४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

करवृद्धिले चिनियाँ कम्पनी पलायन

बेइजिङ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिबाट जोगिन ठूलो संख्यामा चिनीयाँ कम्पनीले नयाँ तरिका अपनाएका छन् । ‘चीनमा निर्मित’को साटो उत्पादित बस्तुका ट्यागमा भियतनाम, सर्बिया र मेक्सिकोको नाम छाप्न थालिएको छ।

राष्ट्रपति ट्रम्पले करिब ५० अर्ब डलर बराबरका चिनीयाँ बस्तुमा २५ प्रतिशत करवृद्धि गरेको घोषणा गरेलगत्तै विश्वकै दुई सर्वाधिक ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच केही महिनादेखि व्यापारिक तनाव चुलिएको छ । अमेरिकी घोषणालगत्तै चीनले पनि प्रतिशोध स्वरुप अमेरिकी आयातमा करवृद्धि गरेको छ।

सेन्जेनमा सूचीकृत मोटरसाइकलको पार्टपूर्जा बनाउने एच–१ कर्पले गत महिना नै भियतनामबाट उत्पादन थाल्नुपर्ने एउटा प्रमुख कारण करवृद्धि हो भन्ने जानकारी लगानीकर्तालाई दिएको थियो । कम्पनीले करवृद्धिका असरबाट बच्न उत्पादन कटौती पनि गर्ने बताएको छ । ट्रम्पले अगस्ट महिनामा विद्युतीय बाइकसहित मोटरसाइकल र त्यसका पार्टपूर्जामा नयाँ कर लगाउने घोषणा गरेका थिए।

बाइकदेखि टायर, प्लास्टिकदेखि टेक्स्टाइलसम्मका चिनीयाँ कम्पनीहरुले कारखाना अन्य देशतर्फ स्थानान्तरण गरिरहेका छन् । सरकारलाई जानकारी दिएरै स्थानान्तरण गरिएका यी कम्पनीको मुख्य उद्देश्य नै अमेरिका प्रवेश गर्ने वस्तुमाथि लाग्ने अतिरिक्त कर हो।

राष्ट्रपति ट्रम्पले गत साता मात्र करिब २ सय अर्ब अमेरिकी डलर बराबरका चिनीयाँ सामग्रीमा करवृद्धि गर्ने चेतावनी दिएका थिए । ‘विश्वभरका कम्पनीहरुले आफ्नो आपूर्ति व्यवस्थामा समीक्षा गर्नुपर्ने अवस्थामा सिर्जना भएको छ,’ क्रिस्टोफर रोजर्सले भने।

हालैका वर्षमा आपूर्ति प्रणाली चीनले अन्यत्र स्थानान्तरण गरिरहेको छ किनभने चीनभित्रै पनि श्रमिक र वातावरण संरक्षणको लागतमा वृद्धि भइरहेको छ । चीन अहिले कतिपय व्यवसायका लागि आकर्षक मानिन्न । विज्ञहरु र कम्पनीहरुको भनाइमा करवृद्धिले आगोमा घिऊ थपेको छ।

‘चीन–अमेरिका व्यापार असमझदारीले विश्वव्यापी आपूर्ति प्रणालीमा तीव्र प्रभाव पार्ने निश्चित छ,’ डब्लुटिओ स्टडिजका अनुसन्धान निर्देशक कुई फानले बताए, ‘अत्यधिक श्रमिक आवश्यक पर्ने कारखाना पलायन हुँदा त्यसले बेरोजगारी समस्या निम्त्याउँछ र यस विषयलाई गम्भीरतापूर्वक विचार गरिनु आवश्यक छ ।’ कारखाना अन्यत्र सार्दैमा अमेरिकाको समग्र व्यापार घाटामा कमी ल्याउन मद्दत नगर्ने फानले बताए।

खेलौना निर्माता कम्पनी हास्ब्रो, क्यामेरा निर्माता ओलम्पस, जुत्ता निर्माता डेकर्स एन्ड स्टिभ म्याडेन समेतका अरु पनि महत्वपूर्ण कम्पनी चीनबाट पलायन हुन लागेकाले बेइजिङलाई चिन्तित तुल्याएको छ । झेजियाङ हाइलाइड न्यु मेटेरियल कम्पनीले आफ्ना उत्पादन अमेरिका र अरु मुलुकमा निकासी गर्दछ । अमेरिकी करवृद्धिले यो कम्पनीलाई पनि असर पारेको छ र अरु २ सय अर्ब डलर बराबरका चिनीयाँ सामानमा करवृद्धि घोषणा भए यस कम्पनीको उत्पादनमा धेरै ठूलो प्रभाव पर्नेछ।

‘अहिले हाम्रो सम्पूर्ण उत्पादन चीनमै भइरहेको छ । करवृद्धि समेतका जटिलताबाट बच्न हाम्रो कम्पनीले लामो छलफल पश्चात भियतनाममा नयाँ कारखाना खोल्न लागेको छ,’ कम्पनीका उपाध्यक्षले बताए । उहाँले करिब १५ करोडको लगानीबाट कारखानाको उत्पादनलाई नियमित गर्न सकिने बताए।

करवृद्धिको प्रभावबाट बच्न कतिपय तयारी पोशाक उत्पादकहरु म्यान्मार, थाइल्यान्डतर्फ पलायन भएका छन् भने विद्युतीय मोटर उत्पादक एक कम्पनी मेक्सिको गएको छ । त्यस्तै सर्बियामा करिब एक अर्ब डलरमा लिङलोङ टायरले कारखाना स्थापना गर्न लागेको छ । टायर निर्मातामाथि अमेरिकी करवृद्धिले सबैभन्दा बढी समस्या सिर्जना गरेको छ।

 

प्रकाशित: २७ भाद्र २०७५ ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App