२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘अमेरिकी लडाकु विमानको उडान रोक्दैछौं’

वासिङ्टन – अमेरिकी बम हमलाकारी लडाकु विमानले दक्षिण कोरियाको आकासमा उडान भर्न स्थगित गरेको एकजना अमेरिकी उच्च अधिकृतले सोमबार जानकारी दिएका छन्।

दक्षिण कोरिया सरकारको आग्रहपछि उक्त निर्णय गरिएको ती अधिकारीलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। अमेरिकी प्रशान्त हवाई फौजको नेतृत्व गरिरहेका जनरल चाल्र्स ब्राउनले उत्तर कोरियाली आणविक गतिविधिलाई सम्बोधन गर्नेगरी भइरहेका कूटनीतिक प्रयत्नमा सकारात्मक वातावरण निर्माण गर्न सैनिक अभ्यास स्थगित गरिएको जिकिर गरेका छन्।

अमेरिकी पत्रकारलाई प्रतिक्रिया दिँदै जनरल ब्राउनले भने, ‘हालको कूटनीतिक वार्तालाई असर पर्न नदिने कुरामा हामी सचेत छौं।’

अमेरिकाले सन् २००४ देखि गुआमस्थित हवाई अखाडामा अमेरिकी हवाई सैन्यबलले बमवर्षक बी–१बी, बी–५२ र बी–२ जहाज तैनाथ गरेको छ। यी जहाजले उत्तर कोरियाको आकास र सामुद्रिक क्षेत्रमा नियमित उडान गर्छन्। यसक्रममा जापान, दक्षिण कोरया र अस्ट्रेलियाका सैनिक विमान पनि सहभागी हुने गरेका छन्।

ब्राउनले कोरियाली प्रायःद्वीपमा बमवर्षक विमानको उडान स्थगित गरिए पनि विमानको संख्यामा भने कटौती नगरिएको बताएका छन्। उत्तर कोरियाली नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत जुनमा सिंगापुरमा भएको ऐतिहासिक शिखर सम्मेलनपछि अमेरिका र दक्षिण कोरियाले गर्दै आएका विशाल सैन्य अभ्यासलाई सानो आकारमा सीमित गरेको छ।

प्रकाशित: १२ मंसिर २०७५ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App