१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी सेनाबाट फर्किनै हम्मे

असहयोगका बाबजुद ४५ नेपालीको उद्धार

रुसी सेनामा भर्ती भएका ४५ जना नेपाली नागरिक स्वदेश फर्किएका छन्। मस्कोस्थित नेपाली राजदूतावासको सम्पर्कमा आउने नेपालीलाई नेपाल सरकारले स्वदेश फर्काएको हो। यसरी उद्धार हुनेको संख्या ४५ जना पुगेको परराष्ट्र मन्त्रालय मातहतको कन्सुलर विभागले जनाएको छ।

‘युद्धग्रस्त क्षेत्रबाट ज्यान जोगाएर राजदूतावासको सम्पर्कमा आउने क्रम चलिरहेको छ,’ कन्सुलर विभागका एक अधिकारीले भने, ‘यसरी दूतावासमा पुग्ने नेपालीलाई आवश्यक संरक्षण गर्दै कागजात तयार पारेर स्वदेश फर्काउने काम भइरहेको छ।’

यद्यपि आफ्नो सेनामा भर्ती भएका नेपाली नागरिकलाई फिर्ता गर्ने मामिलामा रुस सरकारले सहयोग गरिरहेको छैन। नेपालका तर्फबाट पटकपटक संवाद गर्न खोजिए पनि रुसी पक्षले मृतकलाई क्षतिपूर्ति दिनेबाहेक विषयमा चासो दिएको छैन।

‘नेपालका तर्फबाट स्वयं मन्त्रीज्यू (परराष्ट्रमन्त्री एनपी साउद) ले पनि नेपाली नागरिक फिर्ता गरिदिन आग्रह गर्नुभएको छ। राजदूतावासबाट पनि कूटनीतिक नोट पठाउने काम भएका छन्,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘नेपालमै पनि रसियाली राजदूतसँग धेरै पटक कुरा भइसक्यो तर रुसले नेपाली नागरिक फिर्ता गर्ने विषयमा कुनै पनि संवाद गर्न चाहेको देखिन्न।’

नेपाल फर्काइएका नागरिक पनि रुसको स्वीकृतिमा नफर्किएको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ। ‘उहाँहरू भागेरै नेपाली दूतावासको सम्पर्कमा आउनुभएको हो। यसरी दूतावासकै सम्पर्कमा आएका आफ्ना नागरिकलाई फर्काउँदा अवरोध मात्र नभएको हो,’ स्रोतले भन्यो।

यद्यपि सेनाबाट भागेर आउने विदेशी नागरिक पक्राउ परे रुसले आफ्नो जेलमा समेत हाल्ने गरेको सूचना परराष्ट्र मन्त्रालयलाई छ। ‘हाम्रा तीनजना नेपाली नागरिक यसैगरी भाग्ने क्रममा पक्राउ गरेर थुनेको खबर छ,’ ती अधिकारी भन्छन्।

यता रुसी सेनामा भर्ती भएकाको उद्धार गरिदिन आग्रह गर्दै आफन्तबाट अहिले कन्सुलर विभागमा दिनहुँ निवेदन पर्न थालेको छ। आइतबारसम्म २४३ जनाको निवेदन परिसकेको कन्सुलर विभागले जनाएको छ। जसमध्ये १० जना उद्धार भएर ल्याइएकाहरू छन्।

उद्धार भएका बाँकी ३५ जना भने आफन्तको निवेदन नपरेरै राजदूतावासको सम्पर्कमा आएकाहरू हुन्। उद्धारका लागि आफन्तले निवेदन दिएकामध्ये १३ जनाको मृत्यु भएको खबर कन्सुलर विभागले पाएको छ।

विभागलाई आफन्तले जानकारी गराएअनुसार १०२ जना परिवारको सम्पर्कबाहिर छन्। यस्तै ९५ जना रुसी सेनामा भर्ती रहेको भनी घरमा जानकारी गराएकाहरू छन् भने चारजना अस्पतालमा रहेको खबर पाइएको विभागको भनाइ छ।

सरकारका निकायलाई प्रस्ट जानकारी नरहे पनि रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरूको संख्या ठुलो छ। रुसी सेनामा भर्ती भएका नेपालीको जीवनरक्षाका लागि अभियान चलाइरहेकी कृतु भण्डारीले संकलन गरेको तथ्यांकअनुसार सम्पर्कविहीनको संख्या २७२ पुगेको छ।

