५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति चुनावसम्बन्धी सात प्रश्न

अमेरिकी नागरिकले आगामी नोभेम्बरमा नयाँ राष्ट्रपति चयन गर्न मतदान गर्दैछन्। यो चुनावलाई सारा विश्वले चासोका साथ हेरेको छ। राष्ट्रपतिको चुनावसँगै अमेरिकी नागरिकहरूले कुनै पनि विधेयक वा कानुन पारित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अमेरिकी कांग्रेसका नयाँ सदस्यहरू चयन गर्न मतदान गर्नेछन्।

यी कानुनहरूले अमेरिकीहरूको जीवनमा गहिरो प्रभाव पार्न सक्छन्। अमेरिकी राष्ट्रपतिलाई आफैंले केही कानुन पारित गर्ने अधिकार छ तर अधिकांश कानुन संसद्को सहयोगमा मात्र पारित गर्नुपर्ने व्यवस्था छ। अमेरिकी राष्ट्रपतिलाई विश्वव्यापी मञ्चमा आफ्नो देशको प्रतिनिधित्व गर्ने र विदेश नीति तय गर्ने स्वतन्त्रता छ।

चुनाव कुन मितिमा हुँदै छ?

अमेरिकी राष्ट्रपतिको निर्वाचन आगामी नोभेम्बर ५ मा हुँदैछ। राष्ट्रपति चुनाव जित्ने उम्मेदवारले आगामी चार वर्ष ह्वाइट हाउसमा रहेर शासन सम्हाल्नेछन्। नवनिर्वाचित राष्ट्रपतिको कार्यकाल भने जनवरी २०२५ मा सुरु हुनेछ।

यसपटक चुनावमा को–को उम्मेदवार छन् र उनीहरू कसरी चुनिन्छन्?

अमेरिकाका दुई प्रमुख राजनीतिक दलले आफ्ना उम्मेदवार मनोनयन गरेका छन्। यसका लागि यी दलहरूले राज्य प्राइमरी र ककसहरू आयोजना गर्छन्, जसमा जनताले आम चुनावमा आफ्नो पार्टीको नेतृत्व गर्ने नेताहरू छान्छन्।

रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि ठुलो अग्रता लिएर राष्ट्रपति पदका लागि आफ्नो पार्टीको समर्थन पाएका छन्। विस्कन्सिनमा सम्पन्न पार्टी अधिवेशनबाट उनी रिपब्लिकन पार्टीको आधिकारिक राष्ट्रपति पदका उम्मेदवार बनेका थिए।

सामान्यतया दोस्रो कार्यकालका लागि पनि वर्तमान राष्ट्रपतिले चुनावमा प्रतिस्पस्र्धा गर्ने गर्छन्। तर वर्तमान राष्ट्रपति जो बाइडेनले उम्मेदवारी नदिने घोषणापछि उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्दैछिन्।

बाइडेन बाहिरिएपछि कमला ह्यारिसको उम्मेदवारीलाई अरू कुनै पनि डेमोक्र्याटले चुनौती दिएनन्। यसबाहेक केही स्वतन्त्र उम्मेदवार पनि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा थिए। पूर्वराष्ट्रपति जोन एफ केनेडीका भतिजा रोबर्ट एफ केनेडी जुनियर पनि यो दौडमा रहे पनि अगस्टको अन्त्यमा उनले आफ्नो चुनावी अभियान अन्त्य गर्दै डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन्।

डेमोक्र्याट र रिपब्लिकन पार्टीको अडान के छ?

डेमोक्रेटिक पार्टी एक उदार राजनीतिक पार्टी हो। मुख्यतया नागरिक अधिकार, सामाजिक सुरक्षा र जलवायु परिवर्तनका मुद्दाहरूलाई अगाडि बढाउने र त्यसका लागि उपायहरू सुनिश्चित गर्ने यो पार्टीका अजेन्डा रहँदै आएका छन्। उता रिपब्लिकन पार्टी अमेरिकाको कन्जरभेटिभ पार्टी हो। यसलाई जिओपी अर्थात् ग्रान्ड ओल्ड पार्टी पनि भनिन्छ।

यो पार्टी कर घटाउने, सरकारको आकार घटाउने, निजी तवरमा बन्दुक राख्न अधिकार दिने र अध्यागमनको विरोध गर्ने र गर्भपतनमा कडा प्रतिबन्ध लगाउने पक्षमा छ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको काम के हुन्छ?

