८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

श्रीलङ्काका अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घेकाे पुनर्बहाली

तस्बिर : एजेन्सी

कोलम्बो - श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन्। राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक सङ्कट सुरु भएको ५१ दिनपछि विक्रमासिङ्घेलाई पुनर्बहाली गरेका हुन्। सिरिसेनाले गत अक्टोबर २६ का दिन विक्रमासिङ्घेलाई प्रधानमन्त्रीबाट हटाई महिन्द्रा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

विक्रमासिङ्घेलाई राष्ट्रपति सिरिसेनाले आइतबार पद तथा गोपनीयताको सपथ गराएका छन्। विक्रमासिङ्घेलाई अपदस्त गरेर प्रधानमन्त्रीमा नियुक्त गरिएका महिन्द्रा राजापाक्षेले शनिबार राजीनामा दिएपछि आफैँले बर्खास्त गरेका विक्रमासिङ्घेलाई पुनर्बहाली गर्न सिरिसेना बाध्य भएका थिए। राष्ट्रपतिद्वारा नियुक्त प्रधानमन्त्री राजापाक्षेलाई संसद र अदालतले अबैध भन्दै काम गर्न नदिएपछि उनले शनिबार राजीनामा दिएका थिए।

संसद र अदालत दुबैले संसदबाट बहुमतप्राप्त भएकाले विक्रमासिङ्घेलाई नै प्रधानमन्त्रीका रुपमा काम गर्न दिनुपर्ने आदेश दिएपछि सिरिसेनाले उनलाई नै फेरि नियुक्त गर्न बाध्य भएका हुन्।

विक्रमासिङ्घेको युनाइटेड नेसनल पार्टीले ट्वीट मार्फत् राष्ट्रपतिको अवैधानिक कदमलाई परास्त गर्न र विधिको शासन स्थापित गर्न लडेका सबैप्रति धन्यवाद ज्ञापन गरेको छ। विक्रमासिङ्घेका एकजना प्रवक्ताले उनले चाँडै नै मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिए।

प्रकाशित: १ पुस २०७५ ०७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App