१६ जनाको मृत्यु पुष्टि हुने आधार फेला परेको छ। यस्तै मृतकबाहेक ५१३ जनाका आफन्तले आफूकहाँ परिवारको सदस्य रुसी सेनामा भर्ती भएको जानकारी गराएको भण्डारी बताउँछिन्। ‘मलाई सामान्य फोनबाट जानकारी गराउने एक हजार नाघिसके,’ उनी भन्छिन्, ‘तर मैले पूर्ण विवरणसहित ५१३ जनाको रेकर्ड संकलन गरिसकेकी छु।’

तीमध्ये ११६ जना घाइते रहेको उनी बताउँछिन्। ‘घाइतेहरूको प्रकार पनि भिन्नभिन्न छ। कति त युद्धमा मारिने डरले अस्पताल गएपछि बाँच्न पाइने वा स्वदेश फर्काइने आशामा आफैंलाई गोली हानेकाहरू पनि छन्,’ उनले भनिन्।

उता रुस भने घाइतेहरूलाई पनि नेपाल फर्काउन तयार छैन। ‘हामीले पहिलो चरणमा कम्तीमा घाइतेहरूलाई स्वदेश फर्काउन भूमिका खेलिदिनुस् भनेर रसियन राजदूतसँग कुरा गर्‍यौं,’ परराष्ट्र मन्त्रालयका एक अधिकारी भन्छन्, ‘त्यसमा पनि उनले खासै जवाफ दिन चाहेनन्। यसरी हेर्दा रुसले सहज रूपमा आफ्नो सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न चाहेको देखिन्न।’

रुस जान सहज, फर्किन असहज

नेपाली सेनाबाट अवकाश प्राप्त सुर्खेतका एक युवा रुसमै रहेका दलाल डिगबहादुर तामाङमार्फत रुसी सेनामा भर्ती हुन कात्तिक १ गते नेपालबाट उडेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुस उड्दा उनीसँगै आठजना नेपालीको टोली थियो। नागरिकसँग कुरा गर्दै उनले नेपालबाट जाँदा जनही ८ लाख खर्च भएको बताए।

नेपालबाट गएको एक साता नबित्दै उनको समूह रुसी सैनिकमा भर्ती भएको थियो। ‘भर्ती भएपछि हामीलाई तालिम पनि दिइएन। ७/८ दिन ७/८ दिनका दुई ट्रान्जिट क्याम्प पार गराएर हामीलाई युक्रेनमा पठाइयो,’ उनले भने, ‘त्यहाँ दुई महिनाको बसाइमा २८ जनाको टोलीमा रहेका तीन नेपाली र तीन रसियाली नागरिक मारिए।’ यसरी मारिन थालेपछि भने आफूहरूलाई बाँचिन्न भन्ने लागेको उनी बताउँछन्।

त्यसपछि आफूसँगै बचेका ६ जना नेपालीको समूहले भाग्ने योजना बनाएको उनले बताए। उनको समूहले भाग्न पनि नेपाली र भारतीय दलालको सहारा लियो। ‘युक्रेनदेखि रुसको सिमाना, रुसको सिमानाबाट गाडीमा मस्को र त्यहाँबाट नेपाली दूतावासको लोकेसन पनि हामीलाई थाहा हुने कुरा भएन। त्यसैले दलालको सहारा लिनुपर्‍यो,’ कुराकानीका क्रममा उनले भने, ‘यसरी ६ जनाको २७ लाख रुबल खर्च भयो।’

भाग्दा पनि डरै डरको यात्रा रहेको उनले बताए। उनी भन्छन्, ‘बाटोमा हिँड्दा रुसी सैनिकको सेन्ट्री हुने, यताउता हिँड्दा जताततै माइन बिछ्याइएको हुने। डरैडरमा भागेर दूतावास पुग्न सफल भयौं।’ दूतावास पुग्दा उनीहरूसँग कुनै कागजात थिएन। राहदानीलगायत सबै कागजात रुसी सैनिककै कब्जामा थिए। ‘दूतावासले राहदानीलगायत सबै कागजात बनाइदियो। माघ ३ गते काठमाडौं झर्‍यौं,’ उनले भने, ‘लहडमा रुसी सेनामा जाँदा सबै चौपट भयो।’

रुस जानभन्दा फर्किन साह्रै कठिन रहेको अनुभव उनले सुनाए। ‘रुस जान त खासै समस्या नै भएन। सहजै भर्ना पनि भइयो। भर्ना भएपछि फर्किन भने साह्रै कठिन हुने रहेछ। धन्न बाँचेर आइयो,’  उनले सुनाए।

प्रकाशित: १५ फाल्गुन २०८० ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App