अमेरिकी राष्ट्रपतिको चुनावमा सम्पूर्ण देशमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुँदैन। यसको साटो दुवै दलका उम्मेदवारहरूले ५० वटै राज्यहरूमा चुनाव जित्न प्रतिस्पर्धा गर्नुपर्छ। प्रत्येक राज्यमा जनसंख्याका आधारमा निर्वाचन मण्डल (इलेक्ट्रोरल कलेज) को निश्चित संख्या तोकिएको हुन्छ। यसरी अमेरिकामा कुल ५ सय ३८ इलेक्टोरल कलेज छन्। यीमध्ये २७२ वा त्योभन्दा बढी जित्ने मात्र विजेता ठहरिन्छ।

दुई राज्यबाहेक सबै राज्यमा सबैभन्दा धेरै मत प्राप्त गर्ने उम्मेदवारलाई इलेक्टोरल कलेजमा रहेको सबै मत दिइन्छ।

धेरैजसो राज्यहरू कुनै न कुनै पार्टीतर्फ झुकेका छन्। त्यसकारण उम्मेदवारहरूले लगभग एक दर्जन राज्यहरूमा आफ्नो ध्यान केन्द्रित गर्छन्, यहीबाट उनीहरूको जित्ने सम्भावना बढी हुन्छ। यी राज्यलाई युद्धभूमि वा स्विङ स्टेट भनिन्छ।

राष्ट्रियस्तरमा उम्मेदवारले अधिकतम मत (पपुलर भोट) प्राप्त गर्न सक्छ तर विजयी नहुन सक्छ। हिलारी क्लिन्टनले २०१६ मा राष्ट्रिय स्तरमा सबैभन्दा बढी मत प्राप्त गरेकी थिइन्। तर उनी इलेक्टोरल कलेजको चुनावमा हारेकी थिइन्।

अमेरिकी राष्ट्रपति चुनावमा कसले भोट दिन सक्छ?

अमेरिकी निर्वाचनमा १८ वर्षभन्दा माथिका सबै नागरिकले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउनेछन्। नर्थ डकोटाबाहेक सबै राज्यहरूमा मतदाताहरूले मतदान गर्नुअघि आफ्नो नाम दर्ता गर्नुपर्छ। प्रत्येक राज्यको आफ्नै प्रक्रिया र मतदाता दर्ताको समयसीमा तोकिएको हुन्छ। विदेशमा बस्ने अमेरिकी नागरिकहरूले पनि मतदान गर्न दर्ता गर्न सक्छन्।

राष्ट्रपतिको निर्वाचनबाहेक अरू क–कसको निर्वाचन हुन्छ?

अहिले विश्वभरका मानिसहरूको ध्यान अमेरिकाको राष्ट्रपतिमा को निर्वाचित हुनेछ भन्नेमा छ। तर राष्ट्रपतिबाहेक अमेरिकी मतदाताले अमेरिकी कांग्रेसका सदस्यहरू पनि चयन गर्नेछन्। यो कांग्रेस अर्थात् संसद्बाट कानुन पारित हुन्छ। अमेरिकी संसद्मा दुई सदन छन्।

हाउस अफ रेप्रिजेन्टेटिभ्स अर्थात् प्रतिनिधिसभाका सबै तजष्कचतथाष्खभ४४ सिटका लागि चुनाव हुँदैछ। यसैगरी यसपटक उपल्लो सदन अर्थात् सिनेटका कुल १०० सिटमध्ये ३४ सिटका लागि चुनाव हँुदैछ। हाल अमेरिकाको तल्लो सदनमा रिपब्लिकन पार्टीको बहुमत छ।

 यो सदनले अमेरिकामा खर्च योजनाहरू अनुमोदन गर्ने गर्छ। सिनेटमा डेमोक्र्याटको नियन्त्रण छ। सिनेटमा महत्त्वपूर्ण सरकारी नियुक्तिहरूमा मतदान हुन्छ।

नतिजा कहिले घोषण हुन्छ?

सामान्यतया मतदान भएकै दिन अबेर विजेता घोषणा गरिन्छ। तर २०२० मा भोट गणना सम्पन्न गर्न केही दिन लागेको थियो। नयाँ राष्ट्रपति निर्वाचित भए निर्वाचनपछिको केही अवधिलाई संक्रमणकाल अवधि भनिन्छ। यस अवधिमा नयाँ प्रशासनलाई क्याबिनेट मन्त्री नियुक्त गर्न र नयाँ कार्यकालको योजना बनाउन समय दिइएको छ। राष्ट्रपतिले जनवरी २० मा शपथग्रहणसहित आफ्नो पदभार ग्रहण गर्छन्। (बिबिसी हिन्दी)

प्रकाशित: ५ आश्विन २०८१ ०६:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App