६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टर्कीमा दुई वर्षदेखि जारी संकटकाल हटाइयो

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान।

अंकरा – टर्कीमा सन् २०१६ मा भएको असफल ‘कू’ पछि लगाइएको संकटकाल बिहीबारबाट हटाइएको छ ।
राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीले दुई वर्षदेखि जारी संकटकाल हटाइएको घोषणा गरेको हो।

‘देशको प्रजातान्त्रिक वातावरण वा संवैधानिक अधिकारका न्यूनतम मान्यता तथा देशका नागरिकका स्वतन्त्रतामाथि हस्तक्षेप गर्न हिंसाको साहरा लिने देखिएपछि राज्य संकटकाल लगाइएको थियो,’ एनादोलुले सार्वजनिक गरेको रिपोर्टमा जनाइएको छ।

दुई सय ९० जनाको मृत्यु र एक हजार चार सय मानिस घाइते हुने गरी भएको असफल ‘कू’ पछि सन् २०१६ को जुलाई २० मा टर्कीमा संकटकाल घोषणा गरिएको थियो।

त्यसबेला टर्कीमा दुई प्रमुख सहरमा ट्यांकहरु कुदाइएका थिए भने ‘कू’ मा संलग्न सेनाहरुले इस्तानबुलमा रहेको प्रख्यात बोसफोरस पुलमा अवरोध सिर्जना गरेका थिए । अंकारास्थित संसद भवनमा बम पड्काइएको थियो । सरकारविरुद्ध ‘कू’ मा संलग्न पाइलटले हेलिकप्टर चोरेका थिए, जसलाई एफ–१६ जेटबाट प्रहार गरेर झारिएको थियो।

देशको सेनाको एउटा समूहले असफल ‘कू’ गरेका बेला राष्ट्रपति रेसेप तैयप एर्दोगान सयौं माइल पर समुद्री क्षेत्रमा रहेको रिसोर्टमा थिए । राष्ट्रपति एर्दोगानलेदेशवासीमा नाममा सम्बोधन गर्ने बेलासम्म सैनिक ‘कू’ असफल भइसकेको थियो । त्यसपछि नै टर्कीमा संकटकाल लगाइएको थियो ।

राष्ट्रपतिलाई नै हटाउने उद्देश्यसहित गरिएको असफल ‘कू’ लगत्तै राष्ट्रपति रेसेप तैयप एर्दोगानको आदेशमा कुनै अदालती सुनुवाई बिना दशौं हजार मानिस पक्राउ परेका थिए । पक्राउ पर्नेमा सेना, प्रहरी, निजामती कर्मचारी, पत्रकार, शिक्षकलगायत विभिन्न पेशा र व्यवसायमा संलग्न नागरिक रहेका थिए । हजारौंलाई जागिरबाट निलम्बन गरिएको थियो । त्यसरी निलम्बनमा पर्नेमध्ये कैयौं न्यायाधीशसमेत रहेका थिए । 

मानवअधिकारलाई नै कुण्ठित बनाइएको टर्कीमा संकटकाल हटाउँदैमा त्यसले राजनीतिक उतारचढावलाई साम्य नपार्ने अन्तर्राष्ट्रिय अधिकारवादी संस्था एमनेस्टि इन्टरनेसनललाई उद्धृत गर्दैै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।यस महिनाको सुरुमा पुनः पाँच वर्षे कार्यकालका लागि राष्ट्रपति एर्दोगानले थप शक्तिसहित राष्ट्रपति पदको सपथ लिएका थिए । अघिल्लो महिना भएको राष्ट्रपतीय निर्वाचनमा एर्दोगानविरुद्ध लडेका विपक्षी उम्मेदवारहरुले भने आफूहरुले चुनाव जिते पहिलो काम नै देशबाट संकटकाल हटाउने बताएका थिए ।  

 संकटकाल लागू भएयता टर्कीमा एक लाख सात हजारभन्दा बढी मानिसलाई सरकारी सेवाबाट हटाइएको छ । सरकारी र गैरसरकारी संस्थाका अनुसार ५० हजारभन्दा बढी मानिसलाई सुनुवाई जारी रहँदा नै जेलमा हालिएको छ।यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकी इसाई धर्मगुरु रिहा गर्न टर्कीका राष्ट्रपति एर्दोगानलाई ट्विटरमार्फत आग्रह गरेका छन् । टर्कीले अमेरिकी सम्मानित इसाई धर्मगुरु एन्ड्र्यु ब्रनसनलाई जेलबाट रिहा गरेको छैन । उनलाई आतंककारीको आरोप लगाउँदै जेलमा राखिएको छ ।

धर्मगुरु ब्रनसनका परिवारले कुरेर बसेको र उनलाई बिना कारण जेलमा राख्न नहुने ट्रम्पले बताएका छन् । ब्रनसनले कुनै गलत काम नगरेको, परिवारलाई उनको आवश्यकता रहेको भन्दै तत्काल रिहा गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटमार्फत आग्रह गरेको एएफपीले जनाएको छ । रिहा हुनका लागि ब्रनसनले तीन पटकसम्म अदालतलाई दिएको अनुरोधपत्र टर्कीमा अस्वीकार गरिएको छ ।

टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतंककारी संगठन (एफइटिओ) को संलग्नता रहेका आरोप लगाउँदै आएको छ । सन् २०१६ को असफल ‘कू’ पछि अमेरिकामा स्वघोषित निर्वासनमा रहेका टर्कीका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरिएको थियो।

टर्कीको राजधानी इस्तानबुलस्थित एक अदालतले गुलेनलाई पक्राउ आदेश दिएको थियो  । सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा संलग्न रहेको बताइरहँदा गुलेन र उनीसम्बद्ध धार्मिक संगठनहरुले भने उक्त असफल ‘कू’ प्रयासमा आफूहरुको कुनै संलग्नता नरहेको जनाउँदै आएका छन्।

गुलेन र उनका समर्थकले आफूहरु शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका छन् । टर्कीमा जारी जथाभावी पक्राउ र ‘कू’को प्रयासको आरोपमा जागिरबाट बर्खास्त गर्ने सरकारी कदमपछि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालगायत विश्वका शक्तिशाली राष्ट्रका नेताहरुले टर्कीका सबै पक्षलाई विधिको शासनको पालना गर्न आग्रहसमेत गरेका थिए । प्रजातन्त्रको मूल्य मान्यतालाई टर्कीले पनि पालना गर्नुपर्ने शक्तिशाली राष्ट्रका नेताहरुले बताउँदै आएका छन् ।
 

प्रकाशित: ४ श्रावण २०७५ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App