हानिकारक हुने छ,’ पत्रकार सम्मलेनमा रुसी राष्ट्रपति पुटिनले बताए।  

 

प्रकाशित: ६ पुस २०७५ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App