२२ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्समा तीन वर्षयताकै ठूलो आक्रमण

पेरिस – फ्रान्सको प्रसिद्ध स्ट्रासबर्ग सहर नजिकैको क्रिसमस बजारलाई लक्षित गरी मंगलबार भएको आतंककारी आक्रमणलाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमणको रूपमा लिइएको छ।

स्थानीय समयअनुसार मंगलबार राति आठ बजे स्ट्रासबर्ग सहर नजिकैको एक क्रिसमस बजारमा एक बन्दुकधारीले गोली चलाउँदा चार व्यक्तिको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका थिए। एएफपी समाचार समितिका अनुसार ती बन्दुकधारीले बजारमा सामान खरिद गरिरहेका ग्राहकतर्फ लक्षित गर्दै गोली चलाएका थिए। आक्रमणमा परी घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। बन्दुकधारीको परिचय खुलेको र उनी पहिलेदेखि उच्च निगरानीमा रहेका चरमपन्थी समूहका सदस्य भएको फ्रान्स प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

क्रिमसमका लागि विशेष योजनासहित सञ्चालन गरिएको बजारमा एक बन्दुकधारीले जथाभावी रूपमा गोली प्रहार गरेपछि अहिले स्थानीय बासिन्दा त्रसित भएको बताइएको छ। सन् २०१५मा फ्रान्सभरी भएका विभिन्न आतंकवादी हमला र चार्ली हाब्डो गोलीकाण्डमा परी दुई सय ४५ जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। त्यसपछि सन् २०१८ को मे १२ मा एक व्यक्तिले गरेको चक्कु प्रहारमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य चार घाइते भएका थिए। सो आक्रमणकारी प्रहरीको गोलीबाट मरिएका थिए।

सन् २०१८ को मार्च ३ मा फ्रान्सको दक्षिणी सहरमा भएको एक बन्दुकधारीको आक्रमणमा प्रहरीका एक कर्णेलसहित चार व्यक्तिको मृत्यु भएको थियो।    सन् २०१७ को अक्टोबर १ मा फ्रान्सको दक्षिणी प्रमुख सहर मसैलीको रेलवे स्टेसनमा २९ वर्षीया एक ट्युनिसियाली नागरिकले ठूलो आवाजमा ‘अल्लाह अक्बर’ भन्दै दुई युवतीको गोली प्रहार गरी हत्या गरेका थिए। अहमत हनाची नामका ती बन्दुकधारी प्रहरी कारबाहीमा मारिएका थिए। उनले गरेको आक्रमणलाई इस्लामिक स्टेट्स (आईएस) लडाकु समूहले जिम्मा लिएको थियो। सन् २०१७ को २० अप्रिलमा ३९ वर्षीया एक अपराधीले  फ्रान्सको राजधानी सहर पेरिसमा गरेको गोली प्रहारमा परी ड्युटीमा रहेका एक प्रहरीको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए। सन् २०१७ को जुलाई २६ मा दुई युवकले एक ८५ वर्षीया पूजारीलाई घाँटी रेटेर हत्या गरेका थिए। यसरी हेर्दा यसबीचका घटनामध्ये अहिलेको घटना सबै भन्दा डरलाग्दो र ठूलो भएको अधिकारीहरुको भनाइ छ।

मंगलबारको घटना घटाएपछि बन्दुकधारी एउटा रोकिराखेको ट्याक्सीतर्फ भागेका थिए। उनलाई सो ट्याक्सीले लगेको थियो। त्यसपछि उक्त ट्याक्सीले न्युडर्फमा रहेको प्रहरीको क्षेत्रमा उनलाई पुर्याएर ओरालिदिएको थियो। सो क्षेत्र जर्मनी र फ्रान्सको सिमावर्ती सहर भएको बताइएको छ। ट्याक्सीबाट ओर्लिएपछि ती बन्दुकधारीले प्रहरी अधिकारीमाथि पनि गोली चलाएको समाचार एजेन्सी एएफपीले जनाएको छ। यसैबीच स्ट्रासबर्गमा गोली चलाउने ती बन्दुकधारीले पनि साँझको बेला क्रिसमस बजारमा रमाइरहेका सर्वसाधारणमाथि गोली चलाउनुपूर्व ‘अल्लाह अकबर’ भनेर चिच्याएको पेरिसका सार्वजनिक अभियोजनकर्तालाई उद्धृत गर्दै एएफपीले जनाएको छ। घटनामा संलग्न चारजनालाई पक्राउ गरिएको उनले बताएका छन्।

गोली चलाउने मुख्य व्यक्तिको खोजीमा सयौं प्रहरी अधिकारी लागिपरेको फ्रान्सका आन्तरिक उपमन्त्री लाउरेन्ट नुनेन्जले बताए। उनले आक्रमणकारीले फ्रान्स छोडिसकेको हुनसक्ने पनि बताएका छन्। आन्तरिक मन्त्री क्रिस्टोफर कास्टानरले देशमा उच्च सुरक्षा व्यवस्था कायम गरिएको बताएका छन्। उनले सीमा नियन्त्रणलाई मजबुत बनाइएको बताउँदै सबै क्रिसमस बजारमा सुरक्षा प्रदान गरिने दाबीसमेत गरेका छन्।

प्रकाशित: २७ मंसिर २०७५ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App