१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘निशस्त्रीकरणका बारेमा उत्तर कोरियाली नेता तयार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भेटमा उत्तर कोरियाली नेता किम जोङ–उनले कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने विषयमा अमेरिकासँग वार्ता गर्न तयार रहेको उत्तर कोरियाले पहिलो पटक अमेरिकालाई बताएको अमेरिकी अधिकारीहरुले आइतबार बताएका छन्।

अमेरिका र उत्तर कोरियाली अधिकारीहरुबीच हालसालै गोप्य सम्पर्क भएको र उक्त सम्पर्कका दौरान प्योङयाङले प्रत्यक्ष रूपमा अभूतपूर्व शिखर सम्मेलन गर्न चाहेकोबारे प्रष्ट रूपमा धारणा व्यक्त गरेको नाम उल्लेख नगर्ने शर्तमा अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

लामो समयदेखि शत्रुवत व्यवहार  गरिरहेका अमेरिका र उत्तर कोरियाबीचको सम्पर्क प्राथमिक चरणमा रहेको छ। अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियासँग पहिलो चरणको सम्पर्क उसको संयुक्त राष्ट्रसंघीय नियोग र दुवै देशको गुप्तचर निकायको माध्यमबाट स्थापना गरेको गरेको बताइएको छ।

अमेरिकासँग वार्ता गर्नेबारे उत्तर कोरियाली शासक किम जोङ–उनको नियतबारे हालसम्म अमेरिकाले उसको नजिकको साझेदार दक्षिण कोरियाली धारणामा पूर्ण रूपमा भर परिरहेको छ।

गत महिना उत्तर कोरियाली नेता किमको भेटघाट गर्ने निमन्त्रणा बोकेर दक्षिण कोरियाली विशेष प्रतिनिधिमण्डल वासिङ्टन पुगेका थिए। गत वर्ष किमसँग लडाकु शैलीको वाक्युद्ध गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने सामथ्र्यसहित विकास गरिरहेको आणविक कार्यक्रमबारे छलफल गर्नेबारे प्योङयाङको निमन्त्रणालाई सहजै स्वीकार गरेर विश्वलाई चकित बनाइ दिएका थिए। तर उत्तर कोरियाले भने अमेरिकी राष्ट्रपतिसँग हुने भनिएको शिखर सम्मेलनका बारे हालसम्म सार्वजनिक रूपमा केही बोलेको छैन। अमेरिकी अधिकारीहरुले भने ट्रम्प र किमबीच यसै वर्षको मे महिनामा वार्ता हुने यसअघि नै सार्वजनिक गरिसकेका छन्। अमेरिका र उत्तर कोरियाबीच हुने वार्ताको हालसम्म सम्भावित ठाउँ र मिति भने तय भइसकेको छैन। यदि अमेरिकाले भनेजस्तै मे महिनामा वासिङ्टन र प्योङयाङबीच वार्ता भयो भने वर्तमान राष्ट्रपति र कोरियाली नेताबीच इतिहासमै पहिलो वार्ता हुने छ।

अमेरिका र उत्तर कोरियाबीच ठ्याक्कै कहिले सम्पर्क भयो भन्नेबारेमा भने अमेरिकी अधिकारीले जानकारी दिन अस्वीकार गरेको रोयटर्सले जनाएको छ। अमेरिका–उत्तर कोरियाबीच भएको भनिएको सम्पर्कका बारेमा नबताए पनि ती अधिकारीले दुई देशबीच कैयौं पटक यस्ता सम्पर्क भएको भने खुलासा गरेका छन्।

‘कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्नेबारे किम जोङ–उनले वार्ता  गर्न इच्छुकता प्रकट गरेको अमेरिकाले पुष्टि गरेको छ,’ अर्का अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

अमेरिका र उत्तर कोरियाबीच भएको भनिएको सम्पर्कलाई दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लू हाउसले स्वागत गरेको बताइएको छ। दक्षिण कोरियाका एक अधिकारीले दुई देशबीच विकसित पछिल्लो सम्बन्ध सकारात्मक भएको प्रतिक्रियासमेत दिएका छन्। ‘अमेरिका र उत्तर कोरियाबीचको सम्पर्क राम्रोसँग विकास भइरहेकोबारे हामी जानकार छौं,’ नाम उल्लेख नगर्ने शर्तमा ब्लू हाउसका अर्का एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताएका छन्।

प्रकाशित: २७ चैत्र २०७४ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App