२४ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जिम्बाब्वे निर्वाचनमा धाँधली भएकाे विपक्षीकाे आरोप

जिम्बाब्वेमा सोमबार भएको निर्वाचनमा मतदान गर्नका लागि कुइकुईस्थित सेरवुड प्राथमिक विद्यालयमा लामबद्ध मतदाता । तस्बिर : एजेन्सी

हरारे– दशकौंसम्म शासन गरेका रोबर्ट मुगावेलाई पदमुक्त गरेपछि पहिलो पटक सोमबार जिम्बाब्वेमा निर्वाचन सम्पन्न भएको छ।

निर्वाचनमा धाँधली भएको विपक्षीले आरोप लगाएका छन् । उनीहरुले वर्तमान राष्ट्रपति एमर्सन नंगाग्वा समर्थकले देशैभर मतदातालाई धम्क्याएको हुनसक्ने बताएका छन्।

बर्खास्त गरिएका रोबर्ट मुगावेका लामो समयदेखिका साझेदार वर्तमान राष्ट्रपति नंगाग्वाका प्रमुख प्रतिस्पर्धीका रूपमा हेरिएका नेल्सन चामिसाले निर्वाचनमा धाँधली भएको भन्नेबारे कुनै प्रमाण नदिए पनि आफ्नो पकड रहेको जिम्बाब्वेको सहरी क्षेत्रमा जिम्बाब्वे निर्वाचन आयोगले गडबढी र ढिलासुस्ती गरेको आरोप लगाएका छन्।‘अनावश्यक कदम र ढिलाइका कारण मतदाता अनिर्णित हुने र मतदान प्रक्रियामा सहभागी नहुन सक्छन्,’ चामिसले ट्विट गरेका छन् । यस विषयमा जिम्बाब्वेको निर्वाचन आयोगले तत्काल कुनै प्रतिक्रिया नदिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यद्यपि चामिसाले यसअघि देशको निर्वाचन आयोग पूर्वाग्रही भएको भन्ने अरोपको भने खण्डन गरेको छ।

आर्थिक समस्याले जुधिरहेको जिम्बाब्वेलाई त्यसबाट बाहिर निस्कन विश्वसनीय निर्वाचन आवश्यक रहेको रोयटर्सले जनाएको छ । विदेशी सहायता पाउन र दुःखदायी प्रतिबन्धबाट बाहिर निस्कने हो भने पनि जिम्बाब्वेमा निष्पक्ष निर्वाचन आवश्यक रहेको रोयटर्सले जनाएको छ।

निर्वाचनमा धाँधली नभए आफ्नो दल मुभमेन्ट फर डेमोक्र्याटिक चेन्ज (एमडिसी)ले जित हासिल गर्ने चामिसाले बताएका छन् । निर्वाचनको मत परिणाम नंगाग्वाको पक्षमा आयो भने सडक प्रदर्शन गर्नेतर्फ पनि उनले संकेत गरेको रोयटर्सले जनाएको छ । सन् २००८ मा सम्पन्न भएको निर्वाचनपछिको मत परिणामलाई लिएर मुगावे र एमडिसीका संस्थापक भांगिराई समर्थकबीच झडप हुँदा दर्जनौं मानिस मारिएका थिए ।

भांगिराईको गत फेब्रुअरी महिनामा क्यान्सर रोगका कारण मृत्यु भएको थियो । सन् १९८० मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक राष्ट्रपतीय दौडमा सहभागी हुन नपाएका मुगावेले पदमुक्त भएको आठ महिनापछि आश्चर्यजनक रूपमा पत्रकार सम्मेलन गदै मतदानको अघिल्लो दिन आइतबार आफ्नो समर्थन विपक्षी नेता चामिसालाई रहेको बताएका थिए।

अफ्रिकी राजनीतिका हस्ती मानिने ९४ वर्षीय मुगावेले खाजा खाने समयमा मतदान गरेका थिए । पत्ती ग्रेससँगै मतदान गरेर फकिएका उनले पत्रकारसमक्ष केही बताएनन् । मतदान केन्द्रमा मुगावे रहँदा बाहिर ठूलो भीड जम्मा भएको थियो, जसमध्ये केहीले खुसीयाली मनाइरहेका थिए भने कतिपयले आक्रोश पोखिरहेका थिए । आइतबार आफ्नै निवासमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति मुगावेले वर्तमान सरकार सेनाद्वारा सञ्चालित भएकाले स्वतन्त्र निर्वाचन नहुने ठोकुवा गरेका थिए । मुगावेको यस्तो आरोपलाई राष्ट्रपति नंगाग्वाले भने खण्डन गरेका छन् ।‘देशले अहिलेसम्म अभ्यास नगरेको प्रजातन्त्रको अभ्यास गरेको कुरा म विश्वस्त पार्न चाहन्छु,’ मतदानपछि टेलिभिजन सम्बोधन गर्दै राष्ट्रपति नंगाग्वाले बताए ।
 

प्रकाशित: १५ श्रावण २०७५ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App